काठमाडाैं । छ महिनाको परीक्षणको रूपमा थाइल्याण्ड सरकारले मदिरा पसल, रेस्टुरेन्ट र अन्य मान्यता प्राप्त प्रतिष्ठानहरूमा दिउँसोको समयमा पनि मदिराजन्य पदार्थको बिक्री वितरण खुल्ला गरेको छ ।
योसँगै अब यी बिक्री केन्द्रहरूले दिउँसो २ देखि ५ बजेसम्म बियर, वाइन र अरु मदिराजन्य पेय पदार्थ बेच्न सक्नेछन् । थालइल्याण्डमा सन् १९७२ देखि दिउँसोमा मदिराजन्य पदार्थ बिक्रीका लागि प्रतिबन्ध थियो ।
खासगरी सरकारी कर्मचारीहरूलाई कामको समयमा मदिरा सेवन गर्नबाट रोक्नको लागि यो नियम लागू गरिएको थियो । तर यसले लामो समयदेखि बौद्ध धर्मावलम्बी बहुल यो देशमा आगन्तुकहरूलाई हैरान पारेको थियो । तथापि, थाइल्याण्ड सरकारले क्रिसमस र नयाँ वर्षको बिदाको केही दिनअगाडि यो दशकौँ पुरानो प्रतिबन्ध खुला गरेको छ ।
यसले थाइल्याण्डको पर्यटक आगमनलाई अझ सहज बनाउने विश्वास लिइएको छ ।
परीक्षणको रूपमा खुला गरिएको दिवा मदिरा पदार्थको बिक्री वितरण १८० दिनसम्म रहनेछ । जुन समयमा होटल, रेस्टुरेन्ट तथा अरु बिक्री केन्द्रहरूले बिहान ११ बजेदेखि मध्यरातसम्म बिनाअवरोध मदिराजन्य पदार्थको बिक्री वितरण गर्न सक्नेछन् ।
यस समयमा सरकारले बनाएको अध्ययन समितिले यसको प्रभावको मूल्याङ्कन गर्नेछ । पहिले, यो कडा प्रतिबन्ध उल्लङ्घन गर्नेहरूलाई १० हजार भाटसम्म जरिवाना हुने गर्थ्याे ।
सेप्टेम्बरमा पदभार ग्रहण गरेका थाई प्रधानमन्त्री अनुतिन चार्नविराकुलले वर्षौंको राजनीतिक उथलपुथलका कारण थलिएको अर्थतन्त्रलाई पुनः सुरु गर्ने प्रयासको रूपमा पर्यटकहरूलाई फिर्ता ल्याउने वाचा गरेका छन् ।
‘विगतमा, सरकारी कर्मचारीहरू रक्सी पिउन बाहिर निस्कने चिन्ता थियो, तर अहिलेको समय फरक छ,’ उपप्रधानमन्त्री सोफोन सारामले गत महिना पत्रकारहरूलाई भनेका थिए । विश्व स्वास्थ्य संगठनका अनुसार थाइल्याण्डमा एसियामा सबैभन्दा बढी मदिरा सेवन दर छ । चाङ र सिंघा जस्ता स्थानीय बियरहरू थाइल्याण्डमा निकै लोकप्रिय छन् ।