८ पुस, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) गत शनिबारदेखि सम्पन्न भयो । जनकपुर बोल्ट्सले सुदूरपश्चिमलाई हराउँदै उपाधि जितेको थियो । प्रतियोगितामा सर्वोत्कृष्ट नेपाली खेलाडी दिपेन्द्रसिंह ऐरी घोषित हुँदा इंग्ल्याण्डका सेफ अली जैब प्रतियोगिताकै उत्कृष्ट खेलाडी घोषित भए । समग्रमा हेर्दा केही नेपाली खेलाडीहरूले शानदार प्रदर्शन गर्दा केहीका लागि भने प्रतियोगिता त्यति सम्झनलायक रहेन । नेपाली राष्ट्रिय टोलीले पछिल्लोपटक क्यानडा र अमेरिकामा लिग २ तथा टी२०आई श्रृंखला खेलेको थियो ।
त्यसबेला राष्ट्रिय टोलीमा रोहित पौडेल, कुशल भुर्तेल, आसिफ सेख, अनिल साह, भीम सार्की, आरिफ सेख, कुशल मल्ल, दीपेन्द्र सिंह ऐरी, अर्जुन साउद, सोमपाल कामी, करण केसी, गुल्सन झा, रिजन ढकाल, सन्दीप लामिछाने र ललित राजवंशी खेलेका थिए । एनपीएलमा यी राष्ट्रिय टोलीका खेलाडीहरूको प्रदर्शन कस्तो रह्यो त ? आज खेलाडीहरूको प्रदर्शनबारे कुरा गर्ने छौं । रोहित पौडेल ः नेपाली राष्ट्रिय टोलीका समेत कप्तान रहेका रोहित पौडेलले एनपीएलमा लुम्बिनी लायन्सको कप्तानी गरेका थिए ।
उनको टिम लुम्बिनी प्रतियोगिताको पुछारमा रहँदै बाहिरिएपनि रोहितले भने आफ्नो तर्फबाट शानदार प्रदर्शन गरेका थिए । उनी प्रतियोगितामा सबैभन्दा धेरै रन बनाउने नेपाली खेलाडी बने । उनले ७ खेलमा २७९ रन बनाएका थिए भने बलिङबाट ८ विकेट पनि लिएका थिए । समग्रमा उनको व्यक्तिगत फर्मका लागि भने एनपीएल फलदायी नै रह्यो । दिपेन्द्रसिंह ऐरी : एनपीएल उपविजेता टिम सुदूरपश्चिम रोयल्सका कप्तान रहेका अलराउण्डर दिपेन्द्रसिंह ऐरीलाई पनि एनपीएल फलदायी नै रह्यो ।
उनको टिमको प्रदर्शनसँगै प्रतियोगिताभर उनी पनि प्रतियोगिताभर ब्याटिङ, बलिङ र फिल्डिङ तीनवटै पक्षमा शानदार देखिएका थिए । फाइनलमा चुकेपनि दिपेन्द्रले प्रतियोगितामा ९ खेलमा एक अर्धशतकसहित २२७ रन बनाउँदा ९ विकेट पनि लिए । कुशल मल्ल ः एनपीएलमा चौथो स्थान हासिल गरेको टिम चितवन राइनोजको कप्तानी गरेका कुशल प्रतियोगिताकै कान्छो कप्तान समेत थिए । उनले प्रतियोगितामा राम्रो अलराउण्ड प्रदर्शन गरे ।
उनले ८ खेलमा २२३ रन बनाउनुका साथै ९ विकेट पनि लिएका छन् । दुई विश्वचर्चित सिनियर खेलाडीद्वय रवि बोपारा र सोहेल तनविरको टिममा उपस्थितिले उनको मनोबल बढ्दा उनको ब्याटिङ र बलिङ दुवै पक्ष सन्तुलित देखिएको थियो । आसिफ शेख ः एनपीएलको विजेता टोली जनकपुर बोल्ट्सका मार्की खेलाडी रहेकमा आसिफले कप्तान अनिलको अनुपस्थितिमा प्लेअफदेखि फाइनलसम्मका खेलमा कप्तानी गरेका थिए । उनका लागि पनि प्रतियोगिता मध्यम रह्यो ।
उनले प्रतियोगिताभर १० खेलमा १६२ रन बनाएका थिए । फाइनलमा सुदूरपश्चिमविरूद्ध उनले लाहिरु मिलान्थासँग मिलेर शानदार ओपनिङ दिलाउँदै जितको आधार तय गरेका थिए । अनिल शाह : एनपीएल विजेता टोली जनकपुरका कप्तान रहेका अनिलका लागि पनि आसिफजस्तै प्रतियोगिता मध्यम रहँदा उनले प्लेअफअघि चोट पनि बोक्न पुगे । लिग चरणको अन्तिम खेलमा चितवनसँग ८ रनमा आउट भएपछि निराशामा ब्याटमा प्रहार गर्दा उनको बाँयाहातमा चोट लागेको थियो ।
अनिलले एनपीएलमा ७ खेलमा एक अर्धशतकसहित १३२ रन बनाए । उनी प्रतियोगितामा सबैभन्दा धेरै क्याच लिने खेलाडी समेत हुन् । उनले ७ खेलमा १२ क्याच लिएका थिए । कुशल भुर्तेल : एनपीएलमा पोखरा एभेन्जर्सको कप्तान तथा मार्की रहेका भुर्तेलका लागि एनपीएल फलदायी हुन सकेन । उनले प्रतियोगिताभर ७ खेलमा ५४ रन मात्र बनाए । उनकव सबैभन्दा बलियो पक्ष रहेको ब्याटिङबाटै उनले राम्रो प्रदर्शन गर्न सकेनन् । बलिङबाट ७ खेलमा ५ विकेट लिए ।
उनको टिम पनि लिग चरणमा सातौं स्थानमा रहँदै प्रतियोगिताबाट बाहिरिएको थियो । कप्तानका रूपमा पनि उनको लागि एनपीएलको पहिलो सिजन राम्रो रहेन । सोमपाल कामी : नेपाली राष्ट्रिय टोलीका नियमित पेस बलिङ अलराउण्डर सोमपालका लागि एनपीएल मध्यम रह्यो भन्नुपर्छ । कर्णाली याक्सको मार्की तथा कप्तान रहेका सोमपालले प्रतियोगितामा ९ खेलमा ९ विकेट लिए । उनको टोली कर्णाली पनि प्लेअफमा पुग्दै तेस्रो भएको थियो ।
उनले ब्याटबाट ९ खेलमा ५२ रन बनाए जसमा एक खेलमा २९ नटआउटको स्कोर पनि समावेश छ । करण केसी ः नेपाली टोलीका अर्का बलिङ अलराउण्डर करणका लागि एनपीएल ठीकठाक रह्यो । काठमाण्डु गुर्खाजका मार्की तथा कप्तान रहेका करणले ७ खेलमा १२ विकेट लिएका थिए भने ब्याटबाट ७ खेलमा ५१ रन बनाए । उनको टिम काठमाण्डु कर्णालीसँग समान अंक भएपनि नेटरनरेटमा पछि पर्दै पाँचौं स्थानमा रहेर प्लेअफमा पुग्न सकेको थिएन ।
सन्दीप लामिछाने : नेपाली राष्ट्रिय टिमका लेगस्पीनर सन्दीप विराटनगर किंग्सको मार्की तथा कप्तान थिए । उनका लागि प्रतियोगिता फलदायी हुन सकेन । उनले प्रतियोगितामा ७ खेलमा ६ विकेट लिएका थिए जसमध्ये पनि अन्तिम ३ विकेट अन्तिम खेलमा आएको थियो जुनबेला विराटनगर लिग चरणबाट बाहिरिने पक्का भइसकेको थियो। ब्याटबाट पनि केही ठुला शट खेल्न सक्षम उनले ७ खेलमा २२ रन मात्र बनाउन सके । ललित राजवंशी : एनपीएल उपाधि विजेता टोलीका मुख्य बलरका रूपमा देखिएका ललितका लागि एनपीएल शानदार रह्यो ।
१० खेलमा १७ विकेट लिएका उनी प्रतियोगितामा सर्वाधिक विकेट लिने खेलाडीको शीर्ष स्थानमा सुदूरका स्कट कुग्लेइनसँग संयुक्त रूपमा थिए । प्रतियोगिताकै उत्कृष्ट बलर घोषित उनले ५.३२ को इकोनोमीमा बलिङ गरेका थिए भने सर्वाधिक ५ मेडन ओभर पनि गरे । उनको बेस्ट बलिङ ४ ओभरमा ८ रन दिएर ३ विकेट लिनु थियो । उनकै शानदार बलिङ प्रदर्शनमा जनकपुरले एनपीएलको उपाधि जित्न सफल भयो ।
रिजन ढकाल : एनपीएलमा चौथो भएको टिम चितवन राइनोजका मुख्य पेसर रिजन ढकालका लागि पनि एनपीएल शानदार रह्यो । बाँयाहाते बलर रिजनले एनपीएलका ८ खेलमा १३ विकेट लिएका थिए । उनको बेस्ट बलिङ ४ ओभरमा ३९१० थियो । उनले पावरप्ले र डेथ ओभरमा राम्रो इनस्वीङ बलमार्फत ब्याटरहरूलाई दबाबमा राख्ने काम गरेका थिए । उनले भेट्रान बलर सोहेल तनविरसँग मिलेर चितवनको बलिङ आक्रमण सम्हालेका थिए ।
गुल्शन झा : एनपीएलमा कर्णाली याक्सबाट खेलेका गुल्शनका लागि एनपीएल मध्यम रह्यो । उनले प्रतियोगितामा ९ खेलमा १३२ रन बनाएका थिए । प्रतियोगितामा धेरै बलिङ नगरेका उनले १ विकेट मात्र लिए । फिल्डिङमा उनले केही महत्वपूर्ण क्याचहरू लिएका थिए । उनको टिम कर्णाली याक्स एनपीएलमा तेस्रो भयो । भीम सार्की : काठमाण्डु गुर्खाजबाट एनपीएल खेलेका भीमका लागि एनपीएल त्यति फलदायी हुन सकेन । उनी नेपालका लागि टी२० आई भन्दा पनि ओडिआईका भरपर्दो खेलाडी हुन् ।
उनले एनपीएलमा ७ खेलमा ७८ रन बनाए । आरिफ शेख : सुदूरपश्चिम रोयल्सबाट खेलेका आरिफका लागि एनपीएल मध्यम रह्यो । उनले प्रतियोगिताभर ९ खेलमा ६९ रन बनाए । मध्यक्रममा उनले क्रिजमा टिकेर खेल्दै ब्याटरहरूलाई साथ दिएका थिए । उनको उपलब्धि सुदूरपश्चिमबाट एनपीएलको उपविजेता बन्नु रह्यो । उनी पनि भीमजस्तै ओडिआईमा भरपर्दो खेलाडी हुन् । अर्जुन साउद ः एनपीएलमा लुम्बिनी लायन्सबाट खेलेका अर्जुन साउदका लागि एनपीएल फलदायी हुन सकेन ।
लिग चरणका ७ मध्ये ६ खेलमा मौका पाएका उनले ६८ रन बनाए । उनको टिम लुम्बिनी पनि लिग चरणमा एक जित मात्र निकाल्दै प्रतियोगिताबाट बाहिरिएको थियो । यीबाहेक नेपाली राष्ट्रिय टिमबाट पछिल्लो समय टी२०आई खेलेका सन्दीप जोरा र विवेक यादवका लागि पनि प्रतियोगिता फलदायी हुन सकेन । दुवैजना लुम्बिनी लायन्सबाट खेलेका थिए । जोराले ७ खेलमा १२० रन तथा विवेकले ६ खेलमा १०० रन बनाएका थिए । दुवैले टिमको हारको संकट भने टार्न सकेनन् । यद्यपी पावर हिटिङका लागि भने आफूहरूलाई परिचित नै राखे ।.