• फाल्गुन २३ २०८२, शनिबार

पढ्दै, कमाउँदै : हिमाल कलेजले सुरु गर्‍यो व्यवहारिक कृषि र व्यवसायिक अभियान

असार ६ २०८२, शुक्रबार

पोखरा, असार ५ । पढाइ मात्र हैन, सिकाइ र कमाइलाई पनिसँगै अघि बढाउनु पर्ने अवधारणालाई व्यवहारमा उतार्दै हिमाल कलेज अफ म्यानेजमेन्ट तथाडाइनामिक एकेडेमीले यस वर्षदेखि ‘हेरौं, सिकौं र कमाऔं’ भन्ने मूल नारासहित विद्यालय तहमै व्यावहारिक तथा व्यवसायिक शिक्षाको अभियान सुरु गरेको छ ।

यस अभियान अन्तर्गत कक्षा ११ देखि नै विद्यार्थीहरूलाई कृषि तथा साना व्यवसायसँग सम्बन्धित स्वलगानीमा आधारित प्रोजेक्टहरू सञ्चालन गराइँदैछ । विद्यार्थीले तीन महिनादेखि एक वर्षसम्म प्रतिफल दिने योजनामार्फत् बासमति खेती, औषधीय वनस्पति उत्पादन, अर्गानिक मल निर्माण, बिरुवा संरक्षण र फलफूल व्यवस्थापन जस्ता विभिन्न तालिम तथा व्यवहारिक ज्ञान लिइरहेका छन् ।

कृषिविज्ञ डा.विश्वास सुवेदीको प्राविधिक सुपरिवेक्षणमा सञ्चालन भएको यस कार्यक्रमले विद्यार्थीहरूलाई श्रम, लगानी, उत्पादन, बजार अनुसन्धान (मार्केट रिसर्च), मार्केटिङ आदिका कुराहरूमा दक्ष बनाउन मद्दत गरेको छ । विद्यालय निर्देशक कृष्ण गुरुङ भन्छन्, ‘पुस्तकमा सिमित नभई व्यवहारमा आधारित ज्ञान नै विद्यार्थीको भविष्य बनाउँछ भन्ने मान्यताले हामीले यस अभियानको थालनी गरेका हौं ।’

स्कुल इन्चार्ज एलिना पराजुलीले थपिन्, ‘हामी विद्यार्थीहरूलाई सानो उमेरदेखि नै लगानी र आत्मनिर्भरता सिकाउने प्रयासमा छौं । १२ कक्षा सकिएपछि उनीहरू रोजगारका लागि मात्र होइन, आफै सानो व्यवसाय सञ्चालन गर्न सक्ने योग्य बनिसकेका हुन्छन् ।’
विद्यालय अनुशासन इन्चार्ज सुरेश लामाले यस कार्यक्रमबाट विद्यार्थीमा आएको परिवर्तन देखेर आफू उत्साहित भएको बताए ।
कार्यक्रमका बारेमा कलेज अध्यक्ष चेतनाथ भण्डारी भन्छन्, ‘यो एक नयाँ पुस्तालाई आत्मनिर्भर र व्यवहारिक बनाउने अभियान हो । यसबाट विद्यार्थीको आत्मविश्वास, कार्यकुशलता र नेतृत्व क्षमता अभिवृद्धि भएको छ ।’

यसैबीच स्नातक तहमा पनि यसै किसिमका कार्यक्रमहरू सन्चालित छन् । बीबीएस तहमा Banking Training, Industrial Field Visit लगायतका कार्यक्रमहरू समावेश गरिएको छ । यसले गर्दा  TU अन्तर्गतको परीक्षामा हिमाल कलेजले दुईपटकसम्म देशकै उत्कृष्ट नतिजा ल्याउन सफल भएको हो । यस कुराको जानकारी वरिष्ठ प्रशासनिक अधिकारी विनोद गिरीले टेलिफोन मार्फत् बताए ।

हिमाल कलेजको यो कार्यक्रमले विद्यालय र कलेज तहमा व्यवहारिक शिक्षा आवश्यक छ भन्ने सन्देश दिएको छ । अन्य विद्यालय तथा कलेजहरूले पनि यस्तो नमूना कार्यक्रम अवलम्बन गर्नुपर्ने आवश्यकता देखिएको छ ।