काठमाडौँ । नेपाली गीत—संगीतको क्षेत्रमा अतुलनीय योगदान दिएर नेपाली बीचबाट आजभन्दा २६ वर्ष अघि विदा भएका गायक अरुण थापा मगरको २६औँ स्मृति दिवस आज काठमाडौंमा विविध कार्यक्रम गरी मनाइएको छ ।
काठमाडौंको जमलस्थित साँस्कृतिक संस्थान राष्ट्रिय नाचघरको भव्य हलमा सम्पन्न एक कार्यक्रमका बीच संविधानसभा सदस्य तथा जनवादी गायिका केशरी घर्तीमगरलाई ‘अरुण स्मृति संगीत पुरस्कार’ प्रदान गरिएको छ ।
नेपाल मगर विद्यार्थी संघको आयोजना र साँस्कृतिक संस्थानको सहकार्यमा आयोजना गरिएको कार्यक्रममा घर्तीमगरलाई नगद १५ हजार र कदरपत्रसहित सम्मान गरिएको हो ।
त्यसैगरी खेलकुद र नृत्यमा उत्कृष्ट प्रदर्शन गरेका ५ जना प्रतिभाहरूलाई पनि सम्मान गरिएको छ । सम्मानित हुनेमा क्रिकेट खेलाडी जय थापामगर, कराँते खेलाडी अर्पण थापामगर, कराँते खेलाडी संगीता मगर, डबल गोल्ड मेडल विजेता प्रदीप बैदाली मगर, र एसइई डान्स च्याम्पियन सिवानी थापामगर रहेका छन् ।
कार्यक्रमको अर्को चरणमा चर्चित कलाकारहरूले दिवंगत कलाकार अरुण थापाको लोकप्रिय गीत ‘ऋतुहरूमा तिमी’ मा आधारित गीति नाटक प्रस्तुत गरे ।
त्यस्तै आजकै कार्यक्रमको बीचमा नेपाल मगर विद्यार्थी संघद्धारा स्थापित मगर विद्यार्थी भलाई कोषमा व्यवसायी दिलबहादुर थापामगरले रु. ५० हजार सहयोग हस्तान्तरण गरेका छन् ।
कार्यक्रममा मन्तव्य राख्दै साँस्कृतिक संस्थानका महाप्रबन्धक किरणबाबु पुनले गायक अरुण थापाको योगदानलाई पहिलो पटक संस्थानको नीति तथा कार्यक्रममा समावेश गरिएको जानकारी दिए ।
नेपाल मगर विद्यार्थी संघका अध्यक्ष राजु पुन मगरले संघले कलाकार अरुण थापाको सम्झनामा २०६२ सालदेखि कार्यक्रम गर्दै आइएको बताउँदै सुरुमा श्रष्टाहरुलाई प्रदान गरिने पुरस्कार राशी ५ हजार रहेको र अहिले सो राशी बढाएर १५ हजार पुर्याइएको बताए ।
कार्यक्रममा विभिन्न संघ—संस्थाका प्रतिनिधिहरू, कलाकार तथा दिवंगत गायक अरुण थापाको परिवारका सदस्यहरूले उनको स्मरण गर्दै श्रद्धाञ्जली अर्पण गरेका थिए । तस्वीर : रोमन बुढामगर l