खस जातिको सम्बन्ध मष्ट परम्परासँग जोडिएको छ । मष्ट खस जातिका कुल देवता हुन् । यिनै मष्ट देवतालाई कसैकसैले इष्ट देवता पनि भन्ने गर्दछन् । यिनै कुल देवताको तीन वर्षमा एक पटक गरिने पूजालाई देवली भनिन्छ । देवलीलाई कुलपूजा पनि भन्ने चलन छ । देवलीको शब्दिक अर्थ शक्तिशाली देउताको बिवशेष पूजा भन्ने हुन्छ । अर्थात् देउ र वली शब्द मिलेर देउली वा देवली शब्द बनेको देखिन्छ । देउको अर्थ मष्ट र वलीको अर्थ शक्तिशाली भन्ने हुन्छ ।
अर्को शब्दमा वलीको अर्थ अर्पण गर्नु वा भोग दिनु भन्ने पनि हुन्छ । तिनै शक्तिशाली देउको पूजालाई मष्ट पूजा भन्ने गरिएको छ । मष्ट पूजाका नामहरु ठाउँ अनुसार फरक फरक रहेको देखिन्छ । कर्णाली (खसान क्षेत्र) मा मष्ट पूजालाई पैठ पनि भनिन्छ । सुदुरपश्चिम र भारतको उत्तराखण्ड र गढावालतिर मष्टको जाँत भनिन्छ भने मध्ये र पूर्वतिर देवली पूजा भन्ने गरिन्छ ।
मष्ट पूजाको नाम मात्र होइन मष्टको पूजा गर्ने विधि पनि फरक पाइन्छ । कतिपयले पितरो याने पित्रीलाई नै कुल देवता भन्ने गरेको पाइन्छ तर कुल देवता र पित्री फरक हुन् । कुल देवताको पूजा धामीद्धारा गरिन्छ भने पित्री पूजा छोराहरुले गर्ने गरिन्छ । पित्री पूजा सात्विक भोजनद्धारा गरिन्छ भने कुल अर्थात् मष्ट पूजामा रक्तभोग समेत चल्दछ । कुल देवता र पित्री पुजाको विधिविधान समेत फरक हुने भएकाले कुल देवता र पित्री देवता फरक हुन् ।
देवाताहरु बस्ने ठाउँलाई देवलोक भनिन्छ भने पित्रीहरुको आफ्नै छुट्टै लोक हुँदैन तर पित्रीहरु आफूले गरेको पुन्य कर्मको फलले देवलोकमा पनि उत्पन्न हुन सक्दछन् ।
मष्ट देवताको पूजा छ महिनामा एक चोटी, बर्षमा एक चोटी, दुई वर्षमा एक चोटी वा तीन वर्षमा एक पटक गर्ने गरिन्छ भने कतिपय मष्टको पूजा प्रत्यक पूर्णे र चतुर्दशीका दिन पनि गर्ने चलन छ । यसरी तीन वर्षमा एक पटक गरिने मष्ट पूजालाई देउली अर्थात् देवली भनिन्छ ।
मष्ट दुई थरिका छन् दुधे मष्ट र दाह्रे मष्ट अर्थात् सत्वगुणी मष्टो र रजोगुणी मष्टो, यही दाह्रे मष्टका केही मष्टहरुले तामसी वली पनि लिने गरेको पाइन्छ । बली भनेको पशुबलि वा पशु हत्या मात्र हैन, संस्कृतको ‘वल’ धातुमा ‘इन्’ प्रत्यय लागेर वली : शब्द व्युत्पन्न भएको भन्ने गरिन्छ । यसको अर्थ हो आहुति, भेटी, दान, उपहार, क, देवतालाई चढाएको खाद्यवस्तु आदि । यदि वली शब्दमा पशु उपसर्ग जोडेर आयो भने त्यसको अर्थ हुन्छ, पशु बध गरि माँस वा रगत चढाउनु । श्रमण संस्कृतिमा पशुबलि नहुने भएकाले नै जैन र बौद्ध धर्ममा पशुबलि हुँदैन ।
वैदिक सनातन, इश्लाम धर्ममा पशुबलिको विधान छ । आठौ शताब्दी पछि वैष्णवमार्गीहरुले बौद्ध र जैन धर्मको बढ्दो प्रभावलाई रोकन वैष्णव संप्रदायका गुरुहरुले पशुबलि प्रथा हटाएका हुन् । हिन्दूका अन्य संप्रदायमध्ये शाक्त संप्रदायमा पशुबलि प्रथा अझै जीवित छ ।
दुधे मष्टलाई दुध, खीर, बाबर, फुल, अक्षता आदि चढाइन्छ । त्यसैगरी खापर मष्टलाई दही चढ्छ भने दाह्रे मष्टलाई बोका वा भेडाको रगत, फुल, अक्षता आदि दिएर पूजा गर्ने गरिन्छ । दुधे मष्टको विशेषता सत्वगुणी हुने भएकाले दुधे मष्ट सधै ध्यान गर्न रुचाउछन् भन्ने भनाइ छ । त्यसैले दुधे मष्टलाई ध्याउन्ने मष्टको नामले पनि चिनिन्छ ।
हुन त सबै मष्टोले ध्यान गर्न रुचाउछन् भन्ने कुराको प्रमाण बझाङको राम्डी मष्टलाई लिनसकिन्छ । राम्डी मष्टो ध्यानमा बसेको बेला कुखुरा बासेर र मानिसहरुको होहल्लाले ध्यान बस्न गाह्रो भएकले गाउँबाट एकान्त जंगलको डाँडामा गएर बसेको कथा पाइन्छ ।
कतिपय मष्टको थानमा दुधे मष्ट र दाह्रे मष्टको पूजा एउटै थानमा गर्ने परम्परा पनि रहेको छ । जस्तैः बझाङको ढँडार र राम्डी मष्टको थानमा आइतवार, बुधवार सात्विक पूजा हुन्छ भने अन्य दिन हुने पूजामा रक्तभोक दिने चलन छ ।
मष्ट पूजामा कुनै किसिमको मूर्ती हुँदैन मष्टलाई निराकार देवता भनिन्छ । मष्टको थानमा राखिएका दियो, बाँसका लिंगा आलम (ध्वजा पतका), घण्टा, चमर, नेजा (मष्ट देउको झन्डा) आदिलाई नै मष्ट देवताको प्रतिक मानेर पूजा गर्ने परम्परा रहेको भनि ‘मष्टो संस्कृति र परम्परा’ पुस्तकका लेखक श्यामबहादुर खड्काले लेखेका छन् ।
देवाली गर्ने विधि :
देवाली मष्ट पूजाकै एउटा विधि हो । मष्ट वा कुलपूजा विशुद्ध खस परम्परा हो । खसहरूका आदि देवता मष्टो हुन् र मष्टोलाई नै कुलदेवताको रूपमा पुजिन्छ तर कतैकतै मष्टका बहिनीहरुलाई कुलदेवीको रुपमा मान्नेहरूको सङ्खा पनि उल्लेखनीय रहेको छ अर्थात् मष्टा र भुवानी दुबै खसहरूबीच स्थापित छन् । मष्ट पूजा माडौ वा माण्णुमा गरिन्छ भने माडौ पनि दुई किसिमका हुन्छन् ।
घर मान्डौ अर्थात घर छेउमा वा घर भित्र बनाएका मान्डौ र बन मान्डौ अर्थात् बन जंगल छेउछाउ बनाइएका मान्डौहरु । तर देउली गर्दा परम्परगत माडौमा वा ठुलो रुखको फेदमा मण्डप वा मन्डल बनाएर गरिन्छ । देवली अथवा कुल पूजाको अघिल्लो दिन कुलका दाजुभाइहरु भेला भएर सधैं गरिल्याएको ठाउमा मन्डल बनाउने गरिन्छ ।
मन्डलको सबै भन्दा भित्र मष्टको प्रतिक घण्टा, चमर, दियो राख्ने गाबिर बनाइछ । गाबिरमा दुई कोठा हुन्छ, एउटा कोठा रक्तभोगी मष्ट र भुवानीको लागि र अर्को कोठा सात्विक भोग खाने मष्टको लागि भनिन्छ । अर्को शब्दमा रक्तभोग लिने मष्टका मुलधामीलाई मामा र सहायक धामीलाई भान्जा भन्ने गरिन्छ र मन्डलको भित्र बनाइएको गाबिरका दुई कोठा एउटा मामा धामीलाई र एउटा भन्जा धामिलाई हो भन्ने पनि चलन छ ।
गाबिरलाई दुई तहको बारले बेरिएको हुन्छ, सबै भन्दा बाहिरको बारलाई प्रवेश द्धवारको रुपमा लिन सकिन्छ भने भित्री बारलाई धामी नाचको र रक्तभोग गर्नको लागि छुट्याइएको हो । यस मन्डप भित्र सम्बन्धित कुलका दाजुभाई बाहेक अरुलाई प्रवेश निषेध गरिएको हुन्छ ।मन्डप बनाएकै दिन बेलुका मुल धामीका घरमा मष्टको लागि भोग दिन तयार पारीएका बोका लिएर भेला हुने गर्दछन् । खसहरुका घरहरुमा मष्टको थान भएको ठाउँलाई भडार वा भण्डार भन्ने गरिन्छ, त्यही भडारमा बसेर धामीले मष्टलाई आव्हान गर्दछन् र मष्ट धामीको शरीरमा आरुहण गर्दछन् ।
धामीको शरीरमा मष्ट आरुहण भएपछि धामी हातमा चमर, घण्टा, कलशमा पानी लिएर बोकाहरु भएको ठाउमा जान्छन् र बोकाहरुलाई पर्सिन्छन् । भोग लिन योग्य भए नभए छुट्याउदछन् । यसरी बोकाहरु पर्सीसकेपछि त्यस दिनको काम सकिन्छ ।
त्यसको भोलिपल्ट यानेकी देवलीको दिन घर सरसफाइ गर्ने, घरका सपरिवारले नुहाइ धुवाइ गर्ने र घरको जेठो मुलीले भँडारमा मष्टलाई धुपध्वाँर गर्ने काम सम्पन्न गरे पछि पूजाका सामाग्रीहरु, रक्तभोग दिन तयार पारिएका बोकाहरु सहित एकै कैरनका दाजुभाइहरु धामीको घरमा भेला हुन्छन् ।
धामी पनि नुवाइ–धुवाइ गरेर ठाउकोमा १२ हातको पगरी, जामा र भोटो लगाएर हातमा चमर, घण्टा बोकेर मष्टलाई बोलाउन थालदछन् । मष्ट उनका शरिरमा चढेपछि धामी बाजागाजाको तालमा नाच्दै घरको आँगनमा आउछन् । त्यो दृष्य हेर्न गाउँभरिका सबै मानिसहरु पनि भेला भएका हुन्छन् । कुलका धामिलाई फूलको माला लगाइ दिनेको भिड लाग्दछ ।
यसरी लामो समयसम्म धामीले बाजागाजाको तालमा नाचीसकेपछि पूजाराहरुलाई देवली पूजा हुने स्थानतर्फ अघि बढन संकेत गरेपछि सबैभन्दा अग्रभागमा बाजा बजाउने टोली, बाजागाजा बजाउँदै अघि लाग्छन् । त्यसपछि पूजाराहरु मष्टको मुल दियो, चमर, कलश, आलम, बाँसको लिंगो आदि बोकेर निस्कन्छन् । त्यसपछि धामी र धामिीको पछिपछि मष्टका पालीहरु पूजाका सरसामानहरु बोकेर देवली स्थानतिर जान्छन् ।
देवाली गर्ने स्थानमा एउटा पूजाराको टोली मष्टको पूजा गर्न थाल्दछन् भने अर्को पूजारा टोली भुवानीको पूजा गर्न थानीतर्फ लाग्दछन् । देवली पनि गोठ पूजा जस्तै बैशाख पूर्णिमा, मङ्गसिर पूर्णिमा, मष्ट पूर्णिमा वा आश्बिवन शुक्ल पक्षमा नै प्राय गर्ने गरिन्छ ।
श्रीपली बस्नेतहरुले कोजाग्रत पूर्णेको दिन मष्ट पूजा गर्ने गरेका छन् तर सबैतिर एकरुपता छैन । देवलीमा सम्पूर्ण एकै कैरन बन्धुहरूले आ–आफ्नो घरबाट सम्पूर्ण गाई–भैंसीको दुध, पूजा–सामग्री, चामल, घ्यू ल्याइन्छ । थर फरक भए पनि एकै कैरनका मष्ट पूजकहरु देवली पूजामा सामेल हुन पाउछन् । तिनीहरुलाई स्वागे दाजुभाई भनिन्छ । लामिछाने थापाको देवलीमा लामिछाने बस्नेत पनि मिसिन पाउछन् । यिनीहरुलाई नै स्वागे दाजुभाई भनिन्छ । थर फरक भएपनि कैरन एकै भएकोले स्वागे भाई भनिएको हो ।
उक्त पूजास्थलमा सम्पूर्ण दाजुभाईहरू उपस्थित भई पूजाको कार्य गरिन्छ । देवली गर्दा पूजास्थलको दायाँतर्फ १८ वटा ठाडा र ६ वटा तोर्सा रेखी हालिन्छ । बायाँतर्फ पनि १६ र १८ वटा ठाडा रेखी हालेर प्रत्येकमा ६ वटा तेर्सा रेखी लगाइन्छ ।
उक्त रेखीको प्रत्यक जोडिनमा देववलीको लागि तयार पारिएको खीर र बाबर पातिमाथि चढाउने काम गरिन्छ । यसरी मन्डप भित्र बनाइएको गाबिरमा मष्टको पूजा सकिए पछि बोकाको भोग दिने काम शुरु हुन्छ ।
प्रत्यक घरबाट ल्याएको सबै बोकाको रगत धामीले चुस्छन् । उक्त रगत धामी आफूले नखाएर मष्ट देवताले खाएको भन्ने गरिन्छ । धामी भनेको मष्टलोकबाट मष्टदेवता मानिसको रक्षा र भलाईका निम्ति मनुष्यलोकमा आउने माध्यम हुन् । जब मष्ट धामीमा आरुहण हुन्छन्, धामीलाई अथाहा उर्जा प्राप्त हुन्छ र यही उर्जाले असाधारण काम गर्दछन् जसलाई देउशक्ति चढेको भन्ने गरिन्छ ।
बोका सबै काटी सकेपछि देवलीको प्रसाद बाँड्ने काम हुन्छ भने मुल मेढोको मासु र मष्टलाई चढाउन पकाइएको खीर, बाबर आदि चाँही आफ्नै दाजुभाईहरुले मात्र मण्डप भित्रै बसेर खाने गर्दछन् र खाइ नसकेको मुलमेढोको मासु र हड्डी आदि त्यही खाल्डो खानेर गाड्ने गरिन्छ । देवलीमा निम्त्याइएका इष्तमित्र, कुटुम्ब, पाउना आदिको लागि भने छुट्टै खानपानको ब्यबवस्था गराइन्छ ।
उपस्थित सबैले देवलीको महा पून्यप्रसाद ग्रहण गरिसकेपछि जसरी बाजागाजा सहित आएका थिए त्यसरी नै धामीको घरमा जान्छन् र सबैलाई विदा गर्दै धामीले देउता बिसाउँदै विधिवतरुपमा देवाली पूजा तीन वर्षको लागि समापन गरिन्छ । स्मरणीय कुरा के छ भने मष्टका धामीले देउता बिसाउनु भन्दा पहिले बाजा बजाउने ढोली टोलीलाई उनै धामीले विशेष बाहुली( आशिर्वाद/ धन्यवाद) दिने गरिन्छ ।
गोठधुप :
मष्ट पूजकहरुमा गोठधुप वा गैंडु गोसाइ पूजा गर्ने परम्परा पनि रहिआएको छ । गण्डकी क्षेत्रमा गोठधुप पूजालाई गैंडु गोसाइ पूजा भन्ने गरिन्छ भने अन्यत्र क्षेत्रमा गोठधुप भन्ने गरिन्छ । गोठधुप प्राय पूर्णिमाको तिथिमा गरिन्छ । कतै कतै अष्टमी तिथिमा पनि गरेको पाइन्छ । गण्डकी प्रस्रवण क्षेत्रमा मष्ट पूर्णिमाका दिन गैंडु गोसाइको नामले गोठधुप गरिन्छ भने अन्यत्र मङ्सिरे पूर्णे, बैशाखी पूर्णे, कार्तिक पूर्णे त कतै माघि पूर्णेमा गोठधुप गर्ने गरिएको छ ।
गोठधुप पनि मष्ट पूजाकै एकरुप हो । किनभने यस पूजामा पनि मष्ट गोसाई र भुवानीलाई पुकार्ने गरिन्छ । खीर र बाबर चढाउनलाई चामलको पिठोको देवलीमा जस्तै रेखी हालिन्छ ।
यदि मष्टका धामी छन् भने धामीलाई नै पूजामा अगाडि सारिन्छ । धामी छैनन् भने पूजारो वा कोष्ठारीले पूजा सम्पन्न गर्दछन् । गोठको धुप गाई, भैंसी वा भेडागोठमा गरिन्छ । देवलीमा जस्तो बोका, पाठी वा भेडाको भोग दिने चलन भने छैन तर उभौलीको बेला गरिने गोठ धुपमा कुखुराको भालेको भोग दिने चलन पनि कतै कतै छ ।
गोठधुपमा पनि देवलीमा जस्तै एकै कुलका दाजुभाईहरु भेला भएर गर्ने गरिन्छ । गोठधुप मष्टोधर्मीहरुले पशुपालन अवस्थामा रहँदादेखि नै गरिआएको प्राचिन परम्परा हो । गोठधुप खस जातिको पहिचानसँग जोडिएको एक साँस्कृतिक पर्वको रुपमा स्थापित भएको छ । यो पर्वको शुरुवात कहिलेबाट भयो भन्ने एकिन तथ्य नभए पनि ‘मष्ट सँस्कृति, ऐतिहासिक र सांस्कृतिक अध्ययन’ नामक पुस्तकका लेखक तेजबहादुर कार्कीले प्रागऐतिहासिक कालदेखि नै ऐश्वर्यको प्रतीक पशुधन संरक्षण गर्न गोठधुपको चलन कायम भएकोे देखिन्छ भनि लेखेका छन् ।
त्यसैगरी खप्तरी बस्नेतहरुको वङ्शावली अनुसार खसहरु कर्णाली प्रस्रवण क्षेत्रमा प्रवेश गर्नु भन्दा अगाडिदेखि नै गोठधुप गर्ने गर्दथे भन्ने उल्लेख छ । उक्त वङ्शावली अनुसार खसहरुले पहिलो गोठधुप कस्मिर ईलाका जो कुनै बेला खसहरुको राज्य थियो, त्यही कस्मिरको खस राज्यको बेलादेखि गोठधुप पूजा गर्न थालिएको उल्लेख छ ।
खसहरू इ.पू. १००० देखि नै दक्षिण एसियाको हिमाल क्षेत्रमा पशुपालक जातिको रुपको बसोबास गरेको प्रमाण पाइन्छ । गोठधुप आफ्ना पशुप्राणीहरुको रक्षाको लागि गरिने एउटा अवैदिक विधि भएको हुँदा यसको थालनी ईसापूर्वबाट नै भएको विश्वास गरिन्छ ।
गोठधुप वर्षमा दुईचोटी गरिन्छ । एकचोटी उधौलीको बेला र अर्कोचोटी उभौलीको बेला गरिन्छ । जब सूर्य कर्कट रेखाबाट मकर रेखामा प्रवेश गर्दछ अर्थात् भूमध्य रेखाबाट दक्षिण दिशामा जान्छ, त्यसलाई दक्षिणायन भनिन्छ । त्यसैगरी सूर्य धनु राशीबाट मकर राशिमा प्रवेश गर्दछ त्यसलाई उत्तरायन भनिन्छ अर्थात् सूर्य उत्तरी गोलार्धमा प्रवेश गर्दछ । यसरी सूर्य उत्तरायण हुँदा उत्तरी गोलार्धमा न्यानोपन बढन थाल्दछ ।
हिमाली भेगका खर्कहरुमा घाँस पलाउन थाल्दछ । ब्याँसीका खर्कहरुमा घाँसको अभाव हुन थाल्छ । अनि गोठालाहरुले आफ्ना पशुप्राणीहरुलाई उत्तरतर्फ सार्दछन् । यो मौसममा खोलाका माछाहरु पनि उभो सर्दछन् । कर्याङ्कुरुङहरु पनि उतरतिर नै लाग्दछन् । त्यसैले यो आयनलाई उभौली भनिन्छ ।
उत्तरायन मध्य माघ महिनाबाट मध्य आषाढ महिनासम्म रहन्छ । सूर्य उत्तरायण भएको बेला पून्य कर्म गर्नु राम्रो मानिन्छ । त्यसैले माघी पूर्णेदेखि बैशाखी पुर्णेसम्म उभौलीको गोठधुप गरिन्छ भने दक्षिणायण आषाढ महिनाको मध्यबाट माघ महिनाको मध्यसम्म रहन्छ । यो पनि छ महिनाको हुन्छ । उत्तरतर्फ जाडो शुरु हुन्छ । खोलाका माछाहरुले पनि उधोतिर कुर सार्छन् । कर्याङ्कुरुङहरु पनि उत्तरबाट दक्षिणतर्फ झर्छन् । हो त्यही छ महिनाको आयनलाई उधौली भनिन्छ । त्यही छ महिनाको आयनमा मध्य आषाढबाट मध्य माघमाससम्म गरिने गोठधुपलाई उधौली अथवा उधौलीको गोठधुप भनिन्छ ।
सूर्य दक्षिणायन भएपछि उत्तरी गोलार्धमा जाडो शुरु हुन्छ । घाँस उम्रन छोड्छ, हिउँ पर्न थाल्छ । अनि घाँसको खोजी र जाडो छल्न गोठ ब्याँसीतिर सारिन्छ । पहाडमा जाडो र गर्मी छल्न बसाइँ सर्ने चलन छैन । तर महाभारत उच्च श्रेणीमा हिमरेखाको ठीक तल खर्क वा तृणभूमि रहेका छन् । ती खर्कमा (गर्मी याममा) उँभौलीमा गोठ सार्ने र उँधौलीमा लेकको गोठ बेँसी झार्ने प्रचलन युगाैंदेखि अद्यपी कायम छ ।
गोठ सार्ने बेलामा गोठधुप गरेर गोठ सार्ने परम्परा रहिआएको थियो अर्थात् यही गोठ सार्ने परम्पराबाट नै गोठधुप गर्ने प्रचलन शुरु भएको हो । गोठ सार्नु भन्दा पहिला नै गोठधुप गर्नु पर्थ्यो किनभने आफ्ना चौपायाहरुको हेरबिचार मष्ट देउता र भुवानीहरुले गर्दछन् भन्ने विश्वास उनीहरुमा हुन्थ्यो । त्यसैले गोठ सार्नु भन्दा पहिला मष्ट गोसाइको पूजा गरेर मात्र सार्दथे । मष्ट परम्परामा वर्षका हरेक पूर्णिमालाई पवित्र दिन मानिन्छ । त्यसैले गोठधुप प्राय पूर्णिमा कै तिथि पारेर गरिन्छ । मष्ट खसहरूको कुलदेवता हुन् । खस उपासनाको मियो बाह्र भाई मष्ट र नौ बहिनी भुवानीलाई मानिन्छ ।
तिनै कुल देउता र भुवानीहरुको पूजा गरेर गोठ सार्दा चौपायाहरुको रक्षा हुने, आफूलाई पनि देउताहरुको कृपाले मंगल हुने विश्वासका साथ गोठ पूजा गरेको पाइन्छ । यसरी गोठधुप गर्दा पूजाको मण्डपमा धामीले अथवा पूजारोले आगोमा धुप हाल्दै फलाक्दा यसो भन्छन्,
‘लौ है बाह्र भाइ मष्ट, नौ बहिनी भुवानी, यस ठाउँलाई छाडेर छ महिनाको लागि जाँदैछौ, बाटोमा कुनै पनि रोग, बिमार नलागोस्, अफ्ठेरो नआहोस्, सारो–गारोमा तिमीले रक्षा गर्नु ! बाघ, भालु नलागोस् ! जस्तै अफ्ठेरोमा पनि तिमीले हाम्रा चौपायाहरुको रक्षागर्नु ! तिम्रै भरोसामा हाम्रा चौपायाहरु सार्दैछौं, छ महिना पछि यसरी नै तिमीलाई दुधमा पकाएको खीर, चोखोनितो गरी पकाएको बाबर, फुलपाती आदि तिमीलाई चढाउँला, सधै हाम्रो दाहिना भै बस्नु होला है मष्ट महाराज !’ भन्दै ढोग गर्दछन् ।
यसबाट प्रष्ट हुन्छ गोठधुप भनेको चौपायाहरुको रक्षा उन्नती र गोठालाहरुको सुश्वास्थ तथा दिर्घायुको लागि गरिने मष्ट उपासना हो ।
गोठधुप गर्ने विधि :
गोठधुप गर्ने विधि ठाउँ अनुसार फरक फरक रहेको पाइन्छ । गोठधुप पूजाको दिन सबै भन्दा पहिला गोठ सफा गरिन्छ । सफा गरेको गोठमा ४ वटा ढुङ्गाको खाँबामाथि ढुङ्गाको छाना साथै ३ दिशामा तितेपातीको लिंगो र त्यही छानामाथि गोबरले लिपेर स–साना खाल्टा बनाई दूध लगायत पवित्र बस्तु चढाउने परम्परा छ भने पूर्वतिर चामलको पिठोको रेखी हालेर मण्डप वा वेदी बनाउने र उक्त रेखी बनाउँदा ठाडा र तेर्सा रेखा तान्ने गरिन्छ ।
एकै कुलका दाजु–भाईका घरबाट दुध, चामल, घ्यू, पूजाका समान आदि गोठधुप गर्ने गोठमा ल्याइन्छ । सबैको घरबाट ल्याएको दुध, चामल आदिबाट खीर, बाबर बनाइन्छ । मण्डपको रेखा तान्दा बनेका प्रत्यक आँख्लामा तितेपाती वा सिमलीका पात राखेर खीर र बाबर चढाउने गरिन्छ ।
मण्डप बनाउँदा तान्ने ठाडा रेखाले आफ्ना चौपायाहरुको संख्या र तेर्सा रेखाले समयलाई बुझाउँद छ । खप्तरी बस्नेतका मष्टका धामी विनोद बस्नेतका अनुसार रेखी हल्दा छ वटा तेर्सा रेखा हालिन्छ । यसको अर्थ एउटा गोठधुपबाट अर्को गोठधुपको समय अवधि छ महिना हुने हुँदा एउटा रेखाले ३० दिनलाई जनाउँद छ भने ठाडा रेखाले आफूसँग भएका चौपायाको संख्या जनाउँद छ । एउटा ठाडो रेखाले एक हजार चौपायालाई बुझाउँद छ । यदि १७ वटा ठाडा रेखाको बेदी बनाएको छ भने त्यस गोठ राखेको क्षेत्रमा १७ हजार चौपायाहरु रहेको बुझिन्थ्यो । यसरी समय र चौपायाको संख्या मिलाएर गोठधुपको लागि मण्डप बनाइने गरिन्छ ।
मण्डपको छेउमा गोबरको कुण्ड पनि बनाइन्छ र त्यस कुण्डमा दुध चढाइन्छ । यदि उधौलीको बेला गोठधुप गरिएको हो भने दक्षिण दिशा फर्किएर र उभौलीको बेला उत्तरदिशा फर्किएर पूजाराले विधिपूर्वक पूजा गर्नुपर्छ । गोठधुपको सम्पूर्ण विधि सकिएपछि जनविश्वास अनुसार आदिमकालकमा गोठमा पालेका हासुले र पाडुले नामका दुई वटा कुकुरहरुले गोठका चौपायाहरुको सुरक्षा गरेको कहानी मुताविक कुकुरको प्रतिक स्वरुप ससाना केटा– केटीलाई कुकुर बन्न लगाइ गोठ घुमाइन्छ र पछि खीर खान दिइन्छ । यसरी पशुपालक मष्टो अनुयायीहरुले छ–छ महिनामा गर्ने गोठधुप सम्पन्न हुन्छ ।
ठुला–ठुला वन जंगलहरु पारगर्दै सकुसल आफ्ना चौपायहरु एक ठाउँबाट अर्को ठाउँसम्म लान सक्नुमा मष्ट देउताको कृपा ठानिन्थ्यो । मष्ट देउताको कृपाले हो वा आफ्नो भाग्यले हो उनीहरु बिकट हिमाली क्षेत्रमा सकुसल छ महिना बिताउँथे तर पनि यसको सबै जस मष्ट देउतालाई दिने खस परम्परा कै निरन्तरता हो मष्ट पूजा ।
यी दुबै पर्वहरु एकै कुलका दाजुभाईहरु भेला भएर मानिस र प्राणीहरु समेतको भलो होस् भनि गरिने धार्मिक उपसना भएको हुँदा मष्ट पूजाले हाम्रो धार्मिक उर्जालाई जगाउन सयोग पुर्याउँद छ । दाजुभाईहरु बिच भेट्घाट हुने, भलोकुसारी गर्न पाइने, नयाँ पुस्ताले पुरानो पुस्तालाई चिन्ने अवसर मिल्ने तथा आफ्नो संस्कृतिले जीवनतता पाइरहने भएको हुँदा मष्ट पूजाका रुपहरुलाई निरन्तरता दिनु नै पर्दछ तर मष्ट पूजा पशुवली दिएरै गर्नुपर्छ भन्ने छैन ।
जसरी खापर मष्टलाई दहीको र दुधे मष्टलाई दुधको वली दिएर पूजा गरे जस्तै बिना पशुवली पनि मष्ट पूजा गर्न सकिन्छ, किनभने कर्णाली क्षेत्रमा मष्टो देउतालाई २ जोला घाँडो वा घाट र दुई खुटा रातो र सेतो ध्वजा र दमाहा भए पुग्छ भन्ने जनविश्वास छ ।
खस जातिको प्रमुख पहिचान मष्ट पूजा हो । जसलाई आफ्ना कुलका दाजुभाईहरु भेला भएर पारिवारिक सुख, शान्ति र अमनचयनका लागि कुलका धामीबाट यो पूजा गरिन्छ । तर खसहरुमा देवलीको एकरुपता छैन । खस जाति नेपालको एक प्राचिन जाति हो । सिन्धु नदीले बनाएको सिन्धु उपत्यकाको वरपर स्थापित सभ्यता कांस्य युग–ईशापूर्व ३३०० देखि १३००० मानिन्छ । यो सभ्यताको उन्नत अवधि हरप्पाको युग हो । हालको उत्तरपूर्वी पाकिस्तानको पञ्जावमा हरप्पाको सभ्यता देखिएको हो ।
त्यहाँ आर्य जातिको बसोबास देखिनु पहिले नै खसहरु नेपाल लगायत हिमवत् क्षेत्रमा अस्तित्वमा रहेका थिए । बुद्धको समयदेखि रामायण, महाभारतकालसम्ममा स्थापित पश्चिमी नेपालको विस्तृत पहाडी प्रदेशमा शासन गर्दै आएको वीरता र सभ्यताका निम्ति परिचित जाति खस हो । खस सभ्यतामा देवली र गोठको धुप मष्टा धर्मको मुख्य पुजा हो ।
बैशाखी पूर्णिमाका दिन पशुवली चढ्ने मष्ट पूजा गरिँदैन, उक्त समयको मष्ट पूजा बैशाखी पूर्णिमाको अघिल्लै दिन गर्ने परम्परा शुरु भएको छ । बैशाखी पूर्णिमाकै दिन बुद्ध जयन्ती पर्ने भएकाले उक्त दिन बलि पूजा उपयुक्त नहुने भएकाले पूर्णिमाको अघिल्लो दिन नै देवली गर्ने परम्परा यसबाट पनि प्रष्ट हुन्छ मष्टमार्गी खसहरु भगवान गौतम बुद्धप्रति अथाहा श्रद्दा राख्दछन् ।
मष्टा धर्म पश्चिम नेपालको खस साम्राज्य स्थापना हुनुभन्दा धेरै अघिदेखि अस्तित्वमा रहेको देखिन्छ । मष्टालाई निराकार देवताकारुपमा पुज्ने गरिन्छ । खस जातिका मुख्य देवता मष्टा देवता हुन् । मष्टलाई १२ भाई मष्टा र भुवानीलाई नौ भुवानी भनिएता पनि यिनको नाम भने अनगिन्ती रहेका छन् । कर्णाली पलाता दराका धर्मेन्द्र न्यौपानेका अनुसार मष्ट परम्परामा धेरै वर्गका भुवानी र मष्ट देउताको पूजा गरिन्छ ।
जस्तो :
पाल देउता : रामपाल, हंस पाल, छेत्रपाल, कैपाल
सुर देउता : लुवाशुर, मैकाशुर, रैकासुर, मैकाचुर अदि गरि गरी झन्डै १ सय ५० मष्ट देउता रहेका छन् ।
नाथ देउता : चन्दननाथ, छायाँनाथ, शिवनाथ, जगन्नाथ ।
अन्य : देहुडु, लाखुडो, बाटपालो, साईमाडु, जाडदेव, बोबो, नैनेल पचालो आदि गरी करिब १ सय भन्दा माथिको संख्या रहेको छ ।
बज्यू र मैयाँ : मरेका कुल पुर्खा । खोपो सजि वा देउतासङ्ग गाभी पुज्ने ।
कत्युर राज्यका देउता : (कुमाउ गढवालहुँदै डोटी बोगटान सम्म मानिने) ।
केदार, कार्तिके, मलिका अर्जुन, बेतालहरु (साडे बेताल खापर देउताले युद्धबन्दी गरि आफ्नो पक्षमा लिएका)
भुवानीहरु :
मालिका : बडिमालिका, चुलिमालिका, खेस्ममालिका, देउरा मालिका ।
सुन्दरी : त्रिपुरासुन्दरी, कनकासुन्दरी (दत्तात्रय)
शैनी : निगालाशैनी, बिन्दाशैनी, सुर्मा भवानी आदि ।
नन्दादेवी : बुढीनन्दा, सुकनन्दा, अलकनन्दा
अन्य : रघुमाता, रानिमता आदि । नेपालको आदिवासी भूमिपुत्र खस जातिले यिनै आफ्ना कुल देवता र मष्टाका बहिनी भुवानीको मागल र फाग सहित पुजा गरेर शक्ति प्राप्त गर्ने विश्वासका साथ गरिने अनुष्ठान नै देवली र गोठ पूजा हो ।