• मंसिर १५ २०८१, शनिबार

एनपीएल खेल्न शिखर धवन नेपाल आइपुगे

मंसिर १४ २०८१, शुक्रबार

१४ मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएलमा कर्णाली याक्सको टिमबाट खेल्न भारतका चर्चित खेलाडी शिखर धवन नेपाल आइपुगेका छन् । उनी शुक्रबार साँझ काठमाडौं आइपुगेका हुन् । उनलाई कर्णाली याक्स टिमका अफिसियलहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे । एनपीएल खेल्न आउने धवन सबैभन्दा ठुलो नाम हो । बाँयाहाते ब्याटर उनले ओपनिङमा खेल्ने गर्छन् भने भारतीय टोलीबाट सन् २०१३ को च्याम्पियन्स ट्रफी तथा सन् २०१६ र २०१८ को एसिया कप जितेका छन् ।

त्यसैगरी आइपीएल टीम सनराइजर्स हैदराबादबाट आइपीएलको उपाधि पनि जितेका छन् । उनले भारतका लागि टी२० अन्तर्राष्ट्रिय क्रिकेटमा ६६ खेलबाट १७५९ रन बनाएका छन् भने सबैखाले टी२०मा ३३४ खेल खेल्दा २ शतक र ७० अर्धशतकसहित ९७९७ रन बनाएका छन् । आइपीएलमा मात्र उनको ६७६९ रन छ । कर्णालीका अन्य विदेशी खेलाडीमा हङकङका बाबर हायात, वेस्टइन्डिजका चाडविक वाल्टन र ओमानका जीशान मकसुद छन् ।

उनीहरू तीनैजना नेपाल आइसकेका छन् । हालसम्म १५ देशका ४० जना विदेशी खेलाडीहरू एनपीएलका लागि अनुबन्धित छन् । तीमध्ये यो समाचार तयार पार्दासम्म १२ देशका २८ जना विदेशी खेलाडी नेपाल आइसकेका छन् । एक टिमले चारजना विदेशी खेलाडी अनिवार्य राख्नुपर्ने प्रावधान छ भने उपलब्धता हेरेर ६ जनासम्म विदेशी राख्न पाउँछन् । एनपीएलका लागि पोखरा एभेन्जर्स र जनकपुर बोल्ट्सले ६९६ जना खेलाडी अनुबन्ध गरेका छन् भने कर्णाली याक्स र सुदूरपश्चिम रोयल्सले ४९४ खेलाडी अनुबन्ध गरेका छन् । अन्य चार टोलीले ५९५ जना विदेशी खेलाडी राखेका छन् ।