• पुष १० २०८१, बुधबार

एकीकृत समाजवादी मोर्चा किन निष्क्रिय छ ?

पुष ९ २०८१, मंगलवार

काठमाडौँ — माओवादी अध्यक्ष एवं तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले सत्ता टिकाउने हतियारका रूपमा प्रयोग गरेको समाजवादी मोर्चा निष्क्रियजस्तै भएको छ । माओवादी, एकीकृत समाजवादी प्रतिपक्षमा पुगेपछि यसका गतिविधि ठप्पप्रायस् छन् । २०८० असारमा दाहालले कांग्रेससहितको गठबन्धन सरकारलाई टिकाउन मोर्चा घोषणा भएको थियो । माओवादी, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी नेपाल र संसद्बाहिर रहेको नेपाल कम्युनिस्ट पार्टी मिलेर मोर्चा बनाए पनि त्यसको अन्तर्य सत्ता टिकाउने थियो ।

मोर्चामा पछिल्लो पटक बाबुराम भट्टराईबाट अलग भएको नेपाल समाजवादी पार्टी पनि सहभागी भई पाँच दलको मोर्चा बन्यो । तर पछिल्लो तीन महिनादेखि मोर्चाको बैठक समेत बस्न सकेको छैन । पार्टी विभाजनपछि जसपा नेपाल मोर्चाबाट बाहिरिइसकेको छ । गत असारमा कांग्रेस र एमाले गठबन्धन सरकार बनेपछि मोर्चाका गतिविधि ठप्प प्रायः छन् । माओवादी केन्द्र अध्यक्ष दाहालकै अरुचिका कारण मोर्चा अघि बढ्न नसकेको नेताहरूको भनाइ छ ।

नेपाली विशेषताको समाजवादको आधार निर्माण गर्नेु मुख्य उद्देश्यसहित मोर्चालाई केन्द्र, प्रदेश जिल्ला र स्थानीय तहसम्म गठन गर्ने कार्यविधिसहितको प्रतिवेदनको मस्यौदा बन्यो । चार दलका नेताहरूको कार्यदल बनाएको प्रतिवेदन अलपत्र छ । मोर्चासम्बद्ध नेताहरूले माओवादी केन्द्र सरकारबाट बाहिरिएपछि दाहालले मोर्चालाई सक्रिय बनाउने जाँगर नदेखाएको बताएका छन् । ‘सरकारमा रहँदा प्रचण्डजीले समाजवादी मोर्चालाई सत्ताको हतियारको रुपमा अघि बढाउनु भयो ।

अहिले मोर्चा भए पनि भविष्यमा पार्टी नै बनाउने भन्नुहुन्थ्यो । अहिले मोर्चाको नामनै लिन चाहनुभएको छैन,’ मोर्चा सम्वद्ध दलका एक नेताले भने, ‘नेपालमा समाजवादी शक्ति निर्माण गर्ने उद्देश्यले मोर्चा गठन भएको थियो । तर पछिल्लो समय प्रचण्डजीको जाँगर नै देखिएन ।’ मोर्चाका संयोजक रहेका नेकपा महासचिव नेत्रविक्रम चन्दले यही साता सकिएको केन्द्रीय समिति बैठकले मोर्चालाई सक्रिय बनाउने निर्णय गरेको छ । चन्दले मोर्चालाई सक्रिय बनाउन दाहाल, एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाललाई आग्रह गरिसकेका छन् ।

माओवादी केन्द्रका महासचिव देव गुरुङले मोर्चामा रहेका दलहरू आआफ्नो पार्टीको काममा व्यस्त भएकाले गतिविधि हुन नसकेको बताए । मोर्चामा रहेका सबै दलबीच कार्यक्रम गर्ने भन्नेमा सहमत भए पनि आ(आफ्नो व्यवस्थताले सम्भव नभएको बताए । ‘मोर्चामा रहेका सबै आ-आफ्ना दलका कार्यक्रम भइरहेका छन् । एक ठाउँमा जुटेर सल्लाह गर्न पाएको छैनौँ,’ उनले भने, ‘समाजवादी क्रियाशील बनाउने विमति छैन ।

मोर्चाको कार्यविधि तयार भए पनि अन्तिम रूप दिन पाइएको छैन ।’ उनले माओवादी केन्द्र, एकीकृत समाजवादी र नेकपाको आ(आफ्नो बैठकले मोर्चालाई अघि बढाउने निर्णय गरेकाले आवश्यकताअनुसार अघि बढ्ने जनाए । ‘नेपालमा समाजवादको आधार तयार गर्ने गरी फेरि सक्रिय हुनेछ,’ उनले भने ।