• फाल्गुन १९ २०८१, सोमबार

बुफोन भन्छन् : नेपालले विश्वकप फुटबल खेल्न धेरै मेहनत र लगानी चाहिन्छ ।

फाल्गुन १८ २०८१, आईतवार

फाल्गुन १८,काठमाडौँ । विश्व फुटबलका लिजेन्ड जियानलुगी बुफोनले नेपालले पनि विश्वकप फुटबल खेल्न सक्ने बताएका छन् । केपी ओली कपको फाइनल हेर्न आएका बुफोनले आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूसँगको कुराकानीमा मेहनत र लगानी भए नेपाल विश्वकप फुटबलमा पुग्न सक्ने बताएका हुन् । अन्तर्राष्ट्रिय व्यावसायिक फुटबलका लिजेन्ड बुफोनले भने,नेपाल पनि विश्वकप खेल्न सक्छ तर त्यसका लागि धेरै मेहनत र लगानी चाहिन्छ ।

त्यस्तै आफू कडा मेहनतकै कारण लामो समय फुटबलमा टिकेको पनि उनको भनाइ छ । उनले भने, मलाई सबैभन्दा मन पर्ने भनेकै फुटबल हो । त्यसैले यसमा रहनका लागि कडा मेहनत गरेँ । आइतबार नेपाल आएका उनी सोमबार केपी ओली कपको फाइनल हेर्नेछन् । उनले भने, फाइनलमा राम्रो म्याच हेर्न चाहन्छु ।केपी ओली कप फुटबलको फाइनलमा मच्छिन्द्र र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ । उनी मंगलबार फर्कने कार्यक्रम रहेको छ ।

उनी श्रीमती इलारिया डी अमिको र म्यानेजरसहित नेपाल आएका हुन् । संसारका महान गोलरक्षकमध्ये एक रहेका बुफोनले व्यावसायिक फुटबलमा ११ सयभन्दा बढी खेल खेलेका छन् । तीमध्ये सबैभन्दा बढी सिरी एु मै उनले आफ्नो उत्कृष्ट गोलकिपिङ प्रदर्शन गरेका छन् । सन् १९९५ मा उनले पार्माबाट सिरी ए डेब्यु गरेका थिए भने सिनियर करियरको अन्त्य पनि उनले पार्माबाटै गरेका छन् ।

सन् २०२१ देखि २०२३ सम्म ४३ म्याच खेले । क्लबतर्फ उनले ७५४ म्याच खेले । त्यस्तै अन्तर्राष्ट्रियतर्फ सन् १९९३ मा यू–१६ टिमबाट इटालीका लागि डेब्यु गरेका उनी २०१८ सम्म देशका लागि खेले । सन् १९९८, २००२, २००६, २०१० र २०१४ को विश्वकप प्रतियोगिताका इटालीका सदस्य थिए उनी । सन् १९९८ को विश्वकपमा भने उनी बेन्चमै थिए । सन् २००६ मा इटाली विश्वविजेता बन्दा बुफोनको उत्कृष्ट प्रदर्शन रहेको थियो ।