• मंसिर १४ २०८१, शुक्रबार

नेपालमा एनपीएलको रौनक, युवा टोली यू–१९ एसिया कपमा व्यस्त

मंसिर १३ २०८१, बिहीबार

१३ मंसिर, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा यही मंसिर १५ अर्थात आउने शनिवारदेखि नेपाल प्रिमियर लिग एनपीएल सुरु हुँदैछ । जसमा ८ टिमको सहभागिता हुनेछ । अहिले नेपाली क्रिकेट खेलाडी देखि सारा समर्थक एनपीएलको प्रतिक्षामा छन् । तर एनपीएलमा सहभागीमध्ये एक टिम जनकपुर बोल्ट्सका खेलाडी हेमन्त धामीको नेतृत्वमा १५ सदस्यीय यू–१९ नेपाली टोली भने एसीसी यू–१९ एसिया कप खेल्न हाल युएईमा छ ।

नेपालमा अहिलेसम्मकै ठूलो क्रिकेट लिग हुन लाग्दा हेमन्तसहितका युवा खेलाडी भने यतिबेला यू१९ एसिया कपमा उत्कृष्ट नजिता ल्याउने लक्ष्यमा छन् । यू–१९ टोलीमा एनपीएलका लागि विभिन्न टोलीमा छनोट भएका ७ खेलाडी छन् । यी सात खेलाडीले एनपीएलको प्रारम्भिक खेल गुमाउनेछन् । जसमा हेमन्तसँगै जनकपुरका आकाश त्रिपाठी छन् । यस्तै उपकप्तान अर्जनु कुमाल र नरेन साउदी सुदूरपश्चिम रोएल्स, नरेन भट्ट विराटनगर किंग्स, रन्जित कुमार चितवन राइनोज र युनिस विक्र ठकुरी कर्णाली याक्समा अनुबन्ध छन् ।

क्यानले सहभागी फ्रेन्चाइजहरुसँग छलफल गरेर यू१( एसिया कपबाट फर्केर आएपछि फ्रेन्चाइजमा फेरि सामेल हुने सहमति अनुसार ती खेलाडीलाई यू १९ टिममा राखेको छ । युएई जानुअघि अनलाइनखबरसँगको कुराकानीमा कप्तान हेमन्त धामीले अहिले आफ्नो ध्यान एनपीएलभन्दा यू१( एसिया कपमा रहेको बताएका थिए । ‘एनपीएल बारे केही सोचेको छैन । यू–१९ मा केन्द्रित हुने र त्यहाँबाट आएर टिम ज्वाइन गर्ने कुरा छ ।’