काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी निकट रोल्पा–काठमाडौं सम्पर्क समन्वय समितिको कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम भर्खरै काठमाडौंमा सम्पन्न भएको छ । आगामी फाल्गुन २१ गते हुन गइरहेको प्रतिनिधि सभा सदस्यको निर्वाचनको तयारी स्वरुप कार्यकर्ता परिचालन गर्ने उद्धेश्यले आयोजना गरिएको सो प्रशिक्षण कार्यक्रममा नेकपाका दर्जनौं नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो ।
कार्यक्रममा विशेष अतिथिको रुपमा पूर्वसभामुख कृष्णबहादुर महरा, प्रमुख अतिथिको रुपमा पूर्वमन्त्री वर्षमान पुन र अतिथिहरुमा पूर्वसभामुख ओनसरी घर्ती, नेकपा नेतृ गीता गहतराज र शुकबहादुर रोका, भन्कार बुढामगर, हिमाल घर्ती, मनोज घर्ती, चेतन कँवर र प्रभात लगायतका नेताहरु सहभागी थिए ।
सो अवसरमा बोल्दै पूर्वसभामुख महराले रोल्पा बलिदानीपूर्ण र चुनौतीपूर्ण राजनीतिक इतिहास बोकेको जिल्ला भएको बताउँदै रोल्पाको भविष्य पनि उज्ज्वल रहेको बताए । पूर्वसभामुख महराले रोल्पाको राजनीतिक विगत गौरवपूर्ण र वर्तमान चुनौतीपूर्ण छ तर भविष्य भने उज्वल रहेको बताए ।
उनले रोल्पाको यही गौरवलाई कायम राख्दै अगाडी बढ्नुपर्नेमा जोड दिए । आफूहरु र रोल्पाली जनताको त्याग र बलिदानीका कारण रोल्पालाई माओवादी आन्दोलनको राजधानीको रुपमा सबैले चिन्ने गरेको उनको भनाई रहेको छ ।
सो अवसरमा प्रशिक्षण मन्तव्य राख्दै नेकपाका नेता तथा पूर्वमन्त्री वर्षमान पुनले जेनजी आन्दोलन विदेशीको योजनामा भएको संकेत गर्दै घरमा बाहिरबाट कसैले आगो लगाइदिएको देखिइरहेको बेला कतै सिलिण्डर चुहिएर पो आगो लाग्यो कि भनेर पत्ता लगाउन खोज्नु गलत हुने तर्क गरे ।
एक प्रसंगमा पुनले कुनै राजनीतिक इतिहास नभएका बालेन शाह र रविहरुले नेपालको राजनीति समस्या ल्याउन खोजेको बताए । उनले काठमाडौंमा चुनाव हारिने डरले बालेन, सोविता गौतम र रविहरु भौंतारिँदै देशभर दौडिएको आरोप लगाए ।
नेता पुनले यसअघि काठमाडौंमा रास्वपाले जितेका ठाउँहरुमा नयाँहरुको पक्षमा चुनावी नभएकोले उनीहरु काठमाडौं छाडेर अन्य जिल्लाबाट चुनाव लड्न गएको बताए । पुन नेपाल कम्युनिष्ट पार्टीबाट रोल्पाबाट प्रतिनिधिसभा सदस्यको लागि चुनावमा होमिएका छन् ।
कार्यक्रममा नेकपाबाट समानुपातिक उम्मेदवार रहेकी नेतृ गीता गहतराज लगायतले मन्तव्य राखेका थिए ।
कार्यक्रमको अध्यक्षता रोल्पा–काठमाडौं सम्पर्क समन्वय समितिका अध्यक्ष तिलबहादुर घर्तीमगरले गरेका थिए भने कार्यक्रमको संचालन सो संगठनका सचिव नन्द घर्तीमगरले गरेका थिए । कार्यक्रममा उपस्थितहरुलाई स्वागत मन्तव्यबाट संगठनकी उपाध्यक्ष पेमा डोल्मा लामाले स्वागत गरेकी थिइन् । तस्वीर : राेमन बुढामगर ।