काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो क्वालिफायरमा विराटनगर किङ्ग्सलाई हराउँदै लुम्बिनी लायन्स फाइनलमा प्रवेश गरेको छ ।
आज बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा भएको खेलमा विराटनगरलाई ४४ रनले हराउँदै लुम्बिनी पहिलो पटक एनपीएलको फाइनलमा पुगेको हो । उपाधीका लागि अब उसको शनिबार प्रतिस्पर्धा सुदूरपश्चिम रोयल्ससँग हुनेछ ।
लुम्बिनीले दिएको १३५ रनको सहज लक्ष्य पछ्याइरहेको विराटनगरको ब्याटिङमा खराब सुरुआतको फाइदा लुम्बिनीलाई भएको हो । विराटनगर १७.५ ओभरमा ९४ रनमै समेटियो । विराटनगरलाई सस्तैमा समेट्न लुम्बिनीले प्रयोग गरेका पाँचमध्ये पाँचै बलरले विकेट लिए ।
तिलक भण्डारीले तीन विकेट लिए । अभिषेश गौतम, जेजे स्मिथ र रुबेन ट्रम्पेलमनले समान दुई विकेट लिए। शेर मल्लको नाममा एक विकेट रह्यो । विराटनगरका साम हेजलेटले सर्वाधिक ३४ रन बनाए । नरेन भट्टले २१ र मर्चेन्ट डी लांगेले १७ रन थपे ।