• फाल्गुन २३ २०८२, शनिबार

चुनावकाे मुखमा दल परिवर्तन कि मत परिवर्तन ?

माघ १८ २०८२, आईतवार

अन्ततः चुनाव लाग्यो । पुराना नयाँ सबै दल चुनावमा हेलिएका छन् । कसले जित्ने हो, कुरा त्यत्ति मात्र बाँकी छ । सबै जित्नका लागि मैदानमा छन् । जित्नेको पङ्क्तिसँगै जिताउनेको होड पनि कम छैन ।

रमाइलो बन्दैछ चुनाव । पुराना पार्टी दलमय छन् । आफ्नै सङ्गठन, आफ्नै झण्डा र आफ्नै खेलोमेलो । नयाँ पार्टी दलमय कमै देखिन्छन् । उनीहरू खेलमय छन् । अल्गोरिदमको प्रयोगसहित रमाइलो गर्दै चुनावी मैदानमा उत्रिएका छन् ।

पुराना दलको गणितीय हिसाबमा अरूको कार्यकर्ता फकाएर वा चोरेर लिएपछि मात्र जोडफल निस्कने यथार्थता अघिल्तिर छ । नत्र यस पालाको चुनावमा घटाउ नै हुने देखिन्छ । त्यसैले पुराना दलका कार्यकर्ता वल्लोघर पल्लोघरमा दल प्रवेशको ढोका भित्र र बाहिर गरिरहेका देखिन्छन् ।

नयाँ पार्टीहरूमा भने दल प्रवेशको गुञ्जायस देखिदैन । बरू मत परिवर्तनको लहर देखिन्छ । मत परिवर्तन गर्न चाहेका सबैको जिभ्रोमा झुण्डिएको छ, ‘हुन त म … तर … ।’ यसको सिङ्गो अर्थ हुन्छ, म जुनसुकै पार्टीको भए पनि मत भने नयाँलाई !

यस्तो अवस्थामा पुराना दल रक्षात्मक र प्रतिरोधात्मक देखिन्छन् । तर नयाँ दल भने आक्रामक र शालिन । पुरानाले सङ्ठनमा रहेका सङ्गठनकर्ता र मतदाता को कहाँ कति सुरक्षित छन् भनी मत रक्षामा आफ्ना क्रियाकलाप केन्द्रित गरिरहेका छन् । नयाँ भने जो जहाँ रहे पनि यस पटकको मत परिवर्तन गरिदिनोस् भन्दै हिँडेका छन् ।

पुराना पार्टीले प्रत्यक्ष तथा समानुपातिक मत बराबर राख्न प्रयत्न गरिरहेका देखिन्छन् भने नयाँले समानुपातिक मत जति आए पनि प्रत्यक्ष मत बढी ल्याउने प्रयास गरिरहेका देखिन्छन् । समग्रमा मत परिणाम पनि त्यस्तै हुने खालको देखिन्छ ।

पुरानाले विगतको आफ्ना लगानीका कुरा गरिरहेका छन् । त्यसको ब्याज खोजिरहेका छन् । तर वर्तमानमा उनीहरूले जनतामाझ वाहवाही बटुल्ने खालका केही त्यस्ता उल्लेखनीय कामहरू भने छैनन् । त्यसैले उनीहरूको लोकप्रियता पहिलेजस्तो छैन ।

तर नयाँ भने ‘टेस्टेड’ पनि कम भएका र पुरानाको अलोकप्रियताका कारण जनतामाझ बढी लोकप्रिय हुँदै गएका छन् । नयाँमा उदाउँदै गरेका केही पात्र त कामले पनि चर्चामा छन् । त्यसैले उनीहरू मतदाताको मत परिवर्तनमा बढी लागेका देखिन्छन् ।

जनताको सोच र मन परिवर्तन भएको अभिव्यक्ति र छनकसँगै नयाँ हौसिएका छन् । हालसम्मको साधरण आँकलनमा यस पटक मत परिवर्तन गणितीय हिसाबले सोचेभन्दा बढी हुने देखिन्छ । त्यसैले छिटफुट रूपमा देखिएको दल परिवर्तनले पुराना दलको मत त्यति बढी सुरक्षित हुने देखिन्न ।

नयाँ दलहरूले प्रचार प्रसारको माध्यम जसरी सामाजिक सञ्जाललाई बनाएर अघि बढेका छन्, त्यति नै द्रुत गतिमा र क्षणक्षणमा आआफ्ना जनमतको सुरक्षा र घटबढको अनुमान प्रत्यक्षतः गरिराखेका छन् । नयाँ दल र नयाँ नेता अल्गोरिदमको श्रृङ्खलाबद्ध माध्यमबाट मतदाताको मन र मस्तिष्कमा नयाँ नयाँ प्रभाव पारिरहेका देखिन्छन् ।

तर पुराना दल भने भौतिक रूपमा कार्यकर्ता आफूसँगै राखेर गणितीय हिसाबको सोझो आँकलन गरिरहे पनि तिनका मन र मस्तिष्क अन्य कतैबाट प्रभावित भइरहेको थाह पाइराखेका छैनन् ।