• जेष्ठ २ २०८२, बिहीबार

भारत–पाकिस्तान युद्धका कारण र परिणाम !

बैशाख २१ २०८२, आईतवार

छिमेकी नै दुश्मन बनेपछि समाजमा जिउन निकै मुश्किल पर्छ । भारत र पाकिस्तान बीच आज यस्तै भएको छ । आज भारत र पाकिस्तान भीषण लडाइँको अवस्थाबाट गुज्रिरहेका छन् । पछिल्लो पटक भारत शासित जम्मुकाश्मीरमा १ नेपालीसहित २६ जना पर्यटकहरु आक्रमणकारीहरुबाट मारिएपछि भारत र पाकिस्तान बीच गोली हानाहानको अवस्था आएको छ ।

भारतले पाकिस्तानले संरक्षण गरेका आतंककारीले ती पर्यटकहरुको हत्या गरेको आरोप लगाएको भने पाकिस्तानले सो आरोपको सिधै खण्डन गरेको छ र घटनाको अन्तराष्ट्रिय स्तरको छानबिन हुनुपर्ने माग गरिरहेको छ । विवादका बीच यी दुई देश बीचमा सिन्धु जलसम्झौता रद्ध भएको छ भने हवाइ मार्ग बन्द गरिएका छन् । युद्धको अन्तिम घडीमा बन्दुकको ट्रिगर दबाउन मात्र बाँकी रहेको अवस्थामा यी दुई देशहरु एकले अर्कोलाई निसाना साँधिरहेका छन् ।

हुन त भारत र पाकिस्तान बीचको विवादको इतिहास निकै लामो छ । आजको घटनालाई हिजोको इतिहाससित जोडेर हेर्ने गरिन्छ । त्यसरी इतिहाससँगै वर्तमानलाई जोडेर घटनाको विश्लेषण गरिएन भने या इतिहासमाथि अन्याय हुनजान्छ या त वर्तमानमाथिको सत्य उजागर हुन सक्दैन । तसर्थ वर्तमानको सत्यमाथि न्याय गर्न सकिएन भने भावी पुस्तालाई सत्य–तथ्य हस्तान्तरण गर्न सकिन्न । सत्य पत्ता लगाउने तथ्य भावी पुस्तालाई दिन सकिएन भने असत्यले निम्त्याउने हिंसाले भोलिसम्म पनि पिरोलिरहन्छ । हो, आजको भारत र पाकिस्तान बीचको लडाइँ पनि तिनै इतिहासका कडीहरुसित जोडिएका घटना, कारण र परिणामहरु हुन् ।

आज हामी यिनै विषयमा जानकारी दिने कोसिस गर्दैछौं । भारत र पाकिस्तानबीच भएका युद्धहरूका कारण र परिणामका नागबेली प्रश्न र तिनका उत्तरहरुको खोजी गर्नेछौं । भारत र पाकिस्तान जन्मजात शत्रु देशहरु हुन् । किन कि यी दुई देश आपसमा लडेर बनेका देशहरु हुन् । लडाइँ सम्झौतामा टुंगियो तर पनि सीमाना र जमिनमाथिको सार्वभौमिकता आजसम्मका विवादका कारणहरु बनिरहेका छन् ।

लगभग २ सय वर्ष चलेको बेलायती शासनका शासकहरु दक्षिण एसियाबाट भाग्दैगर्दा भारत, पाकिस्तान र बंगलादेशको जन्म भएको हो । भारत र पाकिस्तान सन् १९४७ मा ब्रिटिश शासनबाट स्वतन्त्र भएपछि छुट्टिएका थिए । तर विभाजनको बेला कश्मीर राज्य भारत वा पाकिस्तान मध्ये कुन देशमा समाहित हुने विषय विवादको कारण बन्यो । हो यही जम्मुकाश्मीर विवाद नै आजको लडाइँको मुख्य कारण हो ।

जम्मू–कश्मीरका राजा हरि सिंहले काश्मीरलाई भारतमा विलय गर्ने निर्णय गरेपछि पाकिस्तानले त्यसलाई अस्वीकार गरेको थियो । पाकिस्तान र काश्मीरका जनताका बीचमा भाषा, धर्म, संस्कृतिर भूगोल लगायतका विषयमा एकरुपता भएकोले काश्मीर पाकिस्तानमा मिल्नुपर्ने धारणा पाकिस्तानी नेताहरु राख्दथे । यही विषयलाई लिएर सन् १९४७–४८ मा पहिलो पटक भारत र पाकिस्तान बीचयुद्ध भयो र काश्मीरलाई भागबण्डा गरियो । तर पनि विवादको जरो रहिरह्यो । पूरै काश्मीरलाई अझै पनि भारत र पाकिस्तानले आफ्नो ठान्दछन् । तर सयुंक्त राष्ट्र संघको मध्यस्थतामा लडाइँ टुंगिए पछि भारतलाई जम्मू–कश्मीर र लद्दाख हात पर्यो भने पाकिस्तानलाई गिलगिट–बाल्टिस्तान र पाकिस्तानको नियन्त्रणमा रहेको कश्मीर हात पर्यो ।

पाकिस्तान मुस्लिम बहुल देश हो । भारत भने धर्मनिरपेक्ष राष्ट्र हो तर हिन्दूहरुको बाहुल्यता छ, भनिन्छ । धर्म र संस्कृतिको भिन्नताले पनि दुबै देशबीचको तनावलाई बढाएको छ । भारतमा मुस्लिमहरुको माथि दमन भइरहन्छ भने पाकिस्तानलाई पनि हिन्दूहरुलाई हेप्ने गरेको आरोप लागिरहन्छ । कहिलेकाहीँ पाकिस्तानमा आश्रय लिएर बसेका आक्रमणकारी समूहहरूले भारतमा आक्रमण गर्दा तनाव चुलिने गर्छ । ती समूहले काश्मीरलाई स्वतन्त्र देश बनाउने उद्धेश्यले काश्मीरमा रहेका भारतीय सैनिकमाथि हमला गर्ने गर्दछन् ।

सन् २००१ मा भारतीय संसदमा भएको आक्रमण, २००८ को मुम्बई आक्रमण र २०१६ उरी हमला आदि यसका उदाहरण हुन् । उता यी दुबै देश आणविक शक्ति सम्पन्न देश भएकोले पनि आपसमा प्रतिस्पर्धा र आशंकाको वातावरण कायम छ ।
हो, यदि अहिले भारत र पाकिस्तानबीच ठूलो स्तरको युद्ध हुने हो भने त्यो युद्ध केवल भारत र पाकिस्तान बीचको मात्र युद्ध हुनेछैन । त्यसमा विश्व राजनीतिको पनि गहिरो प्रभाव पर्नेछ ।

अहिले विश्वको कुनै एक सानो कुनामा हुने विवाद र युद्ध केवल त्यहीँको मात्र विषय बन्ने छैन । जो कोही पनि कुनै न कुनै विश्व महाशक्तिसितको सम्बन्ध र सम्पर्कमा रहेको आजको विश्वको अवस्थाले त्यस्तो अवस्था निम्त्याएको हो । किन कि आजको विश्व एक ध्रुवीय छैन । विश्व राजनीति बहुध्रुवमा विभाजन भइसकेकोले विश्वको एक कुनामा हुने सानो विवाद नै विश्व राजनीतिमा विष्फोटको विषय बन्नसक्छ । आजको भारत र पाकिस्तान बीचको विवाद पनि यसकै सिकार बन्न गएको छ ।

अर्कोतिर भारत र पाकिस्तान दुवै देश परमाणु हतियार सम्पन्न देश भएकोले पनि यी दुई देश बीचको युद्धले केवल क्षेत्रीय मात्र होइन, बरु विश्वव्यापी संकट निम्त्याउन सक्छ । यस्तो अवस्थामा संयुक्त राष्ट्रसंघ, अमेरिका, चीन, र रूस जस्ता शक्तिशाली राष्ट्रहरूले तुरुन्त हस्तक्षेप गर्न सक्छन् । यता भारत अहिले अमेरिका, जापान, अष्ट्रेलिया मिलेर बानाइएको क्वाड गठबन्धनमा जोडिएको छ ।

क्वाड चीनलाई घेराबन्दीमा राख्न अमेरिकाको पहलमा बनाइएको संगठन हो । सीमाना, आर्थिक र साँस्कृतिक रुपमा समेत पाकिस्तान चीनसँग नजिक छ । चीन र पाकिस्तान बीचको आर्थिक करिडोर निर्माण यसको पछिल्लो उदाहरण हो । त्यसैले काश्मीर विवादका कारणले हुने युद्धले पश्चिम र पूर्वबीचको तनाव पनि बढाउन सक्छ ।

भारत र पाकिस्तान ठूलो जनसंख्या भएका र उदीयमान अर्थतन्त्र भएका देश हुन् । यदि यी देशहरुबीच युद्ध भएमा तेलको मूल्य बढ्न सक्छ, स्मार्टफोन र सेमिकन्डक्टर आपूर्ति अवरुद्ध हुनसक्छ, बजारहरू अस्थिर हुन सक्छन् र विश्वको अर्थतन्त्रलाई असर गर्नसक्छ । भारत र पाकिस्तान बीच युद्ध भएमा शरणार्थी समस्या उत्पन्न हुनसक्छ । मानव अधिकार हनन हुनसक्छ र आतङ्कवादको जालो झन फैलन र बढ्न सक्छ । त्यसैले आजको समयमा भारत–पाक युद्ध केवल दुई देशबीचको संघर्ष हुँदैन बरु यो एक भूराजनीतिक संकट बन्नसक्छ ।