काठमाडौं । रुसी अक्टोवर समाजवादी क्रान्ति सम्पन्न भएको आज १०८औं वार्षिकोत्सब धुमधामका साथ मनाइँदै छ । आज रुस, चीन लगायतका दर्जनौं देशहरु र विभिन्न कम्युनिष्ट पार्टी तथा घटकहरुले रुसी अक्टोबर क्रान्ति सम्पन्न भएको यो दिवस विभिन्न कार्यक्रम गरी मनाउँदैछन् ।
सन् १९१७ मा रुसी नेता लेनिनको नेतृत्वमा भएको शसस्त्र क्रान्तिले रुसी सामन्ती शासनको अन्त्य गरी रुसी जनताको स्वतन्त्रतासहितको राज्यसत्ता निर्माण गरेको थियो ।
रुसी अक्टोवर समाजवादी क्रान्ति विश्वको राजनीतिक इतिहासमा एक युगान्तकारी परिघटना थियो, जसले मार्क्सवादको पथप्रदर्शक सिद्धान्तको मार्गनिर्देशनमा विश्व मै पहिलोपटक पुँजीवादी प्रतिक्रियावादी राज्यसत्तालाई ध्वंस गरेर वैज्ञानिक समाजवादी राज्यसत्ता स्थापना गरेको थियो । अर्थात् महान् रुसी अक्टोवर समाजवादी क्रान्तिले विश्व मै पहिलोपटक पुँजीपतिको हातबाट राज्यसत्ता खोसेर सर्वहारा वर्गको काँधमा पुर्याइ विश्व सर्वहारा वर्गलाई देशको मालिक बनाएको थियो ।
यसै सन्दर्भमा आज अन्तराष्ट्रिय लेखक तथा पत्रकार केन्द्रले पनि आजको दिनको स्मरण गरेको छ र अक्टोबर क्रान्तिको सम्झनामा भएको सबै कार्यक्रमहरुप्रति ऐक्यवद्धता जनाएको छ । केन्द्रका अध्यक्ष हस्तबहादुर केसीले आज भए विज्ञप्ति जारी गर्दै यस्तो ऐक्यवद्धता जनाएका हुन् ।
रुसमा भएको क्रान्तिपछि संसारका विभिन्न देशहरूमा कम्युनिस्ट पार्टीहरु निर्माण भएका थिए । पूर्वी युरोपका २०औं देशहरूमा सोभियत मोडलको समाजवाद लागु गरिएको थियो भने चीन, भियतनाम, कोरिया, कम्बोडिया, क्युवा लगायतका देशहरूमा नयाँ जनवादी एवं समाजवादी क्रान्तिहरु सम्पन्न भएका थिए ।
त्यसकारणले नै सन् १९१७ अक्टोवर २५ ( रुसी नयाँ पात्रो अनुसार सन् १९१७ नोभेम्वर ७) को विश्वको राजनीतिक इतिहासमा एक ऐतिहासिक दिन हो ।
आज विश्व सर्वहारा श्रमजीवी वर्ग, उत्पीडित राष्ट्र तथा जनसमुदायले रुसी अक्टोवर समाजवादी क्रान्तिको १०८औं वार्षिकोत्सब धुमधामका साथ मनाउन गइरहेका छन् ।
यद्यपी रुसमा सन् १९९० मा नै प्रतिक्रान्ति भएर सोभियत मोडलको समाजवाद ढलेर रुसमा पुँजीवादको पुनःस्थापना भएको भए तापनि आजसम्म विश्व साम्राज्यवादी तथा पुँजीवादी वर्ग सत्ता नै विश्व सर्वहारा वर्गको प्रमुख दुश्मन भएकोले आज महान् रुसी अक्टोवर समाजवादी क्रान्तिको महत्व र शिक्षा विश्व सर्वहारा वर्गका निम्ति प्रेरणाको श्रोत कायमै छ ।
विज्ञप्तिमा अध्यक्ष केसीले भनेका छन्,‘यसको महत्व र आवश्यकता, शिक्षा र इतिहास युगौं युगसम्म चिरस्थायी रहनेछ’ ।