अप्रिल २२ मा जम्मु-कस्मिरको पहलगाम क्षेत्रमा २६ जना पर्यटकको ज्यान लिने गरी भएको त्रासदीपूर्ण आतङ्कवादी हमलापछि भारत र पाकिस्तान मिसाइलको मोहरामा आमानेसामने देखापरेका छन् । एक हप्ताको समय बितिसक्दा पनि समस्याको गाँठो फुक्ने भन्दा झन् झन् कसिंदै गएको देखिन्छ । दुवै छिमेकी देशले एकले अर्कोलाई हाँकको दिइरहेका छन् ।
यस घटनाले क्षेत्रीय शान्ति र सुरक्षामा गम्भीर प्रभाव पारिरहेको छ । दक्षिण एशियाका ठूला राष्ट्रबीच सिर्जित यस तनावले दुबै देशका सुरक्षा कारबाही क्रियाशील बनाएको छ । दुबै देशका सीमा क्षेत्रमा दुबै तर्फका सैन्य कारबाही लगातार अघि बढिरहेको छ । दुबै देशका सञ्चार माध्यमहरू एकअर्काका विरूद्धमा खुलेर लागिपरिरहेका छन् ।
भारतीय सुरक्षा निकायले पाकिस्तानमा रहेको लश्कर–ए–तैयबालाई उक्त घटनाको जिम्मेवार ठहर्याउँदै त्यो सङ्गठनका सीमा आसपासका सम्भावित ठेगानाहरूमा सैन्य कार्यवाही चलाइरहेको छ । उता पाकिस्तानको सीमामा भारतीय सेनाको घुसैठ रोक्ने निहुँमा पाकिस्तानले पनि भारतीय सुरक्षा कारवाहीविरूद्ध आफ्नो सैन्य प्रतिरोधी कारवाही जारी राखेको छ ।
पछिल्लो समयमा भारत–पाक सीमा क्षेत्रको वरिपरि पुगेको भारतीय जासुसी ड्रोनलाई पाकिस्तानी सुरक्षा फोर्सले खसालिदिएको छ । सीमा क्षेत्र निकै तनावग्रस्त छ । भारतीय सुरक्षाकर्मी एकअर्काविरूद्ध बदला लिने सुरमा देखिन्छन् । भारतले पाकिस्तानलाई ‘आतङ्कवादको पोषक’ भनी आरोप लगाइरहेको छ भने पाकिस्तानले आफू आतङ्कवादको पक्षमा कहिल्यै पनि नरहेको सफाइ दिइरहेको छ ।
दुवै देशमा रहेका कुटनीतिक नियोग हालसम्म यथावत् छन् । कसैले पनि अर्को देशका कुटनीतिज्ञ निस्काशन गरेका छैनन् । तर दवै देशका राजदूतहरूले एकअर्कालाई कडा शब्दमा निन्दा गर्न भने बाँकी राखेका छैनन् । अन्तर्राष्ट्रिय समुदायमा पनि पर्यटकमाथि गरिएको यो जघन्य हमलाप्रति तीब्र रोष प्रकट भइरहेको देखिन्छ । कतिपयले त संयुक्त राष्ट्रसङ्घलाई पाकिस्तान विरुद्ध कारबाही गर्न आग्रह गरिरहेका पनि छन् ।
भारतमा देशभर पाकिस्तान विरोधी प्रदर्शन हुँदै आएका छन् । सोसल मिडिया र कतिपय पाकिस्तानी च्यानलमाथि भारतमा रोक लगाइएको छ । पाकिस्तानी उच्च पदस्थ सरकारी अधिकारीका बैंक खातामाथि रोक लगाउने कार्य भारतले जारी राखेको छ । पाकिस्तानसँग गरिएका कतिपय सन्धीहरु खारेज भएको र अरू कतिपयमा पुनर्विचार भइरहेको खबर पाकिस्तान समक्ष जानकारी दिइरहेको छ ।
भारत–पाकिस्तान बीच राजनीतिक र कुटनीतिक वृत्तमा निकै तिक्तता छाएको छ । आतङ्कवादलाई प्रश्रय दिएको आरोप खेपिरहँदा पाकिस्तानले छिमेकी देश भारतलाई जम्मुकश्मीरमा ‘मानवअधिकार उल्लङ्घन’ गरिरहेको आरोप दोहर्याएको छ । यो बेलामा दुबै देशका सेनाले लडाइँ घोषणा गरिएको अवस्थामा झैं दुबै देशका सीमा ‘लाइन अफ कन्ट्रोल’ नजिक सेनाको सघन उपस्थिति गराएका छन् ।
अमेरिका–यूरोपले आतङ्कवादलाई निन्दा गर्दै दुबै देशलाई संयमित रहन आग्रह गरिरहेका छन् । छिमेकी देश चीनले तटस्थताको नीति अवलम्बन गरेर कुटनीतिक समाधान खोज्न शान्ति ल्याउन आह्वान गरेको छ । यस घटनाप्रति मध्यपूर्वले क्षेत्रीय अस्थिरता निम्तन सक्ने भन्दै चिन्ता जाहेर गरिरहेको छ ।
कुनै पनि घटनाको क्रियाप्रतिक्रिया स्वरूप आफ्ना राय प्रकट गर्ने क्रममा दिइएका प्रतिक्रियाले निर्माण गर्ने मत–विमतको विश्व्व्यापी प्रवृत्तिले लहरो तान्दा पहरो गर्जन सक्ने सम्भावनालाई कसैले पनि नकार्न सक्दैन ।
अहिले रूस–युक्रेन युद्ध जारी छ । इजरायल–प्यालेष्टिनी युद्ध जारी छ । युद्धका चालु यी स्वरूपहरू अहिले विश्वयुद्धको आँखाबाट हेर्दा ‘ब्याटल’ मात्र देखा परिरहेका छन्, ‘वार’ होइन । तर पनि विश्वकै ध्यान आकृष्ट गर्ने यस्ता प्रकृतिका ‘ब्याटल’ धेरै ठाउँमा लड्न थालिए भने सम्पूर्णतामा ती सबै तेस्रो विश्वयुद्धमा परिणत हुने संभावनालाई कसैले रोक्न सक्दैन । अमेरिकी राष्ट्रपति ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोदमिर जेलेन्स्कीलाई तेस्रो विश्व युद्धको ‘कार्ड’ नफ्याँक्न भनी यसको सङ्केत गरिसकेका छन् ।
महाशक्ति हुनु भनेको दादागिरि देखाउनु वा प्रभुत्व कायम गर्नु पनि हो । नत्र भने यो ‘शक्तिशाली’, ऊ ‘अति शक्तिशाली’ र त्यो ‘महाशक्तिशाली’ भनेर कसरी विविधिकरण हुनसक्छ र ? गोरू जुधाइमा साना बाच्छा जुधेर लडाइँ लडाइँ सिद्धिदैन । ठूला गोरू नजुधेसम्म लडाइँ बाँकी रहन्छ । अहिले क्षेत्रीय रूपमा ससाना ब्याटल लडिइनै रहेका छन् । अमेरिका र चीन जस्ता अतिमहाशक्ति तत्काल ‘महायुद्ध’ लड्न अनिच्छुक देखिएकाले तत्काल विश्वयुद्ध नहुनेमा मानिस आशावादी त देखिन्छन् तर ढुक्क भने हुन सकिरहेका छैनन् ।
अमेरिकाले इरानलाई जिस्क्याइरहेको छ । ‘आणविक सन्धी’ का लागि आह्वान गरिरहेको छ । इरानले यसलाई सुनेको नसुन्यै गरिरहेको छ । इजरायल भन्दा शक्तिशाली भएकाले इरानलाई इजरायलले हम्मेसी हेप्न र आक्रमण गर्न सक्दैन । त्यसैले अमेरिका आफै इरानसँग आणविक वार्ता गर्न र निहुँ खोज्न लागिपरिरहेको छ । अमेरिका स्वयम् युद्धमा मुछिन चाहन्न, तर एक्ल्याएर वा अलगावमा पारेर आफ्नो नजिकको शक्ति लगाएर आक्रमण गर्न र गराउन भने उद्दत नै देखिन्छ ।
यसको अर्थ हो, विश्वयुद्ध लड्नु पूर्व अमेरिका विश्वमा धेरै ‘ब्याटल’ लडेर मित्र राष्ट्रको पङ्क्ति बलियो बनाउँदै शक्ति सञ्चय गर्ने रणनीतिक अभियानमा छ । तर तत्काल कार्यनीतिक कदममा भने अमेरिका विश्वमा ससाना तर धेरै ब्याटल लड्न र लडाउन अमेरिका सधै तयार छ । यसबाट अमेरिकाले संसारभरका संभावित दुश्मन पङ्क्तिको शक्तिमा ह्रास ल्याउने र ब्याटलमा हतियार बेचेर पैसा कमाउने ध्याउन्नमा छ ।
चीन भने व्यापार बिस्तारमार्फत् विश्व कब्जाको अभियानमा छ । ऊ अहिले कुनै पनि हालतमा युद्धमा होमिन चाहन्न । कथंकदाचित युद्धमा होमियो भने हालको चीनले लिने गरिरहेको ‘डबल डिजिट’ को आर्थिक प्रगतिमा ठूलो धक्का लाग्ने देखिरहेको छ । विश्वका दुई महाशक्तिमध्ये अमेरिकाको विश्वयुद्ध नलड्ने तर ‘ब्याटल’ मात्र लड्ने र चीनको ‘ब्याटल’ पनि नलड्ने र व्यापार र आन्तरिक प्रगति अघि बढाउने रूझानले अहिलेको विश्व सापेक्ष ‘शक्ति सन्तुलन’ को अवस्थामा छ ।
यही बेलामा कश्मिरको पहलगाममा भएको पर्यटकमाथिको विभत्स हमलालाई लिएर भारतले सीमापार आतङ्कवाद नियन्त्रणको नाममा गरिरहेको ‘सर्जिकल स्ट्राइक’ र पाकिस्तानको भारतीय ‘सैन्य घुसपैठ’ को प्रतिरोध भारत–पाकबिच युद्धमा परिणत हुनसक्छ कि भनेर गम्भीर प्रश्न उठिरहेको छ । यसमा यी दुबै देशबीच दिन २ गुणा र रात चौगुणा बिग्रंदै गएको व्यापार, यातायात र कूटनीतिक सम्बन्धले नकारात्मक बल दिइरहेको छ ।
यो घटनासँगै अर्को कुरा पनि के आँकलन गर्न थालिएको छ भने भारतलाई अमेरिकाले साथ दिन्छ र पाकिस्तानलाई चीनले साथ दिन्छ । यो अर्थमा अमेरिका भारत अघि लगाएर पाकिस्तानमाथि हमला गर्न जाँदा चीनले पाकिस्तानमा गरेको आफ्नो लगानी बचाउन पाकिस्तानको साथमा उभिन सक्छ । यसले तेस्रो विश्व युद्ध निम्त्याउन सक्छ । यो अनुमान र आँकलन भित्र तेस्रो विश्वयुद्धको परिदृश्य परिकल्पना गरिए पनि यही घटनाले भारत–पाक युद्ध र तेस्रो विश्वयुद्ध निम्तने देखिंदैन ।
तर एउटा कुरा के सत्य हो भने भारत–पाक तनाव नियन्त्रण भन्दा बाहिर गयो भने यसले सानो तर पेचिलो सैन्य टकराव निम्त्याउन भने सक्छ । यी दुबै देशको राष्ट्रिय परिदृश्यमा भारत–पाक दुबैले ठूला युद्ध नगर्ने रणनीति अख्तियार गरेर आआफ्ना देशको विकास र सुदृढीकरणमा लागिपरेकाले पनि यो संभावना टरेको हो ।
दक्षिण एशियाको सन्दर्भमा विश्व परिदृश्य नियाल्ने भनेको महाशक्ति र अतिमहाशक्ति राष्ट्रले के गर्छन् र के गरिरहेका छन् भन्ने हो । यो बेलामा विश्वको अतिमहाशक्ति अमेरिका शक्ति सञ्चयमा लागिपरिरहेको छ । ‘मेक अमेरिका ग्रेट अगेन’ को नीति अन्तर्गत पदासिन राष्ट्रपति ट्रम्पले अघि सारेको ‘ट्यारिफ वार’ ले पनि यही कुरा देखाउँछ ।
तत्कालको कार्यनीतिक आँखाबाट हेर्दा यदि अमेरिका इजरायल–प्यालेस्टाइन युद्धमा नफसेको भए र इरानमाथि दाउ हेर्दै आफ्नो गोटी चाल्नु पर्ने अवस्थामा नपुगेको भए एशियामा युद्ध लड्ने रणनीति अनुसार अमेरिकाले भारत–पाक मामला निकै गरम मसलाका रूपमा लिएर अघि बढ्ने थियो । यो कुरा घाम जत्तिकै सत्य हो ।
यहाँनेर ख्याल गर्नुपर्ने अर्को कुरा के हो भने अमेरिकाले युरोपसहित मिलेर ‘नेटो’ अलायन्सबाट युक्रेनको तर्फबाट रसियासँग युद्ध लड्दा पनि सकारात्मक परिणाम हात पार्न नसकिरहेको साँचो हो । यद्यपि अमेरिका आफै अघि सरेर नेटोको अगुवाइ भने गरिरहेको छैन । तर युक्रेन युद्धमा अमेरिकी फौज र हतियार भने प्रयोग भइरहेका छन् । यसबाट पनि धेरै ठाउँमा युद्धमा हात हाले अमेरिकी मनशाय चाहेर पनि पूरा हुनसक्ने अवस्था छैन । उता रसिया आणविक शक्तिका हिसाबले अमेरिकालाई एकल टक्कर दिन सक्ने अवस्थामा पुगिसकेको छ ।
अर्को कुरा, यदि अमेरिका दोस्रो विश्व युद्धताका झैं एकल पारमाणविक शक्तिका रूपमा रहेको भए जहिलेसुकै जहाँ पनि लडाइँका घटना बग्रेल्ती हुनसक्थे । कश्मिरको पहलगाम क्षेत्रमा भएको विभत्स हत्याको एकहप्तासम्मको समयमा भीषण लडाइँ भइसकेको हुने थियो । यसमा थप कुरा, आणविक शक्ति सम्पन्नता बढी नै जोखिमपूर्ण र विनाशक हुने भएकाले पनि क्षेत्रीय युद्धहरू कम हुने गरेका छन् ।
हालको भारत–पाक तनावका पछाडि यिनै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शक्ति सन्तुलनले निर्णायक रूपमा काम गरिरहेका छन् । त्यसैले भारत–पाक युद्ध र यही युद्धका कारण एशियाबाटै तेस्रो विश्वयुद्ध हुने संभावना भने देखिंदैन ।