काठमाडाैं । विराटनगर किंग्सलाई ८ विकेटले हराउँदै जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग एनपिएलमा विजयी सुरुवात गरेको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा शनिबार टस हारेर पहिला ब्याटिङ गरेको विराटनगर किंग्सले १९ ओभरमा अलआउट हुँदै एक सय २८ रनको लक्ष्य प्रस्तुत गरेको थियो । प्रत्युत्तरमा ब्याटिङ गरेको जनकपुरले १५.३ ओभरमा २ विकेट गुमाउँदै जित निकालेको हो ।
जनकपुरको जितमा अमेरिकी खेलाडी लाहिरु मिलान्थाले अर्धसतक बनाए । ३० वर्षिया बायाँ हाते ब्याटर तथा विकेटकिपरले ५३ बलमा ९ चौका र ३ छक्कासहित सर्वाधिक ७५ रन बनाए । श्रीलंकाको कोलम्बोमा जन्मिएर अमेरिकाको लागि खेलिरहेका लाहिरुले ३९ बलमा ६ चौका र २ छक्कासहित अर्धसतक बनाएका थिए । उनी प्रतियोगितामा अर्धसतक बनाउने दोस्रो खेलाडी हुन् ।
तेस्रो नम्बर क्रिजमा आएका उनले ११.१ ओभरमा अर्धसतक बनाउँदा जनकपुरले २ विकेट गुमाउँदै ८८ रन जोडेको थियो । २७ वर्षीय क्यानेडियन खेलाडी हर्ष थाकरले ३३ बलमा दुई चौकासहित २९ रन बनाएका हुन् । दुई खेलाडीबीच सतकीय साझेदारी भएको थियो ।
ओपनरद्वय मार्की आसिफ शेख र कप्तान अनिलकुमार शाह १.६ ओभरमा १५ रन बनाउँदा आउट भएपछि लाहिरु र थाकरको जोडिले जितको आधार तयार गरेका थिए ।
यसअघि न्युजिल्यान्डका ३९ वर्षीय अनुभवी ब्याटर मार्टिनले अर्धसतक बनाएपछि विराटनगरले टस हारेर पहिला ब्याटिङ गर्दै सबै विकेट गुमाएर मात्र एक सय २७ रन बनायो । गप्टिलले ४३ बलमा सात चौका र १ छक्कासहित सर्वाधिक ५५ रन बनाए ।
गप्टिलल ३६ बलमा ७ चौका र एक छक्कासहित अर्धसतक बनाउने पहिलो खेलाडी बनेका थिए । उनी हर्ष थाकरको बलमा कप्तान अनिलकुमार शाहबाट क्याच आउट हुन पुगेका थिए ।
ओपनर गप्टिलले अर्धसतक बनाउँदा विराटनगर १२.१ ओभरमा ८३–३ को अवस्थामा थियो । यसबाहेक अकिब इल्यासले १८ बलमा १५ रन बनाए । दुई खेलाडी बाहेक अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
ओपनर लोकश बमले ५, निकोलस किर्टनले ९, बसिर अहमदले ७, राजेश पुलामीमगरले १, प्रतिश जिसीले २ तथा कप्तान सन्दीप लामिछाने ७ रन, क्रिस सोल ४ रन बनाएर आउट भएका थिए ।
टस जितेर बलिङ गरेको जनकपुरको लागि ललितनारायण राजवंशीले तीन विकेट लिए । उनले ४ ओभरमा २८ रन खर्चिएका थिए । उनी नै एनपिएलमा पहिलो विकेट लिने खेलाडी बनेका छन् ।
ललितले दोस्रो ओभरको पहिलो बलमा विराटनगरका लोकेश बमलाई बोल्ड गरेका थिए । त्यस्तै किशोर महतो र हर्ष थाकरले समान दुई विकेट हात पारे । बेन माइक र मोहमद मोहसिनले समान एक विकेट लिएका थिए ।
यसअघि प्रतियोगिताको उद्घाटन युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले गरेका थिए । राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गर्ने भनेपनि अन्तिममा नाम फिर्ता लिएको क्यान स्रोतले बतायो । त्यसपछि खेलकुद मन्त्री तेजुलाल चौधरीले उद्घाटन गरेका हुन् ।
उद्घाटनसत्रमा राष्ट्रिय खेलकुद परिषद् सदस्य सचिव टंकलाल घिसिङसहित क्यानका पदाधिकारीको उपस्थिति रहेको थियो ।
उद्घाटनसत्र अघि कर्णाली याक्समा अनुबन्ध भएका भारतीय चर्चित खेलाडी शिखर धवनले मैदान परिक्रमा गर्दै नेपाली समर्थकको अभिवादन स्विकार गरेका थिए ।
८ टिमबीच हुने एनपिएलको समापन ६ पुसमा हुनेछ । नेपाल क्रिकेट संघले विजेतालाई १ करोड ११ लाख र उपविजेताले ५५ लाख पाउने जनाएको छ । त्यस्तै, तेस्रोले ३० लाख र चौथोले २० लाख पाउने छन् ।
अब, कीर्तिपुरमा आइतबार निर्वाचन हुने हुँदा कुनै खेल छैन । सोमबार पहिलो खेलमा काठमाडौं गुर्खाज र चितवन राइजो तथा कर्णाली याक्स र जनकपुर बोल्ट्स खेल्ने तालिका छ ।