• फाल्गुन २४ २०८२, आईतवार

३ सय किमी जमिन सिल गरी ट्रम्प-पुटिन वार्तामा बस्दै, दुनियाँको नजर अलास्कातिर

श्रावण ३० २०८२, शुक्रबार

मस्को । रुसी राष्ट्रपति भ्लादिमिर र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प बीच आज साँझ अलास्कामा भेटवार्ता हुने भएको छ । करिब ७ वर्षपछि हुन लागेको यो उच्चस्तरीय भेटवार्ताको मुख्य एजेन्डा सन् २०२२ देखि जारी रुस–युक्रेन युद्ध रोक्नु रहेको छ ।
यो भेटवार्ता अलास्काको सबैभन्दा ठूलो शहर एन्कोरेजमा रहेको अमेरिकी सैन्य अड्डामा हुनेछ । सीएनएनका अनुसार बैठकको कोठामा ट्रम्प र पुटिनका साथमा दुई जना दोभासे मात्र रहनेछन् । दुई नेताबीच के कुरा हुन्छ भन्ने विवरण बाहिरिने छैन, तर भेटवार्तापछि दुवैले संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्नेछन् ।

यो भेटवार्ताको घोषणासँगै रुस र युक्रेनबीच आरोप–प्रत्यारोप तीव्र बनेको छ । पुटिन युक्रेनको करिब २० प्रतिशत भूभागलाई औपचारिक रूपमा रुसमा गाभ्न चाहन्छन् भने युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की आफ्नो देशको एक इन्च जमिन पनि नछोड्ने अडानमा छन् ।

राष्ट्रपति निर्वाचनको प्रचारका क्रममा ट्रम्पले आफू राष्ट्रपति बनेको २४ घण्टाभित्र रुस–युक्रेन युद्ध अन्त्य गर्ने बाचा गरेका थिए । तर, उनी राष्ट्रपति बनेको ६ महिनाभन्दा बढी भइसक्दा पनि बाचा पूरा हुन सकेको छैन ।

यसबीचमा रुसले युक्रेनमाथि हवाई हमला थप तीव्र बनाएको छ । यसबाट रुष्ट ट्रम्पले रुसलाई शान्ति सम्झौताका लागि ५० दिनको समय दिएका थिए र युद्धविराममा सहमति नभए कडा अमेरिकी प्रतिबन्ध लगाउने चेतावनी दिएका थिए । अगस्ट ८ मा उक्त समयसीमा समाप्त भएको थियो ।

समयसीमा सकिनु दुई दिनअघि अमेरिकी विशेष दूत स्टिभ विटकफले मस्कोमा पुटिनसँग भेट गरेका थिए । सोही भेटपछि ट्रम्प–पुटिन भेटको योजना बनेको हो । यद्यपि, ह्वाइट हाउसले यो भेटबाट तत्काल युद्धविरामको अपेक्षा नगरिएको स्पष्ट पारेको छ । उसका अनुसार भेटको उद्देश्य युद्ध अन्त्य गर्ने सम्भावित उपायहरू खोज्नु हो ।

वार्तास्थल अलास्का नै किन रोजियो ?

बीबीसीका अनुसार ट्रम्प र पुटिनबीचको भेटका लागि अलास्का रोज्नुका मुख्य दुई कारण छन् । अलास्का रुसको सबैभन्दा नजिकको अमेरिकी भूभाग हो । रुसको चुकोटकाबाट अलास्का केवल ९० किलोमिटर टाढा छ । यसले पुटिनलाई कुनै ‘शत्रु’ देशको आकाश प्रयोग नगरी सीधै अलास्का पुग्न सहज बनाउँछ ।

साथै, यस क्षेत्रमा रुसका केही सैन्य निगरानी स्टेशन र एयरफोर्स बेसहरू पनि छन्, जसले पुटिनका लागि यो क्षेत्र सुरक्षित मानिन्छ । अलास्का युक्रेन र युरोपबाट निकै टाढा छ । पुटिन युरोपेली संघ र युक्रेनलाई बाहिर राखेर सीधै अमेरिकासँग वार्ता गर्न चाहन्छन्, र यसका लागि यो स्थान उपयुक्त छ ।

कस्तो छ सुरक्षा व्यवस्था ?
पुटिनको बख्तरबन्द लिमोजिन ‘अउरस सेनेट’ रुसी कार्गो विमानमार्फत् सैन्य बेसमा पुगिसकेको छ । बैठकमा प्रयोग हुने पानीको बोतल र कपसमेत पुटिनको सुरक्षा टोलीले सिलबन्दी गर्नेछ ।

भेटवार्ता स्थलबाट ८८ किलोमिटर टाढा रुसी लडाकु विमानहरू तयारी अवस्थामा राखिनेछ । पुटिनको सुरक्षाका लागि उनको विशेष ‘एफएसओ’ (फेडरल प्रोटेक्टिभ सर्भिस) युनिट साथमा आउनेछ ।

‘आइस फोट्र्रेस’ भनिने उक्त सैन्य अखडामा ३२ हजार अमेरिकी सैनिक पहिल्यैदेखि तैनाथ छन् । सम्पूर्ण क्षेत्रको ३०० किलोमिटरको दायरामा ‘नो–फ्लाई जोन’ लागू गरिनेछ र सैन्य अड्डाभित्र र बाहिर दोहोरो सुरक्षा घेरा हुनेछ ।

शान्ति वार्तामा मुख्य अड्चन के हो ?
रुसले युक्रेनको क्रिमिया, डोनेट्स्क, लुहान्स्क, खेरसन र जापोरिजिया लगायतका करिब २० प्रतिशत भूभाग कब्जा गरेको छ । पुटिन यी क्षेत्रहरूलाई रुसको अभिन्न अंग मान्छन् र युक्रेनले ती भूभागमाथिको दाबी छोडेपछि मात्र शान्ति वार्ता सम्भव हुने बताउँदै आएका छन् । साथै, युक्रेन नेटोमा सामेल हुन नहुने उनको अर्को प्रमुख शर्त छ ।

उता युक्रेनी राष्ट्रपति जेलेन्स्की युक्रेनको एक इन्च जमिन पनि रुसलाई दिन तयार छैनन् । उनले बिनाशर्त युद्धविराम र रुसी सेना फिर्ता हुनुपर्ने माग राखेका छन् । ट्रम्पले अगस्ट १३ मा जेलेन्स्कीसँगको भर्चुअल बैठकमा ‘जमिनको बदलामा शान्ति’को प्रस्ताव राखेका थिए, तर जेलेन्स्कीले त्यसलाई अस्वीकार गरेका थिए ।

जर्मनी, बेलायत र फ्रान्सजस्ता प्रमुख युरोपेली देशहरू युक्रेनले आत्मसमर्पण गर्नुपर्ने पक्षमा छैनन् । उनीहरूले युक्रेनको सार्वभौमिकताको समर्थन गर्दै आएका छन् ।

जर्मन चान्सलर फ्रेडरिक मर्ज, फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रों र बेलायती प्रधानमन्त्री कीर स्टार्मरले युक्रेनको सहमति र सुरक्षा ग्यारेन्टीबिना कुनै पनि सम्झौता मान्य नहुने स्पष्ट पारेका छन् । उनीहरूले युक्रेनलाई समर्थन जारी राख्न अमेरिकालाई आग्रह गरेका छन् । तर रुसले भने नेटो सेनाको प्रयोग गरी रुसलाई चौतर्फी घेराबन्दी गर्दै लगेकोले युद्धको कारण पश्चिमा देशहरु भएकोले आफूले जितेको युक्रेनी भूमि नछोड्ने पक्षमा छ । यसले गर्दा ट्रम्प—पुटिन वार्ता सफल हुनेमा आशंका व्यक्त गरिएको छ ।

युरोपेली देशहरु यो वार्ताको विपक्षमा छन् । युरोपेलीहरुका कारण वार्ता असफल भएमा अमेरिका युरोपसित चिढिनेछ र रुससित नजिकिने छ भने रुसका कारण वार्ता असफल भएका अमेरिका र युरोप मिलेर रुसविरुद्ध कडा कदम चाल्न सक्ने संभावना छ । एजेन्सीकाे सहयाेगमा ।