अहिले राजा (शक्तिशाली राजा वा संवैधानिक राजा !) पुनर्स्थापनाको बहस निकै चर्चामा छ । सडकमा पनि जनता देखिएका छन् । पूर्वराजाको सवारी र प्रस्थान तथा आमगनका क्रममा पनि राजाको समर्थन र पुनर्स्थापनाको पक्षमा नाराजुलुस हुने गरेका छन् ।
सडक प्रदर्शनले यसलाई बहसमा ल्याएको छ । यति मात्र होइन, संसद पनि राजाको विषयलाई लिएर तातेको छ । राजाको पक्ष र विपक्षमा तनाव सिर्जनासमेत हुने गरेको छ । यो भन्दा पहिले संसद राजाकै विषयलाई लिएर यति बिघ्न रूपमा तातेको थिएन ।
संसद र सडकमा राजाको विषयलाई लिएर यति ठूलो हङ्गामा, बहस र पैरवी हुन थालेपछि अब देशमा राजा पुनर्स्थापनाको संभावना के कति छ ? यो बहस र चर्चा चुलिँदै गएको छ । नेपालको भूराजनीतिक अवस्थितिका कारण राजा पुनस्थार्पना हुने र गराउने मूलतः दुई कुरामा निर्भर रहन्छ ।
पहिलो कुरा राष्ट्रिय परिस्थिति हो । त्यो भनेको देशमा रहेको राजनीतिक अन्तरविरोध र त्यसको हल कसरी हुन्छ भन्ने हो । यसका लागि देशमा शासन सम्हालिरहेका राजनीतिक दल र तिनका गतिविधि तथा जनतामा तिनको लोकप्रियताको कुरा हो ।
हाल राजनीतिक दल जनताबाट तिरस्कृत अवस्थामा छन् । यद्यपि राजीतिक दलको बहुमतको सरकार छ र प्रतिपक्ष पनि छ । राजा नागरिकको हैसियतमा छन् । तथापि पूर्व राजाको हैसियतले उनको घुमफिर र सवारीको हाउभाउमा निकै बृद्धि हुन गएको छ ।
देशमा रहेको राष्ट्रपतीय पद अहिले संवैधानिक छ । राष्ट्रपतिको स्थानमा संवैधानिक राजा रहँदा पनि देशीय शक्तिका बिचमा शक्ति सन्तुलन हुने भन्ने सोच र वैचारिक बहसले पनि राजा पुनर्स्थापनाको कुरामा अप्रत्यक्ष बल दिएको छ । यस कुरामा कसैको पनि विमति र असन्तुष्टि देखिएको छैन । संवैधानिक राष्ट्रपतिप्रति जनताको अपनत्व कम हुनुमा यसले ठूलो काम गरिरहेको छ ।
जनताले केही न केही रूपान्तरणको अपेक्षा गरिरहेका हुन्छन् । हरेक दशदश वर्षमा नेपालमा रूपान्तरणका आन्दोलन हुने गर्छन् । अबका दिनमा राजनीतिक दलले प्रगतिशील भूमिका पनि निर्वाह गर्न छाडिसकेकाले राजा पुनर्स्थापनाको कुरा मानौ प्रगतिशील कुरा नै हो जस्तोगरी जनताको बीचमा छाएको छ । जनअपेक्षा मुताविक काम गर्न नसक्दा राजनीतिक दलप्रतिको रोष राजाको समर्थनमा अभिव्यक्त हुन पुगेको छ ।
राष्ट्रिय राजनीतिक परिस्थिति राजनीतिक दलको काबुमा छैन । यद्यपि राजनीतिक दलले आफूलाई पाँच वर्षको जनादेश रहेको दाबा गरिरहेका भने छन् । पहलकदमी हातबाट गुमाउँदै गएका राजीतिक दल, सरकार र प्रधानमन्त्री समेतले के बोल्ने भन्ने कुराको हेक्का राख्नसमेत छाडिसकेका छन् । यो सरकारको ठूलो कमजोरी हो ।
सरकार र राजनीतिक दल अहिले ठूलो समस्यामा छन् । त्यो भनेको राजनीतिक दलका बीचमा शक्ति सन्तुलन वा ‘चेक एण्ड ब्यालेन्स’को अभाव छ । एकले अर्कोमाथि सत्तो सराप हाल्ने, धारे हात लगाउने र भ्रष्टाचारको आरोप प्रत्यारोप थोपर्ने गरिरहेका छन् । पूर्व गृहमन्त्री रवि लामिछानेमाथि गरिएको छानबिन र जरिवाना भन्दा ठूल्ठूला छानविन र जरिवानामा सत्तासिन तथा प्रतिपक्षीय राजनीतिक दलका नेतामाथि हुने अवस्था छ ।
यसले गर्दा यी राजनीतिक दलका नेताहरूलाई ‘अभयदान दिने’ संस्था वा ओहदा यिनै दलका नेताहरूका लागि पनि आवश्यक परिरहेको छ । यस्तोखाले अन्तरविरोधको समाधान दलका नेताका अमूक वाच्यमा राजा पुनर्स्थापनाको कुरा परिरहेको हुन पनि सक्छ । आइपर्दाका बखतमा राजनीतिक दलका नेताहरू ‘राजालाई दाम चढाउन’ जाने संभावनालाई पनि अस्वीकार गर्न सकिंदैन ।
ठीक यही बेलामा अन्तर्राष्ट्रिय परिस्थिति पनि राजनीतिक दलको प्रतिकुल बन्दै गएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले गरेको अन्तर्राष्ट्रिय सहयोग ‘फ्रड’ हो भनी अभिव्यक्ति दिएपछि यसले विश्वमा ठूलो तहल्का मच्चाएको छ । ट्रम्पले नेपालको नाम लिएर यो विषयलाई गिजोलेपछि राजनीतिक दल अहिले असामाञ्जस्यताको अवस्थामा छन् । आर्थिक सहयोग रोकिएको छ ।
यो अवस्थाले अन्तर्राष्ट्रिय परिस्थिति राजनीतिक दलविरूद्धमा गएजस्तो देखिदा राजनीतिक माहौल राजाको पक्षमा बनेझैं भान हुन गएको छ । अर्कोतिर दक्षिण एशियाली मामलामा भारतका प्रधानमन्त्री मोदीले लिएको निर्णयमा अमेरिकाले असन्तुष्टि जनाउने छैन भन्ने वचन ट्रम्पले दिएपछि सिंगो दक्षिण एशिया र नेपालको राजनीतिक मामलामा भारत हाबी हुन गएको देखा परिरहेको छ ।
यस्तो अवस्थामा भारतीय प्रधानमन्त्री मोदीको नेपालमा हिन्दु राज्य घोषणा र हिन्दु राजाको पुनर्स्थापनामा बल पुगेको देखिन्छ । यी सबै कुराले राजा पुनर्स्थापनाको वातावरण बलियो हुँदै गएको भान धेरैमा परिरहेको छ ।
समग्रमा राजा पुनर्स्थापनाका कुरामा बल दिने गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थिति एक समगै सङ्गमका रूपमा देखा पर्न थालेपछि राजनीतिक दल सतर्क हुनुपर्छ । उनीहरूले आफ्नो हातबाट राजनीतिक पहलकदमी गुम्न दिनु हुँदैन । जनप्रिय काम अघि बढाउने कि दाम चढाउने भन्नेमध्ये दुई विकल्प मात्र राजनीतिक दलको अघिल्तिर रहेको साचो यथार्थ हो ।