२८ मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा आज भइरहेको विराटनगर किंग्स र चितवन राइनोजबीचको खेलमा एकै बलमा १५ रनको कीर्तिमान बनेको छ । विराटनगरका बसिर अहमदले एकै बलमा १५ रन बनाउन सहयोग गरे । एनपीएलमा यो अनौंठौ कीर्तिमान हो । एक बलमा कसरी बन्छ १५ रन ? कसरी सम्भव भयो १ बलमा १५ रन ? नझुक्किनुस् है, यो एक ओभरमा बनेको हैन, एकै बलमा बनेको हो । चितवन राइनोजका बलर अमर सिंह राउटेलाको ओभरमा विराटनगरले एकै बलमा १५ रन जोडेको हो ।
खेलको ११औं ओभरमा बलिङ गर्न आएका राउटेलालले सुरुआती तीन ओभर किफायती गरेका थिए । उनले पहिलो बलमा मार्टिन गप्टिललाई एक रन दिए । दोस्रो बलमा बसिर अहमदलाई कुनै रन दिएनन् । तेस्रो बलमा बसिरले एक रन जोडेर गप्टिललाई स्ट्राइक दिए । चौथो बलमा गप्टिलले राउटेलालाई छक्का हाने । पाँचौ बलमा गप्टिले सिंगल लिए । पाँच बलसम्म विराटनगरले जम्मा ९ रन जोडेको थियो । तर त्यसपछि अन्तिम बलमा जे भयो त्यो इतिहास बन्यो ।
अन्तिम बलमा ‘ड्रामाटिक लास्ट बल’ भने जस्तै । राउटेलाको बलमा बसिरले छक्का हाने । उक्त बल ‘नो बल’ भयो । राउटेलाले फेरि बलिङ गर्नुपर्याे । त्यसमा बसिरले २ रन जोडे तर फेरि ‘नो बल’ भयो । ‘नो बल’ हुँदा कुल ३ रन आयो । राउटेलाले फेरि बल फाल्नुर्पयो । त्यो बल पनि ‘नो बल’ भयो तर बसिरले कुने रन लिएनन् । त्यसमा १ रन आयो । ३ पटक ‘नो बल’ फालेपछि बल्ल चौथो प्रयासमा राउटेलाले लेगल डेलिभरी गरे । त्यसमा बसिरले चौका हान्दिए ।
यसरी एउटै बलका लागि राउटेलाले चार पटक बलिङ गर्नपुर्याे र त्यसैको फाइदा उठाएर विराटनगरले एकै बलमा १५ रन जोड्यो । राउटेलाले खेलमा एकै ओभर बलिङ गरे । त्यसमा महंगा सावित भए । त्यमसा पनि एकै बलमा ११ बल अतिरिक्तको रुपमा दिए । उनले एक ओभरमा कूल २२ रन खर्चेका थिए । यसअघि एनपीएलमा एकै बलमा बनेको धेरै रन ११ थियो । जनकपुर बोल्ट्सले विराटनगर किंग्स विरुद्धको उद्घाटन खेलमै एकै बलमा ११ रन जोडेको थियो ।
बसिरले उत्कृष्ट ब्याटिङ गर्दै ४४ बलमा ४ चौका र ४ छक्का मदतमा अविजित ६८ रन बनाएपछि विराटनगरले चितवनलाई १८२ रनको लक्ष्य दिएको छ । विराटनगरले दिएको १२८ रनको लक्ष्य पछ्याउने क्रममा जनकपुरले पहिलो बलमै ११ रन जोडेको हो । विराटनगरका क्रिस सोल बलिङमा थिए । जनकपुरका कप्तान अनिल शाह स्ट्राइकमा हुँदा पहिलो बल वाइड चौका भयो र जनकपुरले ५ रन जोड्यो । यस्तै त्यसपछि पनि सोलले वाइड बल फाल्दा विराटनगरले एक रन पायो ।
पहिलो बलको लेगल डेलीभरीमा ओभर थ्रो हुँदा जनकपुरले थप ५ रन जोड्दै ११ रन जोडेको हो । विश्व क्रिकेटमा पनि नो बल हुँदा एकै बलमा धेरै रन बनेको धेरै उदाहरणहरु छन् । अष्ट्रेलियन बिग बास लिग (बीबीएल) मा एकै बलमा १६ रन बनेको उदाहरण समेत छ । सिड्नी सिक्सर्सले होबार्ट हुरिकेन्स विरुद्ध एकै बलमा १६ रन जोडेको थियो ।