• फाल्गुन २३ २०८२, शनिबार

आसन्न निर्वाचन बारे नेपाल कम्युनिष्ट पार्टीका केही कुरा

माघ २३ २०८२, शुक्रबार

क. लोकनारायण सुवेदीको नेतृत्वमा हालै एकीकृत भएको हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टीले हाल देशमा जेनजी विद्रोहका नाममा साम्राज्यवादी गुरुयोजनामा हत्या, आतंक र विध्वंस मच्चाएर गठन गरिएको वर्तमान एकपक्षीय असंवैधानिक कठपुतली सुशीला सरकारलाई मान्यता नदिएको स्पष्ट छ । त्यसमाथि यो सरकारले भ्रष्टाचारको अन्त्य र सुशासनको स्थापना जस्ता जेनजीलगायतका सम्पूर्ण जनताका मुख्य मागहरुलाई बेवास्ता गरेर देशलाई निकास र विकास दिने गरी कुनै राष्ट्रिय राजनीतिक सहमति वा एकल प्रयास पनि गरेको छैन ।

आज देश–विदेशमा रहेका असंख्य नेपाली नागरिक मतदाताहरुले मतदान गर्न पाउने व्यवस्था पनि नगरी पुनः उस्तै जनविरोधी दलालहरुको बर्चस्व हुने तृशंकू संसद र अस्थिर सरकार निर्माण गर्नको लागि चुनाव गराउन लागिरहेको छ । त्यस्तो संसद र सरकारले देसलाई युद्धमैदान बनाउने कुरा दृष्टि क्षितिजमा छर्लङ्ग छ । तथापि यो असामयिक र अवांछित संसदको निर्वाचन थोपर्ने दुष्प्रयास हुनु अत्यन्त चिन्ता र खेदको मात्र होइन निन्दा, भत्सर्ना र प्रत्याकमणको विषय बनिरहेको छ ।

हाम्रो पार्टीले देशका विद्यमान समस्या थप जटिल, गम्भीर र भयावह बनाउने गरी देशले थेग्नै नसक्ने थप ऋणको भारी बोकाउँदै विदेशीका बलमा थोपरिएको यो संसदीय चुनावमा सहभागी नहुने निर्णय त्यत्तिकै लहडका भरमा गरेको होइन । हुन त चुनावको प्रश्न अन्ततः लेनिनले भन्नु भएझैं २४ घण्टामा बदलिने कार्यनीतिक प्रश्न नै हो । तैपनि वर्तमान सन्दर्भमा चुनाव उपयोग (भाग लिने) वा अस्वीकार (सहभागी नहुने) दुवै नीतिको कुनै यतिखेर कुनै खास अर्थ र परिणाम नदेखिन सक्छ, तर यसको दीर्घकालीन प्रभाव र परिणाम नेपालको क्रान्तिकारी राजनीतिक आन्दोलनको इतिहासमा देखिने नै छ ।

वास्तवमा देशमा बारबार असफल भैरहेको उही दलाल पुँजीवादी संसदीय व्यवस्था, पुरानै प्रतिकृयावादी सत्ता र यसका राष्ट्रिय हितविपरीतका संवैधानिक र कानुनी प्रावधान कायमै भएको संविधान यथावतै राखेर तिनमा कुनै सुधारसम्म ल्याउन नसक्ने कसैको स्पष्ट बहुमत वा सर्वसम्मत हुन–गराउन नसक्ने संसदको पुनः निर्माण गर्ने यो चुनाव नेपाली जनतालाई पूर्णरुपले अस्वीकार्य छ ।

प्रथमतः साम्राज्यवाद र सामन्तवादपरस्त दलाल तथा नोकरशाही पुंजीपती वर्गको बर्चस्व भएको र भैरहने विद्यमान संसदीय व्यवस्थामा सही, स्वच्छ, निस्पक्ष र धाँधलीरहित चुनाव हुनै सक्तैन । यो मूलतः देशी विदेशी शक्ति, पैसा, प्रविधि, प्रचार र प्रशंसा जस्ता पाँच ‘प’ द्वारा प्रभावित हुन्छ र परिणाम निस्कन्छ । यसको मतलब एउटा सिद्धान्तनिष्ठ, सही, स्वच्छ, स्वाभिमानी, स्वविवेकी, स्वनिर्भर, सक्षम, समर्पित र साहसी गरिब व्यक्ति वा शक्तिले यस्तो चुनाव जित्नै सक्तैन । कथंकदा जितिहाले पनि बहुमत प्राप्त हुनै सक्तैन । कदाचित बहुमत नै प्राप्त भएपनि विद्यमान संविधान, कानुन नियम र तिनलाई लागू गर्ने पुरानो प्रतिक्रियावादी भ्रष्ट र दलाल ब्युरोक्रेसी अनि अन्य प्रतिपक्षी कठपुतली दल र नेताहरुले आधातभूतरुपमा केही राम्रो र नयाँ गर्न नै दिंदैनन् ।

त्यो स्थितिमा न केही गर्न–गराउन सकिन्छ न त नेमकिपाका प्रेम सुवालहरुले खेलेको भन्दा बढी केही भूमिका खेल्न सकिन्छ । त्यसमाथि अहिले त अझ सुनियोजित रुपमा उत्पन्न गरिएको वर्तमान अन्यौल, अनिश्चितता र अराजकतापूर्ण यो विषम, संवेदनशील र भयावहकारी वातावरणको अन्त्य गरेर विश्वसनीय र भयरहित स्थिति सिर्जना नगरी स्वच्छ र सही निर्वाचन पनि हुँदै हुँदैन । त्यस्तो सहज अवस्थाबिना देशलाई अझ अन्योल, अराजकता, अशान्ति र अनिश्चितताको भुमरीमा धकेल्ने तथा बाह्य हस्तक्षेपलाई अझ तीव्र र सघन तुल्याउने सुनिश्चित छ ।

त्यसैले फागनु २१ गते गर्ने भनिएको यो निर्वाचन नितान्त षडयन्त्रमूलक छ भनिएको हो । यो चुनावको परिणामस्वरुप देस विदेशीहरुको युद्ध अखडा हुने र अन्ततः नेपाल राष्ट्रको स्वतन्त्र अस्तित्व नै गुम्ने भयानक खतरा देखिएकोले हाम्रो पार्टीले यस चुनावमा सहभागी भएर देश बेच्ने लाइसेन्स दिने प्रक्रियालाई इन्कार गरेको हो भन्ने कुरा बुझ्नु जरुरी छ ।

आजको यो गम्भीर र संवेदनशील राष्ट्रिय–अन्तर्राष्ट्रिय घडीमा राष्ट्रियता, जनतन्त्र र जनजीविकाका आधारभूत समस्याहरु हल गर्दै आत्मनिर्भर अर्थतन्त्रको निर्माणको दिशामा अघि बढेर मात्र स्वाधीन, समृद्ध र समतामूलक राष्ट्रनिर्माण गर्न सकिन्छ । यसको लागि आज देशमा, समाजमा र पार्टीमा समेत व्यापक र सुदृढ एकता अपरिहार्य बनेको छ । तसर्थ देश र जनताको हित चाहने सम्पूर्ण अग्रगामी तथा परिवर्तनकामी शक्तिहरुको सक्रिय सहभागिता, साझा परामर्श र आम समर्थनमा अग्रगामी अन्तरिम व्यवस्थापिका/जनप्रतिनिधि सभा चाहिएको छ ।

नयाँ निवाचन वा सर्वोच्च अदालतबाट उस्तै त्रिसंकु र एमसीसी पास गर्ने, अस्थिरता कायमै राख्ने र भ्रष्टाचार संस्थागत र साझा गर्ने राष्ट्रघाती दलाल र भ्रष्ट सांसदहरुको बाहुल्य भएको वा हुने पुरानै वा नयाँ संसद चाहिएको होइन र छैन । त्यसैले राष्ट्रिय जीवनमा केही योगदान गरेका र गर्न सक्ने लब्धप्रतिष्ठित स्वच्छ, इमान्दार, सक्षम र साहासी व्यक्तित्वहरुको सहभागिता रहेको सबैजसोको विश्वासिलो नयाँ, अग्रगामी र देश–जनहितकारी स्वाधीन प्रगतिशील अन्तरिम सभा जरुरी छ ।

त्यसै अन्तरिम सभाद्वारा आफूहरुमध्येबाट वा विज्ञहरुमध्येबाट सानो, सक्षम र जिम्मेवार अग्रगामी अन्तरिम सरकार बन्नुपर्छ । यस्तो संसद र सरकारले राष्ट्रिय स्वाधीनतालाई सुनिश्चित गर्ने, जनअधिकारलाई आधारभूत वर्गमा पुराउने, जनसंविधान पुनर्लेखन गर्ने गर्नु र गराउनुपर्छ । किसान, मजदुर लगायतका शोषित–पीडित वर्ग र दलित, महिला, आदिवासी–जनजाति आदि समुदायको विद्यमान प्रतिशतको आधारमा जनप्रतिनिधि सभामा समानुपातिक प्रतिनिधित्वलाई प्रत्याभूत गर्ने पूर्ण समानुपातिक निर्वाचन प्रणाली मात्र अवलम्बन गर्ने प्रावधान राखिनुपर्छ ।

यस प्रणाली अनुसार सार्वभौम जनप्रतिनिधि सभा गठन गर्ने र सो सभाले नै जनप्रतिनिधि सभाको आम चुनाव गराई नयाँ संविधानको अनुमोदन गर्ने, सबै निर्वाचित राजनीतिक शक्तिहरुबाट सबै वर्ग र समुदायका समानुपातिक–समावेशी प्रतिनिधित्वमा सहमतीय सरकार बनाउने प्रावधान पनि नयाँ संविधान अर्थात् जनसंविधानमा उल्लेख हुनुपर्छ ।

त्यस्तो अवस्थामा मात्र अन्तरिम सरकारले प्रतिनिधि सभाको चुनाव गराएमा भाग लिनुको अर्थ र महत्व हुन्छ । यसरी गराइने र हुने चुनावमा पैसाको खोलो बगाई लड्ने र जित्ने अनि घुस–भ्रष्टाचार गरेर अकुत धनरासी जम्मा गरेर पुनः चुनाव जित्ने चुनावी परम्पराको साथै भ्रष्टाचारको एउटा कारणको पनि अन्त्य गर्दछ । यसरी मात्र सही राजनीतिक पार्टी र नेताहरुको योगदान र बलिदानको, योग्यता र क्षमताको मूल्यांकनको आधारमा स्वच्छ, निष्पक्ष र धाँधलीरहीत चुनाव हुनसक्छ । फेरि यस्तो चुनाव अहिलेको व्यक्तिकेन्द्रित प्रत्यक्ष निर्वाचन होइन पार्टी केन्द्रित पूर्ण समानुपातिक निर्वाचन मात्र राष्ट्रका लागि जरुरी छ ।

यही नै हाम्रो जिम्मेवार क्रान्तिकारी पार्टी नेपाल कम्युनिस्ट पार्टीले भनेझैं आजको चरम भ्रष्टाचार, परम अस्थिरता, घोर अन्यौल र असीम अराजकताको स्थितिबाट देशलाई सही दिशामा अघि बढाउने प्रस्थान विन्दू र उपयुक्त विकल्प हुन सक्ने कुरामा कुनै शंका छैन ।
त्यसैले आज दिनप्रतिदिन नेपाली जनता र राष्ट्रको निम्ति थेग्नै नसक्ने बोझ थोपर्ने अत्यन्तै अवान्छित, असामयिक र अस्वाभाविक रुपमा लादिएको यो चुनाव पूर्णतः अस्वीकार्य र विरोध–भण्डाफोरयोग्य छ भनिएको हो ।

तसर्थ विद्यमान स्थितिमा यो नाटकीय निर्वाचनको डंका पिटिंदै गरेकोले त्यसको भ्रममा नपर्न, सहभागी नहुन, मतदान नगर्न र कसैप्रति समर्थन वा सहानुभूति नजनाउन तथा जनतालाई यस्तो षडयन्त्रमूलक चुनावी नाटकको यथार्थप्रति सचेत, संगठित र संघर्षरत तुल्याउनको लागि क्रियाशील हुन हाम्रा सम्पूर्ण पार्टी पंक्तिलाई हालै एक अपिलमार्फत पार्टीले जरुरी निर्देशन गरेको हो भने राष्ट्रिय मुक्ति र जनक्रान्तिका सम्पूर्ण समर्थक–शुभचिन्तक र आम न्याय–समानता र स्वतन्त्रता प्रेमी जनसमुदायमा यो चुनावमा सहभागी नभै संघर्षमा (एकल पार्टी आयोजना र बहुपार्टीको संयुक्त आयोजनाका सशक्त आन्दोलनमा) सहभागी हुन समेत हार्दिक आग्रह गरेको हो ।

यही निर्देशन र आग्रहलाई पूर्ण अनुशासनबोध र जिम्मेवारीबोध गरेर निर्धारित नीति, कार्यक्रम र दिशामा सम्पूर्ण पार्टी कामरेडहरु र आम जनसमुदाय अत्यन्त संवेदनशील र गम्भीर बनेर पूर्ण विश्वास र समर्पणका साथ लाग्नु जरुरी छ । यही नै यतिखेरका हामी सचेत र जिम्मेवार क्रान्तिकारी शक्ति–समूह, वर्ग–समुदाय, संघ–संस्था, मंच–मोर्चा, अभियान–आन्दोलन र व्यक्ति–व्यक्तित्व लगायत सम्पूर्ण जनताको अहं कार्यभार हो ।
धन्यवाद !
२०८२ माघ २१
यु.एस. ए. एरिजोना