• मंसिर १४ २०८१, शुक्रबार

विश्वकप विजेता सोहेल तन्भिरले चितवनबाट खेल्ने

मंसिर १३ २०८१, बिहीबार

१३ मंसिर, काठमाडौं । पाकिस्तानका अनुभवी बलिङ अलराउण्डर सोहेल तनभिरले चितवन राइनोजबाट नेपाल प्रिमियर लिग (एनपीएल) खेल्ने भएका छन् । चितवनले बिहीबार साँझ विज्ञप्ति जारी गर्दै तनभिरलाई अनुबन्ध गरेको जनाएको हो । दक्षिण अफ्रिकी बलर मर्चेन्ट डे लाङ घाइते भएका कारण नआउने भएपछि तनभिरलाई उनको प्रतिस्थापनको रूपमा ल्याइएको हो । ३९ वर्षीय तनभिरले पाकिस्तानबाट लामो समय खेलेका छन् ।

उनको पाकिस्तान सिनियर टिम तथा अन्य फ्रेन्चाइज लिगमा रामरो अनुभव छ । फस्र्ट क्लास क्रिकेटमा उनले ७४ खेलमा ३१० रन बनाएका छन् । बाँयाहाते मिडियम पेस बलिङ गर्ने उनले पाकिस्तानका लागि ५७ टी२०आई खेलमा ५४ विकेट लिएका छन् । त्यसैगरी सबैखाले टी२०मा ३८८ खेल खेल्दा ३८९ विकेट लिएका छन् । त्यसैगरी ब्याटिङमार्फत २७०० भन्दा धेरै रन पनि बनाएका छन् ।

उनले पाकिस्तानबाट सन् २००९ को टी२० विश्वकप जितेका छन् भने राजस्थान रोयल्सबाट इन्डियन प्रिमियर लिग आइपीएल पनि जितेका छन् । त्यसैगरी पाकिस्तान सुपर लिग पनि जितेका छन् । चितवनमा अनुबन्ध भएपछि उनले भनेका छन, ‘मैले यसलाई एक चूनौतिका रुपमा लिएको छु । नेपाल गएर हजारौं नेपाली क्रिकेट फ्यानहरुका सामु चितवन राइनोजको प्रतिनिधित्व गर्दा अत्यन्त गौरवशाली अनुभुति हुनेछ ।

मलाई लाग्छ नेपालमा पनि पाकिस्तानी क्रिकेट टिमका धेरै फ्यानहरू छन’त्यसैगरी तनभिरलाई अनुबन्ध गरेपछि चितवन राइनोजका अध्यक्ष आयुष न्यौपानेले तनभिरजस्तो वसश्वचर्चित खेलाडीलाई अनुबन्ध गर्न पाउँदा उत्साहित भएको उल्लेख गरेका छन् । ‘हामीलाई यस्तै कुनै खेलाडीको खाँचो थियो । हामीले डे लाङको अभावलाई खड्किन नदिन सोहेल तनभिरलाई अनुबन्ध गरी टिममा नयाँ ऊर्जा थपेका छौं ।

उनको उपस्थितिले टिमलाई उत्कृष्ट प्रदर्शन गर्न प्रोत्साहित गर्दछ’ उनले भनेका छन् । चितवन राइनोजका विदेशी खेलाडीमा तनभिरसँगै नामिबियाका जान निकोल लफ्टी इटन, इंग्ल्याण्डका लुक बेनकेन्सटाइन र रवि बोपारा तथा अफगानिस्तानका हसन एइसाखिल छन् ।