• पुष १ २०८१, सोमबार

नक्कली शरणार्थी काण्ड : बादलका छोरा प्रतीक र झालाई थुनामै पठाउन आदेश

पुष १ २०८१, सोमबार

काठमाडौँ । उच्च अदालत पाटनले नक्कली शरणार्थी प्रकरणमा मुछिएका बेचन झा र प्रतिक थापालाई थुनामै पठाउन आदेश गरेको छ । जिल्ला अदालत काठमाडौँले थुनामा पठाएपछि उनीहरु उच्च अदालत पाटन पुगेका थिए ।

न्यायाधीशहरू अन्जु उप्रेती ढकाल र कैलाशप्रसाद सुवेदीको इजलासले पुर्पक्षका लागि थुनामा पठाउने निर्णय सदर गरेको हो । दुवै प्रतिवादीलाई २०८१ भदौ २ गते जिल्ला अदालत काठमाडौँले थुनामा पठाउने आदेश गरेको थियो ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा झाविरुद्ध पूरक अभियोग दर्ता भएको थियो भने पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतीक थापा विरुद्ध सुरुमै अभियोग पत्र दायर भएको थियो । उनी तत्कालीन समयमा फरार रहेका थिए ।

पछि अदालतमा पक्राउ गरेर पेस गरेपछि पुर्पक्षका लागि थुनामा पठाएको थियो । दुवै मुद्दा जिल्ला अदालतमा विचाराधीन रहेको छ। उक्त मुद्दामा नेपाली काग्रेसका नेता बालकृष्ण खाँड एमाले नेता टोपबहादुर रायमाझी र निलम्बित सचिव टेकनारायण पाण्डे समेत प्रतिवादी रहेका छन् ।