काठमाडौँ । डेनमार्ककाे स्वशासित प्रान्त ग्रीनल्याण्डमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको विरोध शुरु भएको छ । ग्रीनल्याण्डकाे अमेरिकामा विलयको बारेमा अमेरिकी राष्ट्रपति ट्रम्पको भनाइप्रति आफ्नो आक्रोश व्यक्त गर्दै हजारौं मानिस सडकमा उत्रिएका छन् ।
उनीहरुले ग्रीनल्याण्ड बिक्रीमा नभएको बताउँदै ट्रम्पविरुद्ध प्रदर्शन गरेका छन् । हिउँले भरिएका सडकहरूको बीचमा प्रदर्शनकारीहरूले ग्रीनल्याण्डको राजधानी नुउक शहरबाट अमेरिकी वाणिज्य दूतावाससम्म मार्च गरेका थिए ।
उनीहरूले राष्ट्रिय झण्डा फहराए र विरोध पोस्टरहरू बोकेका थिए । रिपोर्टका अनुसार ग्रीनल्याण्डमा भएको यो अहिलेसम्मकै सबैभन्दा ठूलो प्रदर्शन मानिन्छ, जसमा नुउकको जनसंख्याको लगभग एक चौथाई भाग उपस्थित रहेको थियो ।
यसैबीच, अमेरिकाले अमेरिकी विलयको धम्कीको विरोध गर्दै आठ युरोपेली देशहरूमा १० प्रतिशत कर लगाउने घोषणा गरेको छ । यसले ट्रम्प विरुद्ध ग्रीनल्याण्डको आक्रोशलाई अझ बढाएको छ ।
युरोपेली संघका सांसदहरूले अमेरिकासँगको व्यापार सम्झौताको अनुमोदन रोक्ने तयारी गरिरहेका छन् । युरोपेली पिपुल्स पार्टी (इपिपी) का अध्यक्ष म्यानफ्रेड वेबरले ट्रम्पको ग्रीनल्याण्ड धम्कीका कारण अमेरिकासँगको सम्झौतालाई अनुमोदन गर्न असम्भव भएको बताएका छन् ।