• फाल्गुन २८ २०८१, बुधबार

एनएसएल २०२५ : चार टिममा विदेशी प्रशिक्षक अनुबन्ध, नेपाली प्रशिक्षक तीनजना

फाल्गुन २७ २०८१, मंगलवार

२७ फागुन, काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) नेपालको एक मात्र फ्रेन्चाइज फुटबल प्रतियोगिता हो । सन् २०२१ मा सुरु भएको एनएसएलको तेस्रो संस्करण आउने चैत १६ गतेदेखि (मार्च २९) देखि सुरु हुँदैछ । तेस्रो सिजनका लागि मिनी अक्सन र ड्राफ्ट सम्पन्न भएपछि अहिले टोलीहरु विदेशी खेलाडी अनुबन्ध गर्ने क्रममा छन् । सबै टोलीले आफ्नो प्रशिक्षक पनि घोषणा गरिसकेका छन् ।

केही टिमले तयारी पनि थालिसकेका छन् भने केही टिम विदेशी खेलाडीहरु अनुबन्ध गरिरहेका छन् । केही टिमले अक्सनअघि नै प्रशिक्षक घोषणा गरिसकेपनि केही टिमले भने अक्सनपछि मुख्य प्रशिक्षकको नाम सार्वजनिक गरेका छन् । अक्सनपछि प्रशिक्षक सार्वजनिक गर्ने दुई टिम थिए काठमाडौं रेजर्स र धनगढी एफसी । दुवैले विदेशी प्रशिक्षक नै रोजे । त्यसमा पनि युइएफए प्रो लाइसेन्स भएका ।

नेपालको राष्ट्रिय टिमका लागि समेत प्रो लाइसेन्स प्राप्त प्रशिक्षक रोज्न हम्मे हम्मे परेको बेला एनएसएलका फ्रेन्चाइज टिमहरुले भने युइएफए प्रो लाइसेन्स भएका विदेशी प्रशिक्षक अनुबन्ध गरिरहेका छन् । सुरुमा साविक विजेता ललितपुर सिटी एफसीले विदेशी प्रशिक्षक अनुबन्ध गरेको घोषणा गरेको थियो । त्यसपछि बुटवल लुम्बिनी, काठमाडौं रेजर्स र धनगढी एफसीले पनि विदेशी नै अनुबन्ध गरे ।

ललितपुरले इन्डियन सुपर लिग (आईएसएल) मा समेत प्रशिक्षण सम्हालिसकेका अनुभवी इंग्लिस प्रशिक्षक साइमन ग्रेसलाई अनुबन्ध गरेको छ । यस्तै बुटवल लुम्बिनीले भुटानी क्लब पारो एफसीका मुख्य प्रशिक्षक रहिसकेका पुष्पलाल शर्मालाई अनुबन्ध गरेको छ । काठमाडौं रेजर्स र धनगढी एफसीले पनि यस पटक युरोपियन प्रशिक्षक नै रोजेका छन् । काठमाडौंले बेल्जियमका अनुभवी प्याट्रिक डे विल्डे र धनगढीले स्पेनका जुवान मानुएल मार्टिनेज सेजलाई प्रशिक्षकको भूमिकामा अनुबन्ध गरेको छ ।
विदेशी प्रशिक्षक बढ्दै
एनएसएलको पहिलो संस्करणमा ७ टिम सहभागी हुँदा एक टिमले मात्र विदेशी प्रशिक्षक अनुबन्ध गरेको थियो । विराटनगर सिटी एफसीले भारतको यान ल लाई अनुबन्ध गरेको थियो । दोस्रो संस्करणमा विराटनगर सिटीले खेलेन । तर तीन नयाँ टिम थपिएको थियो र ९ टिमले प्रतिस्पर्धा गर्दा तीन टिमले विदेशी प्रशिक्षक भित्र्याएको थियो ।

त्यस बेला नयाँ टोली झापा एफसीले स्पानिस कोच ओरिएल मोहेडानोलाई अनुबन्ध गरेको थियो । यस्तै ललितपुर सिटीले अष्ट्रेलियाका इयान आन्द्रे गिलियन र एफसी चितवनले भारतका मेहराजुद्दिन वाडुलाई अनुबन्ध गरेको थियो । इयान आन्दरे गिलियनले ललितपुरलाई दोस्रो संस्करणमा च्याम्पियन नै बनाए । विदेशी प्रशिक्षक ल्याएका झापा र चितवन भने प्लेअफमै पुग्न सकेनन् । अहिले तेस्रो संस्करणमा आइपुग्दा टिम संख्या घटेर फेरि ७ मै आएको छ भने विदेशी प्रशिक्षकको संख्या भने बढ्दैछ ।