• फाल्गुन १० २०८१, शनिबार

सुर्खेत बजारमा रहेका रोगी गाईको सेवा गर्दै सामाजिक अभियन्ता बोहोरा

फाल्गुन ८ २०८१, बिहीबार

वीरेन्द्रनगर । कटकुवा गाई उपचार अभियान चलाउँदै आउनु भएको एकजना समाजसेवी र सामाजिक अभियन्ता नमराज बोहोरा (भेडा)ले सरुवा रोगसँगै १५ महिनासम्म सडकमा अनि दुई महिनादेखि कटकुवाबाट फरकखालको सरुवा रोग देखापरेका र छाडा छोडिएका दुईवटा गाईहरुको उपचारका लागि सुर्खेतको मंगलगढीचोक नजिकै तिर्पाल हालेर उपचार अभियान चलाइरहनु भएको छ ।

नेपालमा औषधि नपाएर भारतको उत्तर प्रदेशको बहराइच भन्ने ठाउँमा पुगेर धेरै पटक औषधि पनि ल्याउनु भयो । आफूसँग पैसा नहुँदा अरुसँग सहयोग मागेर ती गाईहरुलाई औषधि, घाँस, पराल दिइरहनु भएको छ तर यसबारेमा सरकारी निकायले भने वास्ता गरेको छैन ।

उत्तर प्रदेशकै बहराइच राजकीय पशु अस्पतालका वरिष्ठ डाक्टर हरिचरण भने यो रोगको बारेमा अलि बढी नै चासो दिएर भारतबाट सुर्खेत आउनु भयो । यस्तो रोग भारततिर पनि पहिला पहिला देखिएको उहाँले बताउनु भयो । तर नेपालका कोही पशु चिकित्सकहरुले भने खासै चासो दिनु भएको छैन । यसका बारेमा डाक्टर हरिचणले भन्नुभयो, ‘यसले पछि ठूलो रूप लिन पनि सक्छ’ । तर हामी नेपालीको बानी भने पहिला वास्ता नगर्ने अनि पछि पछुताउने छ । त्यसैले यसबाट नेपालीलाई हानी–नोक्सानी हुनसक्छ ।

सरकारले सरुवा रोग भएका गाई उपचार गर्न सडक छेउमा बस्दा उहाँलाई सुकुम्बासी नै सोचेछ । बोहोराले स्थानीय गाईहरुमा देखिएका सरुवा रोग बारे स्थानीय निकायले लापरवाही गरिरहेको र गैरजिम्मेवार बनेको भन्दै कृषि तथा सहकारी मन्त्रालय कर्णाली प्रदेशका मन्त्री विनोदकुमार शाहलाई ध्यानाकर्षण पनि गराउनु भएको छ ।

उता मंगलगढीचोक नजिक सडक छेउमा सरुवा रोग भएका गाईलाई ठाउँको व्यवस्था नगरेकोमा वीरेन्द्रनगर नगरपालिका, चाहिने औषधि उपलब्ध नगराएकोमा पशुपंक्षी विकास निर्देशनालय सुर्खेत, रोग परिक्षण बारे ठोष नतिजा दिन नसक्ने पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला, कर्णाली प्रदेश र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय कर्णाली प्रदेश, सुर्खेतलाई पनि उहँले जानकारी गराउनु भएको छ ।

नगरपालिकासँग ठाउँ छैन, भेटेरेनरी निर्देशनालयसँग औषधि छैन, पशुपंक्षी रोग अन्वेषण प्रयोगशालासँग रिपोर्ट छैन । यस्तो अवस्था नेपालका सरकरी निकायहरुको छ । उसो भए के सरुवा रोग हुनु के अपराध हो ? यस्को बारेमा चासो सरकारसँग हुनु पर्दैन ?

रोगी पशुहरुको स्यहार व्यक्तिले वा सामाजिक अभियन्ताले कहिलेसम्म गर्ने ? के यसका बारेमा काम गर्ने सम्बन्धित निकाय छैन ? के विरामी गाईहरुको उपचार नगरी यत्तिकै छाडा छोड्दा रोग सर्दैन ? धार्मिक भाषामा पनि गौमाताको उपचार नगर्नेलाई पाप लाग्छ भनिन्छ । के यतातिर राज्यमा बसेका मानिसहरुको सोंच आउँदैन ?

यसरी खुला रहेका गाईहरुमा रोग देखिएको र आफ्‌ना पशुहरुसित उनीहरुको लसपस हुने भएकोले गाईपालन गर्ने स्थानीय किसानहरु तर्सिएका छन् । कतै त्यो रोग उनीहरुको गाई फार्ममा आउने त होइन ?
यो रोग कस्तो होला, के होला भन्ने चासो र चिन्ता बरु किसान र सर्वसाधारणलाई छ, तर सरकारी निकायहरुलाई भने वास्ता नै छैन ।

यसरी रोगी भएका गाईहरुको उपचारको लागि केही सहयोगदाताले भने सहयोग गर्नु भएको छ । कसैले औषधि किन्ने पैसा इसेवामा हाल्दिनु हुन्छ, कसैले भने सकेको जति पराल सहायोग गर्नु भएको छ ।

यसरी सहयोग गर्ने सहयोगदाताहरुलाई बोहोराले धन्यवाद दिनुभएको छ । ‘म एक समाजिक अभियन्तालाई त यति गाह्रो भयो रोगी गाईको उपचार गर्न, सरकारी निकाय कसैले मतलव गरेन भने सर्वसाधारण र किसानको हालत के होला ।’ उहाँको भनाई रहेको छ ।

नेपालमा धेरै ठाउँमा गाई तथा पशुहरुमा यस्तै रोगले सताइरहेको छ । यसलाई कसरी निर्मुल गर्ने भन्ने चिन्तामा हुनुन्छ बोहोरा । तर यस अभियानमा बोहोरा एक्लैले मात्र गरेर सम्भव हुँदैन । यस महान कार्यमा उहाँलाई साथ दिने हजारौं हातहरुको पनि आवश्यकता पर्छ । यसमा राज्यको पहल, बजेट र पशु सुरक्षा कार्यक्रमको त आवश्यकता पर्छ नै ।