• फाल्गुन २० २०८१, मंगलवार

युक्रेनमा शान्ति स्थापना गर्न बेलायतले अघि सार्यो चारबुँदे योजना

फाल्गुन १९ २०८१, सोमबार

किभ । बेलायतका प्रधानमन्त्री किअर स्टार्मरले रुस–युक्रेन युद्ध अन्त्य गर्न र युक्रेनलाई रुसी अतिक्रमणबाट जोगाउने भन्दै चारबुँदे योजना अघि सारेका छन् ।

‘हामी आज इतिहासको दोबाटोमा छौँ,’ युरोपका १८ देशका नेताहरू सहभागी सम्मेलनपछि स्टार्मरले भनेका छन् । उक्त सम्मेलनमा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की पनि सहभागी भएका थिए ।

सम्मेलनपछि युक्रेनले बलियो साथ पाएको महसुस गरेको र लामो समयदेखि नदेखिएको उच्च स्तरको युरोपेली एकता देखिएको जेलेन्स्कीले बताए ।

सम्मेलनपछि पत्रकार सम्मेलनमा बेलायतका प्रधानमन्त्री स्टार्मरले चारबुँदे सहमति भएको बताएका छन् ।
युक्रेनमा सैन्य सहायताको आपूर्ति जारी राख्ने र रुसमाथि आर्थिक दबाव कायमै राख्ने,
दिगो शान्ति कायम गर्दा युक्रेनको सार्वभौमसत्ता तथा सुरक्षा सुनिश्चित गर्ने र युक्रेनलाई सबै शान्ति वार्तामा उपस्थित गराउने,
शान्ति सम्झौता भएको अवस्थामा भविष्यमा युक्रेनमाथि हुनसक्ने कुनै पनि आक्रमणलाई रोक्न उसको रक्षा क्षमता बढाउने,
युक्रेनबारे सम्झौताको पक्ष लिन र त्यसपछि शान्तिको सुनिश्चितता गर्न ‘इच्छुकहरूको गठबन्धन’ विकास गर्न
स्टार्मरले थप १.६ अर्ब पाउन्ड सहयोगको घोषणा पनि गरेका छन् ।

बेलायतको निर्यातबाट आर्जित रकमबाट दिइने उक्त सहयोग युक्रेनले हवाई प्रतिरक्षा क्षेप्यास्त्र खरिदमा खर्च गर्ने छ । यो सहयोग यसअघि घोषणा गरिएको २.२६ अर्ब पाउन्ड स्टर्लिङको ऋण सहमतिभन्दा फरक हो । यसअघि स्टार्मरले रोक्का गरिएका रुसी सम्पत्तिको नाफाबाट युक्रेनी सैन्य सामग्रीका उक्त ऋण दिने घोषणा गरेका थिए ।