• फाल्गुन २३ २०८२, शनिबार

क्यानडाकाे ब्राम्पटन शहरमा ‘रामकृष्ण ढकाल साँझ’ लाईभ म्यूजिक हुँदै

असार ७ २०८२, शनिबार

शिशिर सिंखडा, टोरण्टो । ‘ईन्टरनेशनल म्युजिक डे’ को अवसरमा २१ जुन अर्थात् आज शनिबार साँझ क्यानडाको ब्राम्पटन शहरमा हुने नेपाली सुगम संगीतका सदावहार गायक “रामकृष्ण ढकाल साँझ” लाईभ म्यूजिकको सम्पूर्ण तयारी पुरा भएको छ ।

गायक ढकालको एकल साँझ बेलुकी ७ बजे देखि १० बजे सम्म हुने “रामकृष्ण ढकाल साँझ” मा आधुनिक गीत संगीतका पारखीहरुले भरपुर आनन्द र मनोरञ्जन लिने आयोजक समितिका सदस्य घनश्याम भट्टराईले बताउनु भयो ।
भुखाराग्रील रेस्टुरेन्टको हलमा हुने सो विशेष कार्यक्रम नितान्त पारिवारिक रुपमा आयोजना गरिएको छ ।

पारिवारिक समूह “प्रगतिशील समुह” को आयोजनामा हुने कार्यक्रममा करिब १ सय जनाको सहभागी रहने र कार्यक्रमको टिकट पनि बिक्री भैसकेको कार्यक्रम संयोजक कमल ज्ञवालीले जानकारी दिनुभयो ।

गायक ढकाललाई तबलामा सन्तोष घिमिरे र गितारमा उदयराज पौडेलले साथ दिनेछन् । सो कार्यक्रमको मुख्य प्रायोजक पोख्रेल ल फर्म (अधिवक्ता राजेन्द्र पोख्रेल) रहेका छन् भने प्रायोजकमा एक्सपेरियर फाईनान्सिएल ग्रुप, एभरेष्ट रियालिटीका जगन सापकोटा र गणेश ज्ञवाली, एडमार्कका रुद्र कार्की र तावाघर रेस्टुरेन्टका संचालक सीता राना रहेका छन् । मिडिया पार्टनरमा क्यानडा नेपाल न्यूज डटकम रहेको छ ।

कार्यक्रममा गायक ढकालका ‘चरीले त छाडेर गैगयो…, मन पराउने हजार भेटिन्छ्न…, माया गर्नेको…, ओराली लागेको…, बिहान उठ्ने बित्तिकै हिमाल देख्न पाइयोस्‌…, लगायतका तथा नारायण गोपालका केही गीत पनि सुनेर दर्शकहरुले भरपुर मनोरञ्जन लिनेछन् ।

२०४५ सालमा १३ बर्षको उमेरमै पहिलोपटक ‘ढकाल सुमधुर साँझ’ एकल कार्यक्रममा हिन्दी र नेपालीका २२ वटा गीत प्रस्तुत गरेर चर्चित बनेका ढकाल नेपालमा सानो उमेरमै एकल साँझ गर्ने पहिलो गायक पनि हुन् ।

२० वटा एकल एल्बम सार्वजनिक गरिसकेका ढकालका दर्जनौं गीतहरु चर्चित छन् । उनले ५ हजार भन्दा बढी गीत गाएका छन् । प्रवासमा रहेका नेपालीहरू, नेपाली गीत सङ्गीतप्रति माया गर्नेहरुलाई यो एक उत्कृष्ट कार्यक्रम रहने भन्दै आयोजकले कार्यक्रममा सहभागी हुनका लागि आग्रह समेत गरेका छन् ।