• पुष २३ २०८१, मंगलवार

नेपाली क्रिकेटका लागि कस्तो रहला सन् २०२५ ?

पुष १९ २०८१, शुक्रबार

१८ पुस, काठमाडौं । सन् २०२४ नेपाली क्रिकेटका लागि सुखद वर्ष नै रह्यो । नेपालले १० वर्षपछि टी–२० विश्वकप खेल्दा आठ वर्षपछि यू–१९ पुरूष विश्वकपमा पनि पुनरागमन गर्यो । त्यस्तै, महिला क्रिकेट टोलीले पनि सरदरभन्दा धेरै खेल खेले । सन् २०२५ ले भर्खर पाइला टेकेको छ । यस्तोमा नेपाली क्रिकेटका लागि विभिन्न प्रतियोगिताहरूले नेपाली टोलीलाई पर्खिरहेका छन् । प्रदर्शन राम्रो गर्न सके नेपालका लागि २०२५ पनि सुखद र सफल वर्ष बन्न सक्छ । यस वर्ष नेपालका लागि विभिन्न अवसरहरूसँगै चुनौतीहरू पनि छन् ।

चुनौतीको सामना गरी प्राप्त अवसरलाई सदुपयोग गर्न सकेमा क्रिकेट टोलीको सफलताको नयाँ उचाइ टाढा छैन । सन् २०२४ जस्तै २०२५ पनि नेपाली क्रिकेटका लागि व्यस्त वर्ष नै रहनेछ । पुरूषको सिनियर टोलीदेखि उमेर समूहका टोलीहरूले विभिन्न प्रतियोगितामा सहभागिता जनाउँदै छन् । २०२५ मा नेपाली क्रिकेटका लागि मुख्य सहभागिता केके छन् र अवसरसँगै कस्ता चुनौतीहरू रहनेछन् ? आज चर्चा गर्नेछौं ।

यू–१९ महिला टी–२० विश्वकप २०२५ को जनवरीमै नेपाली महिला यू–१९ क्रिकेट टोलीले विश्वकप क्रिकेट खेल्दै छ । विश्वकपमा नेपाली महिला क्रिकेट टोलीको यो पहिलो सहभागिता हुनेछ । जनवरी १९ देखि मलेसियामा सुरू हुने आइसीसी टी–२० महिला विश्वकपमा नेपाल बलिया टोलीहरू रहेको समूहमा परेको छ । नेपालको समूहमा अस्ट्रेलिया, बंगलादेश र स्कटल्यान्ड छन् । कम्तीमा एक खेल जिते नेपाल सुपर सिक्समा पुग्ने सम्भावना रहन सक्छ ।

२०२४ को अन्त्यतिर भएको एसीसी यू–१९ एसिया कपमा नेपालले पाकिस्तानलाई हराएको थियो । सुपर फोरमा बंगलादेशसँग पराजित हुँदै नेपाल फाइनलमा भने पुग्न सकेन । यद्यपी नेपालको प्रदर्शन भने राम्रो रह्यो । यसैले नेपाली टिमबाट विश्वकपमा पनि राम्रो प्रदर्शनको आशा गरिएको छ । पहिलोपटक विश्वकप खेल्न पाउँदा कप्तान पूजा महतोसहितका खेलाडीहरू पनि उत्साहित छन् । विश्वकपजस्तो ठूलो स्टेजमा आफ्नो प्रदर्शन देखाउने अवसर रहेकाले तयारी पनि तीव्र पारिएको प्रशिक्षक महेशप्रसाद रिजालले बताए । उनी आफ्नो टोलीले राम्रो प्रदर्शन गर्नेमा आशावादी छन् ।

नेपाललाई यो विश्वकपमा अनुभव बटुल्ने राम्रो अवसर छ । अस्ट्रेलिया र बंगलादेश नेपालभन्दा तुलनात्मक रूपमा बलिया टोली हुन् । स्कटल्यान्ड नेपालजस्तै छनोट पार गरेर आएको हो । तर, पहिलेभन्दा धेरै नै बलियो र राम्रो लयमा देखिएको नेपाली टोलीले आफ्नो स्वभाविक खेल खेल्यो भने सुपर सिक्समा प्रवेश गर्दै सनसनी मच्चाउन सक्छ ।