काठमाडौं । मगर आदिवासी प्राज्ञिक प्रतिष्ठानको आयोजना र आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको प्रायोजनमा विश्वविद्यालयमा मगर अध्ययन र विद्यालय तहमा स्थानीय पाठ्यक्रम अन्तर्गत मगर भाषा (मगर खाम र मगर ढुट) मा पाठ्यक्रम र पाठ्यपुस्तक निर्माण, कार्यान्वयन र पठनपाठन सम्बन्धि प्राज्ञिक गोष्ठी–२०८२ नेपाल प्रज्ञा प्रतिष्ठानको पारिजात कक्षमा सम्पन्न भएको छ ।
कार्यक्रममा बहुभाषिक शिक्षा सम्बन्धि भाषाविद अमृत योन्जन, मगर भाषाको पाठ्यक्रम निर्माण र मगर ढुटको पाठ्यपुस्तक निर्माण सम्बन्धी डा.बिष्णुकुमार सिन्जालीमगर र मगर खामको पाठ्यपुस्तक निर्माण सम्बन्धी बलबहादुर घर्तीमगरले कार्यपत्र प्रश्तुत गरेका थिए ।
यसैबीच सो समारोहमा मगर मातृभाषा (मगर खाम र मगर ढुट) मा पाठ्यक्रम र पाठ्यपुस्तक निर्माण गरी आफ्नो गाउँपालिकाभरि मगर भाषाबाट पठनपाठन गरेर मगर भाषा, संस्कृति र सभ्यताको विकासमा महत्वपूर्ण योगदान दिएको भन्दै रोल्पाको सुनछहरी गाउँपालिकाका अध्यक्ष धनबहादुर पुनमगर, बागलुङको निसिखोला गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्तीमगर, रोल्पाको माडी गाउँपालिकाका अध्यक्ष अमरसिंह घर्तीमगर, रोल्पाकै परिवर्तन गाउँपालिकाका अध्यक्ष सुकबहादुर बुढामगर, रोल्पाकै थबाङ गाउँपालिकाका अध्यक्ष ऋषिकेशव बुढामगर, पाल्पाको निस्दी गाउँपालिकाका अध्यक्ष मुक्तबहादुर सारुमगर र पाल्पाकै माथागढी गाउँपालिकाका अध्यक्ष यमबहादुर चिढिमगरलाई उच्च कदरसहित सम्मान गरिएको छ ।
कार्यक्रमको अध्यक्षता मगर आदिवासी प्राज्ञिक प्रतिष्ठानका अध्यक्ष डा.नरमाया थापामगरले गरेका थिइन् । त्यस्तै कार्यक्रमको सञ्चालन महासचिव डा.बिष्णु सिन्जालीमगरले गरेका थिए भने स्वागत मन्तत्व उपाध्यक्ष जीवनप्रवेश रोकामगरले राखेका थिए । कार्यक्रममा कार्यपत्र र त्यसमाथि उठेका विषयमा टिप्पणीकार प्रा.डा. चित्रबहादुर बुढाथोकीमगरले टिप्पणी गरेका थिए । यस कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैप्रति आयोजकले हार्दिक आभार प्रकट गरेको छ ।
कार्यक्रमा आज सम्मानित भएका सुनछहरी गाउँपालिका, रोल्पाका अध्यक्ष धनबहादुर पुनमगर र माथागढी गाउँपालिका पाल्पाका अध्यक्ष यमबहादुर चिढिमगरले मगर भाषाबाट पाठ्यक्रम र पाठ्यपुस्तक निर्माणको योजना र कार्यान्वयनमा रहेका जटिलताका बारेमा आफ्ना अनुभवहरु व्यक्त गरेका थिए । तस्वीरहरु : रोमन बुढामगर ।