• मंसिर १८ २०८१, मंगलवार

विद्यार्थीले घाँस काटे पनि पाउनेछन् नम्बर, कहिलेदेखि लागू हुन्छ ?

मंसिर १७ २०८१, सोमबार

१७ मंसिर, काठमाडौं । विद्यार्थीले घरमा काम गरेबापत पनि नम्बर पाउनेभन्दा अनौठो लाग्न सक्छ । तर, पाठ्यक्रम विकास केन्द्रले विद्यार्थीले घरमा गरेको कामलाई पनि नम्बर दिनेगरी पाठ्यक्रम परिमार्जन गर्ने तयारी गरेको छ । पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक इमनारायण श्रेष्ठका अनुसार परिमार्जित पाठ्यक्रम आगामी शैक्षिकसत्र २०८२ देखि कार्यान्वयन गर्ने तयारी छ । नयाँ पाठ्यक्रम कार्यान्वयनमा आएपछि विद्यार्थीले खेतबारी जोते, घाँस काटे, भात–तरकारी पकाए, भाइ(बहिनी हेरे, बजारमा किनमेल गरे, लुगा सिलाए वा आरनमा काम गरे पनि नम्बर पाउनेछन् ।

‘नीतिमा श्रमप्रति सम्मान गर्ने भनिएको छ । तर समाजमा पढेनस् भने हलो जोत्लास, कोदालो खन्लास् भन्ने भाष्य छ । यो गलत हो,’ महानिर्देशक श्रेष्ठले भने, ‘हलो जोत्नु, खनजोत गर्नु पनि सिप हो । यो सिकाइको स्रोत हो, त्यसैले घरमा काम गरेको आधारमा नम्बर दिइन्छ ।’ श्रेष्ठले थपे, ‘बजारमा किनमेल गर्न गयो भने अर्थको बारेमा जानेको हुन्छ । मानिसँग बोल्न सिकेको हुन्छ ।’विद्यार्थीले लुगा सिउने र आरनमा काम गर्ने जस्ता जीवनोपयोगी शिक्षा घरमा सिकिरहेको भएमा त्यसलाई पनि आन्तरिक मूल्याङ्कनमा जोडिने छ ।

कक्षा ४ देखि ८ सम्म ५० नम्बरको आन्तरिक र ५० नम्बरको बाह्य परीक्षा हुन्छ । कक्षा ९ देखि १२ सम्म २५ को आन्तरिक र ७५ को बाह्य परीक्षा हुन्छ । आन्तरिक मूल्याङ्कनमा केही अंक छुट्टाएर घरको कामलाई नम्बर दिन लागिएको केन्द्रले जनाएको छ । कसरी दिइन्छ नम्बर ? विद्यार्थीले घरमा गरेको काम शिक्षकलाई रिपोर्ट गर्नुपर्ने हुन्छ । ‘विद्यार्थीले आज यो काम घरमा यति घण्टा गरेर आएँ भनेर शिक्षकलाई भन्नुपर्छ । शिक्षकले रेकर्ड राख्नुपर्छ’ महानिर्देशक श्रेष्ठले भने । विद्यार्थीले शिक्षकलाई रिपोर्ट गरेपछि फेरि शिक्षकले अभिभावकसँग समन्वय गर्ने महानिर्देशक श्रेष्ठ बताउँछन् । ‘विद्यार्थीले रिपोर्ट गरेर मात्र हुँदैन ।