काठमाडौं । म्युनिख सुरक्षा सम्मेलनको पहिलो दिन जर्मन चान्सलर फ्राइडरिख मेर्जले कडा शब्दमा अमेरिकासँगको मित्रतामाथि पुनर्विचार गर्नुपर्ने कुरा उठाए । त्यस्तै, फ्रान्सका राष्ट्रपति इमानुएल माक्रोंले मेर्जका भनाइ दोहोर्याउँदै सारा संसारले युरोपबाट सिक्न सकोस् भन्दै युरोपले अब आफूलाई अझ बलियो बनाउनुपर्ने बताए ।
जर्मनीको म्युनिखमा विगत ६ दशकदेखि यो सुरक्षा सम्मेलन आयोजना हुँदै आएको छ । यसको सुरुआत शीतयुद्धका दौरान भएको थियो, जतिखेर नेटो सदस्यहरू आपसमा मिलेर युरोप र अमेरिकाको सुरक्षाबारे छलफल गर्थे ।
नब्बेको दशकमा शीतयुद्ध समाप्त भएपछि यसलाई अन्य देशहरूका लागि पनि खुला गरियो । तर, यहाँ उद्घाटनका क्रममा जर्मन चान्सलरले भाषण दिने चलन थिएन । यस वर्ष भने यो चलन बदलियो ।
जर्मन चान्सलर मेर्जले उद्घाटनका क्रममा हालको परिस्थितिलाई ध्यानमा राख्दै सुरुमै आएर आफ्नो भाषण दिए ।
करिब ४५ मिनेट लामो भाषणमा उनले युरोपका आदर्श र अमेरिकाको अगाडि युरोप एकजुट भएर उभिनुपर्ने आवश्यकता औँल्याए ।
मेर्जलाई सम्मेलनको सुरुमै स्थान दिनुको ठूलो कारण गत वर्ष यहाँ उद्घाटन भाषणका क्रममा कडा शब्दमा युरोपेली नेताहरू र उनीहरूका नीतिहरूको निन्दा गरिएको सन्दर्भसँग जोडिएको बताइएको छ ।
यस वर्ष पहिलो दिनको सुरुआत मेर्ज र अन्त्य फ्रान्सका राष्ट्रपति इमानुएल माक्रोंका भाषणबाट गर्नु अमेरिकालाई जवाफ दिनुजस्तै रहेको थियो, जसको प्रभाव अर्को बिहान अमेरिकी विदेशमन्त्री मार्को रुबियोको भाषणमा देखियो ।
जेडी भान्सको अभिव्यक्तिभन्दा ठीक विपरीत, रुबियो युरोपको प्रशंसा गर्दै अमेरिकाको संस्कृतिको जग युरोपमै रहेको देखाउन खोजिरहेका थिए । उनले इतिहासका पाना पल्टाउँदै ठट्टौली अन्दाजमा अमेरिकाको पप संस्कृति, त्यहाँको वियर र काउब्वाय संस्कृतिसमेतको जरा युरोपमै रहेको बताए ।
आफ्नो सम्पूर्ण भाषणमा रुबियोले अमेरिका युरोपसँग मित्रता कायम राख्न चाहन्छ, तर यस मित्रताका सर्तहरू अब बदलिँदै छन् भन्ने कुरा दोहोर्याइरहेका देखिए ।
रुबियोका यी वक्तव्यहरू मर्जको भाषणको जवाफजस्तै देखिए । मेर्जले आफ्नो भाषणमा अमेरिकाले नेटोलाई मात्र आवश्यकता नभई अमेरिकालाई पनि नेटोको आवश्यकता छ भन्ने कुरा बुझ्न जरुरी रहेको बताएका थिए ।
मेर्जले चेतावनीपूर्ण स्वरमा अमेरिकाले एक्लै बसेर त्यति शक्तिशाली रहन नसक्ने पनि बताए ।
आफ्नो भाषणमा मेर्जले सिधै डोनाल्ड ट्रम्पको नाम नलिए पनि निरन्तर अमेरिकातर्फ निसाना साधेका थिए । उनले विश्व नेतृत्व गर्दै आएको अमेरिकाको दाबीलाई अब अरूले चुनौती दिइसकेको र यो हैसियत गुमिसकेको कुरा अमेरिकाले बुझ्नुपर्ने बताए ।
उनका अनुसार, अमेरिकाको अगाडि अब चीन उभिएको छ । साथै, युरोपले पनि आफ्ना गल्तीहरू बुझिसकेको र तिनलाई सुधार्ने प्रक्रिया सुरु गरिसकेको उनको भनाइ थियो । यसअन्तर्गत युरोपेली देशहरूले रक्षा बजेट बढाएर कुल गार्हस्थ उत्पादनको करिब पाँच प्रतिशत हिस्सा सैन्य लगानीमा खर्च गर्ने विषय पनि समावेश छ ।
युक्रेनको मुद्दा म्युनिख सम्मेलनमा छाएको यो पहिलोपटक भने होइन । तर, युद्ध समाप्त गर्ने प्रतिबद्धता यसपटक बढी स्पष्ट देखिएको छ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले मेर्जसँग भेट गरे । तर, मार्को रुबियोले एक्लै उनीसँग भेट गर्न अस्वीकार गरे ।
यद्यपि, कडा भाषणबीच रुबियो र मेर्जबीच द्विपक्षीय वार्ता भने भएको थियो । स्रोतहरूका अनुसार, यस वार्तामा ट्यारिफ र ग्रीनल्यान्डको मुद्दा महत्त्वपूर्ण रूपमा उठाइएको थियो ।
ट्रम्पले ग्रीनल्यान्डलाई लिएर डेनमार्कलाई धम्की दिनुले युरोपेली नेताहरू यसरी एकजुट हुनुको मुख्य कारण बनेको मानिएको छ । मर्जले आफ्नो भाषणमा आफू डेनमार्कसँग सम्पर्कमा रहेको र डेनमार्कले आफूमा भरोसा गर्न सक्ने बताएका थिए । सम्मेलनका क्रममा रुबियोले बन्द कोठाभित्र ग्रीनल्यान्डको मुद्दामा पनि छलफल गर्ने कार्यक्रम रहेको जानकारी दिएको बताइएको छ ।
सम्मेलनको सुरुमा सम्मेलनका अध्यक्ष वोल्फगाङ इशिंगरले युरोपेली संघ, संयुक्त राष्ट्र, अमेरिका र चीनतर्फ सिधै प्रश्न उठाए । उनले ईयूसँग केवल कुरा गर्ने र भाषण दिनेभन्दा पनि ठोस कदम आवश्यक भएको बताए ।
साथै, उनले संयुक्त राष्ट्रसंघ परमाणु सन्धिअन्तर्गत परमाणु हतियार भएका देशहरूलाई अतिरिक्त सुरक्षा दिन के भइरहेको छ, ट्रम्प सरकार साँच्चै मित्र र साझेदारहरूमाथि भरोसा राख्छ कि राख्दैन, र चीन युक्रेनमा चलिरहेको युद्ध अन्त्य गराउन रूससँग कति हदसम्म सहकार्य गर्न तयार छ भन्ने प्रश्नहरू पनि उठाएका थिए ।