लमजुङ । चर्चित फुटबलर सावित्रा भण्डारीको सम्मानमा मर्स्याङ्दी गाउँपालिका–९ सिम्पानी खुदीपुल नजिक ‘साम्बा’ चोक स्थापना गरिएको छ । मर्स्याङ्दी गाउँपालिका–९ पामचोकमा जन्मिएकी फुटबलर भण्डारीको सम्मानमा स्थापना गरिएको चोकमा साम्बाको स्क्याचुसहित स्तम्भ निर्माण गरिएको छ ।
सो स्तम्भको गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले उद्घटन गरे । उद्घाटन कार्यक्रममा प्रमुख जिल्ला अधिकारी माधव प्रसाद पोखरेल, गाउँपालिका उपाध्यक्ष जुनामाया थापा, जिल्ला प्रहरी कार्यालयका डिएसपी रमेश बोहोरा, सशस्त्र प्रहरी आश्रित गुल्मका डिएसपी दीपक पुरी, अनुसन्धान प्रमुख विष्णुहरि पण्डित लगायतको सहागिता थियो ।
प्रमुख जिल्ला अधिकारी पोखरेलले सावित्रा भण्डारी जस्ता खेलाडीहरूले राष्ट्रलाई खेलका माध्यमबाट विश्वसामु परिचित गराएको बताए । उनले राज्यले यस्ता खेलाडीलाई सदैव सम्मान गर्नुपर्ने बताए ।
अन्नपूर्ण पदमार्ग अन्तर्गत मनाङ जाने सडकमा अवस्थित मर्स्याङ्दीको चर्चित खुदीबजार पुलको चोकलाई ‘साम्बा चोक’ नामाकरण गर्दा उनको जन्मस्थानको पहिचान र प्रचारमा थप टेवा पुग्ने वडा नं. ९ का वडाध्यक्ष हरिश्चन्द्र थापाले बताए ।
हाल फ्रान्सेली लिग प्रिमियरको अँ आभोँ गेँगोँ नामक फुटबल क्लब र नेपाल महिला राष्ट्रिय फुटबल टोलीमा अग्रपङ्क्तिमा खेल्दै आएकी सावित्राले आफ्नो नाममा चोकको नामाकरण गरिएको र स्तम्भ राखिएकोमा खुसी व्यक्त गरिन् ।
स्तम्भ उद्घाटनका क्रममा साम्बाका बुवा थमबहादुर भण्डारी र आमा मुना भण्डारीलाई पनि सम्मान गरिएको थियो । छोरीको नाममा चोकको नामाकरण भएकोमा साम्बाका बुवा थमबहादुरले खुसी व्यक्त गरे ।