• फाल्गुन २४ २०८२, आईतवार

काभ्रेको मण्डनदेउपुरमा भ्यान दुर्घटनामा घाईते महिला चालकको उद्धार

माघ १४ २०८२, बुधबार

काठमाडौँ । काभ्रे जिल्लाको मण्डनदेउपुर नगरपालिका–९ बितौरी पोखरीस्थित हिगुवापाटी चन्देनी सडकखण्डमा माघ १४ गते भ्यान दुर्घटना हुँदा भ्यानभित्र च्यापिएकी महिला चालकको उद्धार गरिएको छ ।

नवप्रतिभा ईङ्गलिस बोर्डिङ्ग स्कुलको ५ जना विद्यार्थी बोकेको बा १ ज ८६७२ नम्बरको भ्यान अचानक ब्रेक फेल भई दुर्घटना भएको बताईएको छ । दुर्घटनामा परी सोही ठाउँ बस्न भ्यानको चालक २४ वर्षिया दिपिका ढकाल घाईते भएकी हुन् ।

सो दुर्घटनाबारे जानकारी पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल नं. १५ गण काभ्रेबाट सशस्त्र प्रहरी सहायक निरीक्षक भरत न्यौपानेको कमाण्डमा विपद् उद्धार सामाग्रीसहित खटिएको सुरक्षा फौज र नेपाल प्रहरीको संयुक्त टोलीले चालक दिपिका ढकालको कम्मर मुनीको भाग भ्यानले च्यापिएको अवस्थामा सिट काटेर निकालेको हो ।

उद्धार पश्चात उनलाई उपचारको लागि धुलिखेल अस्पताल पठाईएको छ भने ५ जना विद्यार्थीहरु सकुशल रहेका छन् । उद्धार गरिएको उनको कम्मर मुनिको भाग नचल्ने र बोल्न नसक्ने अवस्था रहेकी छिन् ।