• पुष २० २०८१, शनिबार

नेपाली खेलकुदमा फ्रेन्चाइज लहर, होला त दिगो ?

पुष १४ २०८१, आईतवार

१४ पुस, काठमाडौं ।
नेपाल सुपर लिग (एनएसएल) ‘अब खेल्छ नेपाल’
नेपाल प्रिमियर लिग (एनपीएल) ‘फेस्टिभल अफ हिमालयज’
नेपाल भलिबल लिग (एनभीएल) ‘उँचाइको नयाँ उडान’
एभरेष्ट वुमन्स भलिबल लिग (इडब्लुभिएल) ‘अब पालो महिलाको’ नेपाल कबड्डी लिग (एनकेएल) ‘माटोदेखि मैदानसम्म’

यी हुन् नेपालमा हालै सम्पन्न भएका र हुने क्रममा रहेका केही खेलका फ्रेन्चाइज लिग र तिनका स्लोगान । केही वर्षअघिसम्म नेपाली खेलकुदका नियमित गतिविधिसमेत हुन सकेका थिएनन् । पछिल्लो समय भने नेपाली खेलकुदमा फ्रेन्चाइज लिगको लहर नै आउन थालेको छ । निजी क्षेत्रको लगानी भित्रन थालेको छ भने खेलाडीहरूले पनि राम्रै आर्थिकलाभ पाउन थालेका छन् । विदेशी खेलाडीलाई यहाँ आएर खेल्ने अवसर मात्र सिजर्ना गरेको छैन, फ्रेन्चाइज लिगले नेपाली खेलाडीलाई संसारभर अवसरको ढोका खोलिदिएको छ । हालै सम्पन्न नेपाल प्रिमियर लिग (एनपीएल) त्यसैको पछिल्लो उदाहरण हो ।

एनपीएलले भारतका स्टार क्रिकेटर शिखर धवनदेखि ट्यालेन्ट हन्टबाट उदाएका १६ वर्षका विपिन शर्मासम्मलाई एकै टिमबाट खेल्ने संयोग जुराइदियो । संसारभर प्रशारण पहुँच रहेको स्पोर्टस् च्यानल ‘स्टार स्पोट्र्स’बाट प्रत्यक्ष प्रशारण गरिएको एनपीएले नेपाली खेलाडीको क्षमता विश्वलाई देखाएर अवसरका प्रशस्त ढोका पनि खोल्यो । एनपिएलले समाजका सबै तह र तप्कामा क्रिकेटको क्रेज मात्र बढाएन, सिंगो देशलाई खेलकुदमय बनाइदियो ।

भर्खरै सकिएको एनपीएलको चर्चा सेलाउन नपाउँदै नेपालका पुरुष भलिबलको फ्रेन्चाइज लिग नेपाल भलिबल लिग (एनभीएल) घोषणा भएको छ । आगामी मार्च–अप्रिलतिर गर्ने तयारीका साथ केडिया ग्रुपले नेपाल भलिबल लिगको नाम, लोगो र स्लोगान सार्वजनिक गरिसकेको छ । यसमा ६ टिमले प्रतिस्पर्धा गर्नेछन् । जसमा विदेशी खेलाडीहरूसमेत आउनेछन् । यसअघि नै महिला भलिबलको लिग एभरेष्ट वुमन्स भलिबल लिग (इडब्लूभीएल) असोजमा सञ्चालन भएको थियो ।

इन्फिनिटी ड्रिम्समा आयोजनामा भएको इडब्लूभीएल एसियाकै पहिलो महिला भलिबल फ्रेन्चाइज लिग भएको आयोजकको दावी छ । क्रिकेट र भलिबलबाहेक यस वर्ष अन्य खेलका पनि फ्रेन्चाइज लिग हुँदैछन् । भलिबलमा पुरुष र महिला दुवैको लिग एकै वर्ष हुन लागेको छ । यस्तै, पहिलोपटक कबड्डीको फ्रेन्चाइज लिग हुँदैछ । पुरुष कबड्डीको नेपाल कबड्डी लिग (एनकेएल) आउने माघ पहिलो साता सुरु हुँदैछ । यसैगरी, फुटबलको फ्रेन्चाइज लिग यस वर्ष पनि हुने भएको छ ।

आयोजक नेपाल स्पोट्र्स एन्ड इभेन्ट म्यानेजमेन्ट (एनएसइएम) ले आउने चैतमा नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करण गर्ने घोषणा गरिसकेको छ । अहिलेसम्म नेपालमा क्रिकेट, फुटबल र भलिबलको फ्रेन्चाइज लिग भइसकेको छ भने अब कबड्डी फ्रेन्चाइज लिग गर्ने चौथो खेल बन्नेछ ।