फागुन २१ गते तोकिएकै समयमा सङ्घीय संसदको निर्वाचन हुने भएपछि जनतामा नयाँ आशाको सञ्चार हुन गएको छ । आफूखुसी उम्मेदवारलाई मत दिन जनता लालायित हुँदै गएका छन् ।
राजनीतिक पार्टीका केही नेता तथा कार्यकर्ता बाहेक ज्यादै अशिष्ट रूपमा आमजनता सार्वजनिक टिप्पणी र गालीगलौजमा उत्रिएको पनि देखिँदैन । त्यस्तो टिप्पणी गर्न चाहेमा सबैको हातहातमा मोबाइल छन् ।
तर पनि आफूखुसी विषयवस्तु सिर्जना गरेर राख्न पाउने अवसरको दुरूपयोग गरेको कमै मात्र देखिन्छ । बरू पार्टी घोषणापत्र पनि नबनाएका र पार्टीभित्र गुट र फुटको खेती गर्दै आइरहेका राजनीतिक दलका शीर्ष नेता र तिनका ‘क्रिम फोर्स’ नै निकृष्ट गालीगलौजमा उत्रिएका देखिन्छन् ।
हालसम्म यस्ता केसमा निर्वाचन आयोगले स्पष्टीकरण पनि माग्दै आएको छ । यो भनेको स्वस्थ राजनीतिक प्रतिस्पर्धाका लागि सहजीकरण पनि हो । यस पटकको निर्वाचनमा जनताले केवल मततदाताका रूपमा मात्र भन्दा पनि आफूलाई निर्वाचन प्रक्रियामा सहभागीका रूपमा खुलेर प्रस्तुत गर्न थालेका देखिन्छन् ।
जनचेतना पनि यस पटकको निर्वाचनमा अघिल्ला अवधिको तुलनामा केही विकास भएर आएको देखिएको छ । मतदाता जनता सचेत भएमात्र प्रजातन्त्र ‘जनताले, जनताद्वारा र जनताका लागि’ गरिने शासन हुनसक्छ ।
भताभुङ्गको अवस्थाबाट निस्चित आकार र गति लिनका लागि देश निर्वाचनमय हुँदाको बखत राजनीतिक पार्टी र तिनका नेता तथा उम्मेदवार बढी नैतिक र जिम्मेवार हुनै पर्छ । मत मतदाता जनताले दिने हो । उम्मेदवारले मत माग्ने हो ।
अहिले मतदाता जनता सापेक्ष सचेत छन् । राजनीतिक पार्टी तथा उम्मेदवारबाट विचार नैतिकताको अपेक्षा गरिरहेका छन् । स्वस्थ प्रतिस्पर्धामा उत्रिएर जनताको मन जित ।