• फाल्गुन २३ २०८२, शनिबार

‘विज्ञान पढेर होइन, गरेर सिकिन्छ’, एभरेष्ट स्कूलमा विज्ञान प्रदर्शनी

असार १८ २०८२, बुधबार

काठमाडौं । ‘विज्ञान पढेर होइन, गरेर सिकिन्छ’ भन्ने प्रेरणादायी मूल आदर्श वाक्यका साथ एभरेस्ट स्कूलले विज्ञान क्षेत्रको अग्रणी संस्था न्यातपोलको सहकार्यमा एक विशेष विज्ञान तथा प्रविधि प्रदर्शनी आयोजना गर्यो । कार्यक्रमले बालबालिकामा रहेको वैज्ञानिक सोच, सिर्जनात्मकता, र प्राविधिक दक्षतालाई उजागर गर्न महत्वपूर्ण योगदान पुर्यायो ।

उक्त प्रदर्शनीमा कक्षा २, ३ र ८ का विद्यार्थीहरूले आ–आफ्ना सृजनात्मक कार्यहरू प्रस्तुत गरे । प्रदर्शनीमा बालबालिकाले आफ्नै प्रयासमा तयार गरेका वैज्ञानिक उपकरणहरू, प्रयोगात्मक नमुनाहरू, तथा दैनिक जीवनसँग सम्बन्धित नवीन आविष्कारहरू प्रस्तुत गरिएको थियो ।

कक्षा २ र ३ का नानीहरूले बनाएका सरल यन्त्रहरू, वातावरणीय सन्देशयुक्त चित्रहरू, रिसाइक्लिङ मेशिन मोडल, तथा हातले चलाउने सामग्रीहरू निकै आकर्षक थिए । त्यस्तै, कक्षा ८ का विद्यार्थीहरूले सोलार सिस्टम मोडेल, जल शुद्धीकरण विधि, ऊर्जा रूपान्तरणको प्रक्रिया र सेन्सर प्रविधि प्रयोग जस्ता उन्नत स्तरका वैज्ञानिक प्रयोगहरू प्रस्तुत गरी सबैको ध्यान तान्न सफल भए । प्रदर्शनीको अर्को विशेष पक्ष भनेको अभिभावकहरूको सक्रिय सहभागिता रह्यो ।

बालबालिकाले बनाएका सामग्रीहरू हेरेर अभिभावकहरू उत्साहित भए र प्रश्नहरू गरी विद्यार्थीहरूको ज्ञानको स्तर र बुझाइको प्रशंसा गरे । विद्यार्थीहरू आफ्ना सिर्जनात्मक प्रयोगहरू आफ्नै अभिभावक तथा अन्य अतिथिहरू समक्ष प्रस्तुत गर्न पाउँदा उत्साहले भरिएका देखिन्थे । यस्तो अवसरले उनीहरूमा आत्मविश्वास र अभिव्यक्तिको क्षमता बढाउने मात्र नभई वैज्ञानिक सोचको विकासमा समेत टेवा पुर्याएको देखियो ।

कार्यक्रमको उद्घाटन गर्दै स्कूलका संस्थापक प्रिन्सिपल भक्त राजभण्डारीले विज्ञानको विकास बिना राष्ट्रको समग्र विकास सम्भव नरहेको उल्लेख गरे । उनले भने,‘यस्ता प्रदर्शनीहरूले विद्यार्थीहरूमा विज्ञान र अनुसन्धानप्रति रुचि जगाउँछ । तिनको सोचलाई व्यवहारिक बनाउने वातावरण प्रदान गर्नुपर्छ र यिनै प्रयासहरूबाट भविष्यका वैज्ञानिकहरू जन्मिन्छन् ।’

उक्त प्रदर्शनीले देखाएको उत्साह, रचनात्मकता र भविष्यमा वैज्ञानिक सोच विकास गर्ने वातावरणले सबैको मन जितेको थियो । विद्यार्थी, शिक्षक, अभिभावक र आगन्तुकहरू सबैले कार्यक्रममा सक्रिय सहभागिता जनाई एभरेस्ट स्कूलको शैक्षिक दृष्टिकोण र व्यावहारिक शिक्षामा जोड दिने प्रयत्नको सराहना गरे ।