• जेष्ठ ३ २०८२, शुक्रबार

के पश्चिमा ‘राफेल युग’ को अन्त्य भएकै हो ?

जेष्ठ २ २०८२, बिहीबार

यतिबेला युद्धका बखत हवाइ आक्रमणमा ‘शेर’ मानिंदै आएको फ्रान्सेली राफेल जेटको विफलताको चर्चा शिखरमा छ । अप्रिल २२ मा जम्मुकाश्मिरको पहलगाममा दुई दर्जन बढी भारतीय तिर्थयात्रीमाथि गरिएको ‘आतङ्कवादी’ हमलापछि भारतले त्यसको दोष पाकिस्तानमाथि लगाएर केही दिन चलाएको मिलिटरी सर्जिकल अपरेशन र रिटालियशनका बखत भारतीय पक्षबाट प्रयोग गरिएको राफेल जेट पाकिस्तानले खसालेको थियो ।

चिनियाँ फाइटर जेट जे–१०सीको निशानामा परेर राफेल फाइटर जेट खसेपछि फ्रान्सेली पक्षले उक्त जहाज थप प्रयोग नगर्न भारतलाई सतर्क गराएको थियो । अहिले ३ वटाभन्दा बढी राफेल जेट भारतसँग छन् भनिएको छ ।

राफेल जेट आफैमा ‘मल्टिरोल फाइटर’ मानिन्छ । फ्रान्सको विश्व चर्चित ‘डासाल्ट उड्डयन’द्वारा निर्मित अत्याधुनिक फाइटर जेट राफेल अबका दिनमा ओझेल पर्ने कुरा निस्चित हुँदै गएको छ । जमाना र दमदमी एउटै कुराका सधैंभरि रहँदैनन् । चुरीफुरी सबैको सधैभरि टिक्दैन पनि सक्दैन । सबैका दिन आउँछन् र जान्छन् पनि । यो राफेल फाइटरको कुरामा अपवादका रूपमा मात्र लागु हुने कुरा होइन । बरू ध्रुवसत्य हो ।

सन् १९७० को दशकपछि विश्वमा कम्युनिष्ट समाजवादी शासनको अन्त्य हुँदै र पुँजीवादी साम्राज्यको पुनः दबदबा कायम हुँदै जाँदाको बखतमा फ्रान्सेली सेनाले हवाइ मोर्चामा आधुनिकता ल्याउने विचार अघि सारेको थियो । यसका मुख्य दुई उद्देश्य थिए : एउटा, हवाइ उड्डयनमा श्रेष्ठता कायम गर्नु र दोस्रो, हतियार व्यापारबाट मनग्यै मुनाफा कमाउनु । यसका लागि फ्रान्सले आफ्ना छिमेकीहरूसँग कुराकानी गरी साझा सहमति बनाउन पहल गर्यो ।

यसले बेलायत, जर्मनी, इटालीसँग मिलेर ‘युरोपियन फाइटर जेट’ बनाउने बाटो अघि सार्यो । अनेकन भूमिका निर्वाह गर्नसक्ने ‘युरो फाइटर टाइफुन’ निर्माण प्रक्रिया अघि बढाउने प्रस्ताव भयो पनि । तर ‘तु शेर तो मै सवा सेर’ भन्ने समस्याले छाडेन । बेलायत, इटाली, जर्मन र फ्रान्सका बिचमा यो जहाजको स्वामित्व, निर्माण कार्य र मुनाफा बाँडफाँड तथा यसको प्रयोग र आवश्यकताको विषयलाई लिएर विवाद चुलियो । यसले यी देशका बिचमा फाइटर जेट निर्माणको मामलामा अविश्वास बढायो ।

त्यसपछि फ्रान्स एक्लैले यस्तो जहाज निर्माणका लागि विभिन्न उड्डयन कम्पनीलाई ठेक्काका लागि बोलायो । धेरै कम्पनीले यसमा चासो पनि देखाए । अन्त्यमा, फ्रान्सेली रक्षा कम्पनीमध्ये डासाल्ट छनौट भयो । सन् १९८६ मा आठ वर्षको अनुभव हेरेर डासाल्ट कम्पनीलाई राफेल फाइटर जेट प्रोजेक्ट स्वीकृति दिइयो ।

अब फ्रान्स एक्लैले यो फाइटर जेट निर्माण गर्ने भयो । निर्माणमा सफलता हासिल पनि भयो । पछि त राफेल एक नम्बरको युरोपीय फाइटरका रूपमा स्थापित भयो । र, यसको दबदबा रहँदै आयो । विश्वमा राफेल जेटको महङ्गो व्यापार सुरू भयो । यसको शेयर बजार पनि बढ्दै गयो । चुलिँदै गयो ।

विश्वले अब जमिन, समुद्र र आकाशमध्ये आकाशलाई प्राथमिकता दिन थाल्यो । अमेरिकाले कहिले ‘स्टार वार’ त कहिले ‘स्पेस वार’ मा आएर देखाउन विश्वका अन्य देशहरूलाई चुनौति दिँदै गयो । यति नै बेला आणविक अस्त्र निर्माणले पनि प्राथमिकता पाउँदै गए । देश आणविक अस्त्र सम्पन्न भएपछि बलियो मानिन थाले । हतियार व्यापारले विश्वमा अति मुनाफामुलक व्यापारको स्थान लिन पुग्यो ।

आणविक अस्त्र सम्पन्न तथा हतियार उत्पादक देशहरूले विश्वमा खुल्लमखुल्ला हतियार बेच्न र किन्न थाले । कम विकसित र क्षेत्रीय शक्तिका रूपमा उदाइरहेका देशहरूले सम्पन्न देशका आधुनिक हतियार किनेर छिमेकी देशहरूमाझ शान देखाउन र धाक जमाउन थाले । यति मात्र होइन, ‘मसँग आधुनिक हतियार छ’ भनेर तर्साएर राज गर्ने पनि गरिराखे ।

दक्षिण एशियाको क्षेत्रीय शक्ति भारतले पनि हवाइ श्रेष्ठता कायम राख्न सन् २०११ मा राफेल जेट प्रविधि भित्र्याउने मनसुवा देखायो । फलस्वरुप सन् २०१६ मा भारत र फ्रान्सका बीचमा एक सम्झौता भई प्रतिगोटा मूल्य रू. सात हजार आठसय करोड डलरमा राफेल खरिद गर्ने निर्णय भयो । यी लडाकु जहाज ३६ वटासम्म भारतमा ल्याउने थप कुरा भएपछि प्रत्येक राफेल फाइटरको मूल्य समायोजन गरी प्रतिगोटा पाँच हजार पाँच सय करोड डलरमा खरिद गरिँदै भारतमा ल्याइएको छ ।
डबल इन्जिन रहेको राफेलको यति महङ्गो आयात विशेष गरी एफ–१६ एस नामक पाकिस्तानी फाइटर जेटलाई नाकाम बनाउनका लागि गरिएको हो । पाँचवटा यस्ता राफेल फाइटर सन् २०२० भित्रै भारत ल्याइसकिएका छन् । सम्झौता अनुसार ३० भन्दा बढी अर्डरमा देखिन्छन् ।

तर भारतका लागि दुर्भाग्यको कुरा के भयो भने यो राफेल फाइटर जेट पहलगाममा घटेको अप्रिल २२ को आतङ्ककारी हमलापछि त्यसको सम्पूर्ण दोष पाकिस्तान माथि लगाएर मिलिटरी सर्जिकल अपरेशन गर्दा चीनबाट खरिद गरेर पाकिस्तानले ल्याएको ‘जे–१० सी’ले खसालिदियो ।

यसपछि फ्रान्स र भारतका बिचमा पनि नजानिदो तनाव उत्पन्न हुन गएको छ । किनकि भारत एउटा राफेल जेट खसे पनि आफूसँग रहेका अरू राफेल जेट उक्त कारवाहीमा प्रयोग गर्न चाहिरहेको थियो । तर फ्रान्सले उक्त राफेल जहाजहरू प्रयोग नगर्न सल्लाहसहित दबाब दियो । उसले भारतले राफेल उडान भर्न नजानेको आरोपसमेत लगायो ।

यो भारतका लागि उसको भारत–पाक सम्बन्धको इतिहासमा अभूतपूर्व महङ्गो सााबित हुन गयो । चिनियाँ जे–१० सीले राफेल खसालेपछि यो भारतका लागि निकै सोचनीय विषय त बनिरहेको थियो नै । त्यो भन्दा बढी शीत युद्ध समाप्तिको समयदेखि हालसम्म विश्व आकाशमा दमदमी मच्चाउँदै आएको राफेल युगको अन्त्यको बहस पनि चुलिएर गयो । यो फ्रान्सका लागि लज्जा र हारको विषय बन्यो ।

उता यो घटनाले दक्षिण एशियाको मामलामा भारतको बर्चश्व गुमेको महसुस गरायो भने र दिल्लीको साखमा कमि हुँदै गएको बोध पनि गरायो । भारत–पाक वार्ता र भारत–पाक सम्बन्धमा तेस्रो पक्षको हस्तक्षेपकारी प्रवेश पनि साथसाथै निम्त्यायो । वैश्विक आँखाबाट हेर्दा फ्रान्सेली प्रविधिमाथि चिनियाँ प्रविधिले प्रभुत्व कायम गर्न सफल भएको पनि देखायो । यो लुकाएर लुक्ने कुरा पनि थिएन ।

विश्व हतियार व्यापारका हिसाबले पनि यो घटना एक नयाँ आयाम लिएर अघि बढ्दै जाने देखिन गयो । किनकि भारतले किनेको राफेल ५ हजार ५ सय करोड मूल्यको थियो भने पाकिस्तानले किनेको चिनियाँ साइलेन्सर जे–१० सी केवल २ सय ५० करोड मूल्यको थियो । पाकिस्तानमा राफेल खसालिएपछि फ्रान्सेली हतियार बजारमा शेयर गिर्दो अवस्थामा छ । उता चिनियाँ जे–१० सीको भने चर्चा चुलिँदै गइरहेको छ ।

काश्मिरको पहलगाम घटना र रातारात भएको भारत–पाक मिलिटरी सर्जिकल अट्याक र रिटालियसन सँगै नसोचिएको समयभित्रै सिर्जित शान्ति वार्ता र युद्ध बिरामले अबका दिनमा राफेल युगको अन्त्य भएको त होइन भन्ने प्रश्न जनस्तरसम्म उब्जाएको छ ।