काठमाडौं । नेपालमा चलेको माओवादी जनयुद्धको ३०औं वार्षिकोत्सव आज देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । यसै सन्दर्भमा क्रान्तिकारी लेखक तथा पत्रकारहरुको छाता संगठन अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रले पनि जनयुद्ध दिवसको अवसरमा मनाइएका कार्यक्रमहरुप्रति ऐक्यबद्धता जनाएको छ । सो संगठनका अध्यक्ष हस्तबहादुर केसीले आज एक विज्ञप्ति जारी गर्दै यसरी एक्यवद्धता जनाएका हुन् ।
विज्ञप्तिमा केसीले दशवर्षे जनयुद्धको मुख्य नेतृत्वले गद्धारी गरी जनयुद्धको उपलब्धिका रुपमा रहेका जनसत्ता, जनअदालत जनकम्युन जनसरकार, जनमुक्ति सेना, हतियार समेत गुमाउन पुगेको दुःखद अवस्थामा पनि जनयुद्धको दिवस मनाउनु पर्नेमा जोड दिएका छन् ।
विज्ञप्तिमा केसीले भनेका छन्,‘विक्रम सम्वत २०५२ साल फागुन १ गतेदेखि तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (माओवादी) ले सञ्चालन गरेको दशवर्षे सशस्त्र जनयुद्ध तत्कालीन नेपाली समाजको राजनीतिक, आर्थिक, सामाजिक, साँस्कृतिक लगायत वर्गीय, क्षेत्रीय, लिङ्गीय समेतका विभेदहरुको आमूल परिवर्तन जनताको नयाँ जनवादी व्यवस्था हुँदै वैज्ञानिक समाजवादमा पुगेर वैज्ञानिक साम्यवादमा पुग्ने बाटो तय गर्ने महान उद्धेश्यका साथ सञ्चालन गरिएको समग्र वर्गयुद्ध थियो ।’