• माघ २० २०८१, आईतवार

तरकारीको नाममा खुलमखुल्ला विष विक्रि, क्यान्सर जस्तो घातक रोगको जोखिम

माघ २० २०८१, आईतवार

काठमाडौं । प्राय हरेक नेपालीको भान्सामा हरियो तरकारी पाक्ने गर्छ । अझ सबैको मनपर्ने तरकारी रायोको साग सबैको रोजाइ बन्ने गरेको छ । रायोको साग खादाँ आखाँ तेजिलो हुने, क्यान्सर, रक्तअल्पता, पोस्टेड लगायतको रोगसँग लड्न मद्धत पुग्छ भन्ने जनविश्वास छ।

आम नागरिकको यो जनविश्वास अहिले पनि उत्तिकै छ । सागमा विषादी हुन्छ भनेर त धेरैले कल्पना पनि गरेका हुँदैनन् । यसलाई स्वस्थकर तरकारीको रुपमा प्रयोग गर्दै आइरहेका आम नागरिकले अब भने एक पटक भान्छामा लगेर पकाउनु अघि सोच्नु पर्ने भएको छ । पछिल्लो समय बजारमा भेटिएका रायोको साग लगायत अन्य तरकारीमा शतप्रतिशत विषादी भेटिएसँगै तरकारी पकाउँदा एक पटक गम्भीर भएर सोच्न बेला आएको छ ।

सरकारी संयन्त्रको लापरबाही र बेवास्ताका कारण बजारमा भित्रने यस्ता धेरै तरकारीसँगै आम नागरिक विष पिउन बाध्ये भएका छन् । गत साता मात्रै कालिमाटी तरकारी बजारमा रायोको साग र अन्य हरियो तरकारी परिक्षण गर्दा सागमा मात्रै ९७ प्रतिशत विषादी भेटियो । जुन साग बजारमा जानका लागि तयारी अबस्थामा थियो । मानव स्वास्थ्यलाई हानी पु¥याउने गरी प्रयोग भएको अर्गेनोफस्फेटको मात्रा सागमा अत्याधिक पाइएपछि तरकारी बेच्न रोक लगाइएको थियो ।

यस्तै गत महिना मात्रै भक्तपुरकी कृष्णमाया तामाङ्गले बजारमा बेच्न ल्याएको रायो सागमा पनि क्रमशः ९२.२४, ७५.५५ प्रतिशत विषादीको मात्रा भेटिएको थियो । यि तथ्यले बजारमा तरकारी होइन विष बेचिरहेको पुष्टी गर्दछ । दैनिक विहान र बेलुका हरियो तरकारीको प्रयोगमा आउने साग,पालुङ्गो, भेन्टामा आम नागरिक तरकारी होइन विष खरिद गरेर पिउन बाध्ये छन् ।

बजारमा कार्वामेट र अर्गानोफस्फेट समूह कीटनाशक विषादीको मात्र परीक्षण गरिँदै आएको छ । यस्तो प्रकारको विषादी ३५ प्रतिशतभन्दा कम उपभोग योग्य, ३५ देखि ४५ प्रतिशतसम्म केही दिन राखेर खान मिल्ने र ४५ प्रतिशतभन्दा बढी खान अयोग्य मानिन्छ । ४५ प्रतिशतभन्दा बढी पाइएको अवस्थामा त्यस्ता तरकारी, साग वा फलफूल नष्ट गर्नुपर्ने व्यवस्था गरेको छ ।

काभे, भक्तपुर, धादिङ, चितवन, दोलखालगायतका जिल्लाबाट कालीमाटी आउने हरियो तरकारीमा अत्याधिक विष पाउने गरेको छ । बजारमा लोकल साग, सिमी, भेन्टा, बोडी भनेर बेचिने यस्ता तरकारीमा किसानहरुले बढी उत्पादन गर्ने नाममा विषादीको प्रयोग अत्याधिक गर्दा त्यसको प्रभाव आम उपभोक्तामा परिरहेको छ ।

नागरिकको स्वास्थ्यमाथि खेलवाड, सरकार किन मौन ?
मानव स्वास्थ्यलाई नै जोखिममा पार्ने गरि प्रयोग भएका तरकारी बजारमा यत्रतत्र भित्रदाँ पनि सरकार मौन देखिएको छ । जुन तरकारी आम नागरिकको भान्छामा मात्रै होइन, राज्य सञ्चालन गर्ने प्रमुखकै भान्छासम्म पुग्ने गर्दछ । आफ्नै स्वास्थ्यसँग समेत जोडिएको यो विषयमा राज्यले जुन पहलकदमी गर्नु पर्दथ्यो त्यसो गरेको पाइदैन । ‘जनस्वास्थ्य जस्तो विषयमा राज्यले गर्ने खेलबाडले भोलिका दिनमा गम्भीर समस्या आउने देखिन्छ,’ उपभोक्ता स‌रक्षण मञ्चका अध्यक्ष ज्योती बानियाँले भने, ‘यो विषयमा राज्य किन मौन भएर बसिरहेको छ हामीले बुझ्न सकेका छैनौ ।’

विषादी परीक्षणका नाममा ठाउँ–ठाउँमा संयन्त्र राखिएका छन् । तर, ति संयन्त्रले पनि विषादी परीक्षण राम्रोसँग गरेको देखिदैन । त्यसो त कृषि तथा पशुपन्छी मन्त्रालयले आफूअन्र्तगत पर्ने निकायसँग दैनिक प्रतिवेदन मगाएर सार्वजनिक पनि गर्दै आइरहेको छ । तर, विषादी परीक्षणको काममा सोचे जस्तो काम हुन सकेको छैन ।

नेपालमा उत्पादन हुने तरकारीमा मात्रै होइन कालीमाटी तरकारी बजारमा भारतबाट ठूलो परिणाममा हरियो तरकारी आउने गरेको छ । त्यस्तो हरियो तरकारीमा पनि विषादीको परीक्षण बिनै खुलेयाम बेचबिखन भइरहेका छन् । भारतबाट आउने तरकारीमा अत्याधिक मात्रामा विषादी पाइएपछि २१ बैशाख २०८० मा सर्वोच्च अदालतले विषादीको परिणाम परीक्षणको आधारमा मात्रै तरकारी आयात गर्न दिन भनेको थियो । उपभोक्ता हित संरक्षण मञ्चका तर्फबाट विष्णुप्रसाद तिमिल्सेनाले दायर गरेको रिटमा सर्वोच्चको न्यायाधीशद्धय शुष्मालता माथेमा र नहकुल सुवेदीको इजलासले तरकारी तथा फलफुलको विषादी परीक्षण गरी प्रतिवेदन पेश गर्न परमादेश जारी गरेको थियो ।

सर्वोच्चले मानवको जीउ–ज्यान तथा स्वास्थ्य र वातावरणमा हानि पु¥याउने विषादीयुक्त वस्तुको बिक्री वितरणबाट सुरक्षित हुन पाउने नेपाली नागरिकको मौलिक हकको संरक्षणको सुनिश्चितताका लागि नेपालमा पैठारी हुने तरकारी तथा फलफूल विषादी परीक्षण गरेर मात्र पैठारी गर्ने भनी सूचना प्रकाशित भएको झण्डै चार वर्ष पुग्न लागेको सन्दर्भमा के कस्तो योजना तथा मापदण्ड बनी के कसरी कार्यान्वयन भएको छ भनी सरकारलाई प्रश्न पनि गरेको छ । सर्वोच्चले योजना कार्यान्वयनमा के कति प्रगति भएको छ त्यसको जवाफ पेस गर्न पनि आदेशमा भनेको छ ।

सर्वोच्चले त्यति बेला चार बुँदे निर्देशन दिएको थियो
क) नेपालमा पैठारी हुने तरकारी तथा फलफूलमा प्रयोग हुने सबै किसिमका विषादी – परीक्षण भन्सार विन्दुमा नै गरेर मात्र पैठारी गर्ने सम्बन्धी मिति २०७६।३।२ को निर्णय कार्यान्वयन गर्ने सन्दर्भमा भन्सार विन्दुहरुमा प्रयोगशाला स्थापना गर्ने विषय,
ख) त्यसरी स्थापित प्रयोगशालामा सबै किसिमको विषादी परीक्षण हुन सक्ने अन्तर्राष्ट्रियस्तरको आधुनिक उपकरण र दक्ष जनशक्ति उपलब्ध गराउने विषय,
(ग) देशभित्र उत्पादन हुने तरकारी तथा फलफूलमा प्रयोग हुने विषादीको सीमा निर्धारण र प्रयोगसम्बन्धी कार्याविधि तथा मापदण्ड तय गर्ने विषय,
घ) खण्ड (ग) बमोजिम निर्धारित मापदण्डको पालना भए नभएको परीक्षण तथा अनुगमन गर्ने विषय ।

सर्वोच्चले चार बुँदे निर्देशनात्मक आदेश जारी गरेको एक वर्षभन्दा बढीसमय वित्दा पनि आदेश लत्याउँदै खुलेयाम विष बिक्रि भइरहदा पनि राज्य चुपचाप बसेको छ । सर्वोच्चले नेपाल भित्रने प्रस्थान बिन्दुमा नै परीक्षणको व्यवस्था गर्न भनेको थियो । तर, बजारमा अहिले अत्याधिक बिषादी भएको तरकारी देखिन थालेका छन् ।

विषादीबाट कसरी जोगिने त?
बजारबाट ल्याएको तरकारी र फलफुललाई प्रयोगमा ल्याउनुअघि कम्तिमा सफा पानीले चार पटकसम्म राम्रोसँग धुने । सम्भव भएमा मनतातो पानीमा १० मिनेटसम्म तरकारीलाई डुबाएर राख्दा करिब ६० प्रतिशतसम्म यस्ता घातक विषादी बगेर जाने विज्ञहरु बताउँछन् ।

तरकारीको बोक्रामा विषादीको मात्रा धेरै हुने भएकाले बोक्रा ताछेर पनि थोरै मात्रामा भनेपनि विषादीको प्रभाव न्यूनिकरण गर्न सकिन्छ । विषादी भएको शंका लागेमा दुई दिनसम्म तरकारीलाई खुला हावा आउने ठाउँमा राख्दा पनि विषादीको मात्रा हराएर जान्छ ।

विषादी भएको तरकारी खाँदा स्वास्थ्यमा कस्तो प्रभाव पर्छ ?
विषादीयुक्त तरकारी, साग वा फलफूलको नियमित रुपमा सेवन गर्दा प्राणघातक रोग लाग्ने सम्भाबना बढी हुन्छ । अत्याधिक विषादी प्रयोग भएको तरकारी नियमित रुपमा सम्पर्कमा आउँदा क्यान्सर, नपुंसकता, रोगविरूद्धको प्रतिरोधी क्षमता घटाएर मृगौला र लिभर (कलेजो) बिग्रने, ब्रेन ट्युमर हुने, गर्भ तुहिने, हृदयघात जस्ता घातक तथा दीर्घकालीन भयावह रोगहरू निम्त्याउन सक्छ । विश्व स्वास्थ्य संगठनका अनुसार वर्षेनी विश्वभर ४० लाखभन्दा बढी व्यक्ति यस्ता विषादीका कारण प्रभावित हुँदै आएका छन् । त्यसमध्ये करिब ३ लाख जनाको विषादीका कारण मृत्यु हुने गरेको छ ।

कुन–कुन हुन् प्रतिबन्ध लगाइएका विषादी?
प्रतिबन्धित भएका अन्य विषादीहरुमा क्लोरडेन, डिडिटी, डाईअल्ड्रिन, ईन्ड्रिन, अल्ड्रिन, हेप्टाक्लोर, मिरेक्स, टोक्साफेन, लिन्डेन, बियच सी, फस्फामिडन, अर्गेनोमर्करीक्लोराइड, मिथाइलपाराथिएन, मनोक्रोटोफस, इण्डोसल्फान, फोरेट, कार्बोफ्युरान, कार्वारिल, डाइक्लोरभस, ट्रायजोफस, बेनोमाइल, डायकोफोल, कार्वोसल्फान र एलम्यूनियमफोस्फाइड ३ ग्राम टेब्लेट हुन् ।