• फाल्गुन २३ २०८२, शनिबार

आलाेचनाबाट आत्तिएर आफ्ना फलोअर्स ‘ब्लक’ गर्दै ओली

माघ २० २०८२, मंगलवार

फागुन २१ को मतदानको दिन सङ्घारमा आइपुग्दा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली आफ्ना फलोअर्सलाई ‘ब्लक’ गर्ने काममा दैनिक लागिरहेका देखिन्छन् । यसअघि आफ्ना साधक बनेका सामाजिक सञ्जालका फलोअर्स अहिले उनकै लागि बाधक बनिरहेका छन् ।

अधिकांश फलोअर्सबाट दैनिकजसो सुझाव र आलोचना आउन थालेपछि सापेक्ष कडा र आक्रामक बन्दै गइरहेका फलोअर्सलाई पेजबाट हटाउने र ब्लक गर्ने कामलाई ओलीले तीब्र बनाउँदै लगिरहेका छन् ।

परिणामतः ओलीको फेसबुक पेजमा ‘हाइहाइ’ गर्नेको सानो पङ्क्तिले मात्र स्थान पाउन थालेको छ । उनको पेजमा स्थान पाउन छोडेपछि बाहिरिने पङ्क्ति आश्चर्यजनक रूपमा बढ्दो छ । सुरूसुरूमा सामाजिक सञ्जाललाई ‘साइबर खेल’ वा मजाकको रूपमा लिने र साथमा रहेका साथीसँग रसिला विमर्शमा रमाउने ओली अहिले भने निकै गम्भीर देखिन थालेका छन् ।

केवल सङ्गठन भएपछि सबै कुरा संभव हुन्छ भन्ने ओली १९औं शताब्दीको सुरूतिर रूसमा लेनिन र मध्यतिर चीनमा माओले गरेका महापरिवर्तनका कामबाट बढी प्रभावित देखिन्छन् । यसरी क्रान्तिको मनोवैज्ञानिक मान्यताका हिसाबले नियाल्ने हो भने ओलीको मनोविज्ञान शीतयुद्धभन्दा अघिको प्रतित हुन थाल्छ ।

ओलीको यो मनोविज्ञानले वर्तमान नेपालमा रहेका समग्र कम्युनिष्ट पार्टी र तिनका नेताहरूको मनोविज्ञानको पनि प्रतिनिधित्व गर्दछ । अहिले समय फेरिएको छ । कम्युनिष्ट पार्टीमा भने फेरिएको समय अनुसारको विचार, आचरण र व्यवहारमा परिवर्तन आउनु जरूरी छ ।

एक पालाको समय थियो, पृथ्वीमा भीमकाय शरीर भएको डाइनोसरको अस्तित्व थियो । ती लाोप भए । भनिन्छ, समय र परिस्थितिले तिनलाई साथ दिएन । तर सत्य कुरा यो हो कि ती डाइनोसर बदलिएको परिस्थिति अनुसार आफूमा बदलाव ल्याउन सकेनन् ।

अहिलेको समय परिवर्तनको समय हो । तर समयले चाहेको र माग गरेको विशिष्टता अनुरूपको परिवर्तनको सार र स्वरूप पहिचान तथा तदनुरूपको रणनीतिगत र कार्यनीतिगत विचार तथा कार्यक्रम विकास गर्ने क्षमताको सर्वथा अभाव रहनु कम्युनिष्टहरूको ठूलो असक्षमता हो ।

होइन भने हरेक परिवर्तनसँगै सिङ्गो संसारलाई समाजवादहुँदै साम्यवादको शिखरमा पुर्‍याउने जिम्मेवारी कम्युनिष्ट पार्टी र तिनका नेताहरूको हो । तर विडम्वना ! विज्ञान र प्रविधिको बोध पनि नहुने र प्रतिस्पर्धात्मक उपयोगमा श्रेष्ठता पनि हासिल गर्न पनि नसक्ने भएपछि एमाले, माओवादीसहितका नेता तथा तिनका पार्टीहरू अब तिनका सामाजिक सञ्जालमा सल्लाह दिइरहेका र आलोचना गरिरहेका फलोअर्सलाई ब्लक गर्ने र आफै विमुख हुने काम नै अबको क्रान्तिको बाँकी रहेको कार्यभार बन्न गएको देखिन्छ ।