राजा गुणकामदेवलाई महालक्ष्मीले दर्शन दिई राज्यलाई शत्रुको भयबाट बचाउन हल्चोकमा श्री आकाश भैरव सहित विभिन्न देवदेवीहरू स्थापना गरी तान्त्रिक विधिबाट पूजा गर्नु भन्ने उपदेश दिनुभयो । सो उपदेशलाई शिरोपर गरी राजा गुणकामदेवले नेपाल सम्बत् १०७ तिर आकाश भैरवको स्थापना गरी जात्रा चलाएको हो भन्ने वंशावलीमा रहेको जनविश्वास रहेको छ।
राजा गुणकामदेवले आफ्नो राज्य रक्षार्थ राज्यको चारैतिर अष्टमातृकाहरू स्थापना गरी चारैतिर भैरवहरूको पनि स्थापना गरे भन्ने किम्बदन्ती रहेको छ । पछि राजा अमर मल्लले बाह्र बर्षको एकपटक जात्रा चलाएको भन्ने पनि कथन रहेको छ।
हल्चोक आकाश भैरवको नाच वास्तवमा तान्त्रिक परम्परा, सांस्कृतिक आस्था र जात्रा परम्पराबाट निर्देशित देखिन्छ। यी नाँचहरू १२ बर्षमा एकपटक तथा विशेष पर्वहरूमा पनि नाचिन्छ। नाचहरूमा मुकुण्डो लगाएर, परम्परागत बाजाहरू र पोशाक लगाएर तान्त्रिक पद्धतिबाट नाच्ने गरिन्छ ।
नाचमा प्रयोग गर्ने मुकुट नेवार समुदायको पूँ जातिले बनाउने गर्दछन् । यो बनाउँदा गुप्त-तान्त्रिक परम्परा अनुसार शुद्ध र पवित्र स्थानको माटो मन्त्र उच्चारण तथा पूजापाठ गरी संकलन गरिन्छ। काठ, बाँस, कपडा र गहुँको पिठो मिसाएर नेपाली कागज बनाउने लोक्ता मिसाइ तहतह पारी आकार दिइन्छ । त्यसमा प्राकृतिक रंग, सुनचाँदीको पाउडर प्रयोग गरी नेपाली शैलीमा निर्माण गरिन्छ । देवदेवीले समात्न खड्ग, त्रिशुल, धनुषकाँड आदि निर्माण गरिन्छ। तयार भएपछि पूजारीहारुद्वारा मन्त्र उच्चारण गरेर प्रत्येक मुकुण्डोमा “प्राण प्रतिष्ठा गरिन्छ।
यो नाच नेवार समुदायको पुतुवार जातिले देखाउँदै आइरहेको छ। बाह्र वर्षको एक पटक देखाउने हल्चोक आकाश भैरव नाचमा दशजना देवताहरू रहेका हुन्छन्, जस अन्तरगत हल्चोक आकाश भैरव, चण्डी, कुमारी, पार्वती, गंगा, महादेव, बाराही, आकाशदेवी, दक्षिणकाली र महाकाली गरी दश जना रहेका हुन्छन्। स्थानीय नेवार समुदायले हल्चोक आकाश भैरवलाई सव द्यः अथवा सवः भकु द्यो पनि भन्ने गरेका छन् । ईन्द्रजात्राको बेलामा आकाश भैरव, चण्डी र कुमारी गरी तीन जनाको नाच प्रर्दशन हुन्छ ।
वास्तवमा भैरवलाई महादेवको प्रतीकको रुपमा लिने गरिन्छ। तर हल्चोक भैरवलाई वायुतत्वको रूपमा लिने गरिन्छ। काठमाडौंका नेवार समुदायहरूलाई कुनै वायु सम्बन्धी रोग लागेमा हल्चोक भैरव स्वयम्भू हल्चोकमा गई पूजाआजा गर्ने गर्ने गर्छ्न ।
आकाश भैरव जो प्रमुख देवता हुन l यी वायुको तत्वको प्रतीक, निलो रंग र त्रिनेत्र भएको हुन्छन । चण्डी देवता रातो रंग, द्विनेत्र, शक्तिको प्रतीक र भैरवका साथ साथमा पूजा गरिन्छ। कुमारी रातो रङ्ग द्विनेत्र जीवित देवीको प्रतीक, जात्राको समयमा विशेष पूजा गरिन्छ। गंगा सेतो रङ्गा, त्रिनेत्र, शाकाहारी देवताको रूपमा लिने गरिन्छ। महादेव सेतो रङ्गा, त्रिनेत्र, त्रिशुलधारी शाकाहारी देवताको रूपमा लिइन्छ ।
पार्वती हरियो रङ, त्रिनेत्र , शाकाहारी देवीको रूपमा लिइन्छ । आकाशदेवी हरियो रङ , त्रिनेत्र, धनुषवाणधारी आकाश भैरवसँग सम्बधित देवीको रूपमा लिईन्छ । बाराही रातो रङ, त्रिनेत्र, शाकाहारी देवीको रूपमा लिईन्छ । महाकाली नीलो रङ्ग त्रिनेत्र, तरबारधारी, शक्तिको प्रतिकरूपमा लिइन्छ त्यसैगरी दक्षिणकाली रातो रंग, त्रिनेत्र, तरबार धारी शक्तिको प्रतीकको रूपमा लिइन्छ ।
हल्चोक आकाश भैरव उपत्यकाको सांस्कृतिक र धार्मिक जीवनको अभिन्न हिस्सा हो। हरेक बर्ष इन्द्र जात्रामा हल्चोक भैरव प्रमुख देवताको रूपमा सहभागि हुन्छन् भने बाह्र वर्षको एक पटक देखाउने नाँचमा आकाश भैरवी प्रमुख देवीको रूपमा सहभागिता जनाउँछन ।
बाह्र वर्षको एक पटक बैशाख महिनाभर यो नाच पर्व मनाइन्छ। यो जात्रा वैशाक १ गते हल्चोकबाट सुरु भई काठमाडौंका विभिन्न स्थानमा नाच प्रदर्शन गर्दै बैशाख अन्तिम दिन पुन हल्चोका फर्किन्छ।
हरेक नाचहरू देवी-देवतासँगको वार्तालाप भएको मानिन्छ । यस नाचले शक्तिको जागरण, समाजमा सन्तुलन, आफ्ना पितृदेवता र परम्परा प्रतिको सम्मान पनि जनाउँदछ। यो नाच सांस्कृतिक, तान्त्रिक र धार्मिक दृष्टिले अति नै पवित्र मानिन्छन्। त्यसैले सार्वजनिक प्रदर्शन गर्दा भजन -जना अत्यन्त शालीन र अनुशासित रुपमा हेर्ने गरिन्छ ।