काठमाडाैं । बुधबारदेखि लागू भएको युद्धविरामपछि इजरायल र हिजबुल्लाहबीचको एक वर्ष लामो लडाइँमा अस्थायी विराम लागेको छ ।
अमेरिकाले हतियार दिन छोडेपछि इजरायल युद्धविराम गर्न बाध्य भएको बताइएको छ । विश्लेषकहरूले यो युद्धविरामपछि इजरायलले हमास र उसको कट्टर प्रतिद्वन्द्वी इरानतर्फ आफ्नो ध्यान केन्द्रित गर्ने टिप्पणी गरेका छन् ।
लेबनानमा युद्धविराम भए पनि इजरायल तत्काल गाजाबाट फिर्ता भने हुनेछैन । हमास र हिजबुल्लाहसित लडाइँमा टिक्न नसकेको इजरायलले इरानसित पनि लडाइँ सुरु गर्ला भन्ने कल्पना मानिसहरुले कम्तिमा हाललाई गरिरहेका छैनन् ।
इजरायलले युद्धविरामका सर्तहरू उल्लङ्घन भएमा हिजबुल्लाहमाथि फेरि आक्रमण गर्न नहिचकिचाउने बताएको छ । त्यसो त हिजबुल्लाह पनि कम छैन । किन की हिजबुल्लाह इरानले चलाएको लडाकू शक्ति हो ।
हिजबुल्लाहले यसअघि इजरायली सेना गाजाबाट पछि हटेपछि मात्र युद्धविराम हुने बताएको थियो । तर, इजरायलको रक्षा तथा सुरक्षा मञ्च थिङ्क ट्याङ्कका संस्थापक अमिर अविवीले प्यालेस्टाइनी भूमिमा युद्धविरामका लागि सहमत हुनुअघि इजरायलले आफ्ना अन्य उद्देश्यहरू सुरक्षित गर्न चाहेको बताएका छन् ।
सन् २०२३ को अक्टुबर ७ मा दक्षिणी इजरायलमा भएको आक्रमणका क्रममा गाजामा अपहरणमा परेका ९७ जना बन्दीहरुबारकोे प्रसंग जोड्दै उनले गाजामा हमाससँग युद्धविराम बन्धकहरूलाई मुक्त गर्ने एउटा उद्देश्यका लागि मात्र हो । जबसम्म बन्धक रिहा हुने सुनिश्चितता हुँदैन, तबसम्म इजरायल गाजाबाट नफर्किने बताइएको छ ।
उता इजरायलले हिजबुल्लाहलाई लेबनानको सीमा क्षेत्रबाट धकेलेर ६० हजार विस्थापित इजरायलीलाई घर फर्कन सुरक्षित गर्ने लक्ष्य राखेको छ भने गाजामा उसले हमासलाई पूर्णरूपमा निर्मूल पार्न चाहेको छ । तर तत्काललाई त्यो सम्भावना छैन ।
हिजबुल्लाहको क्षमता हमासको भन्दा बलियो भएकाले इजरायलले सम्पूर्ण लेबनानलाई समेट्ने गरी आफ्नो जमिनी अभियान विस्तार गर्न कुनै चासो नदेखाएको इन्टरनेसनल क्राइसिस ग्रुपका विज्ञ मैरव जोन्सजेनले बताए । तर हिजबुल्लाहको आक्रमणका कारण इजरेली सेना लेबनान पस्न नसकेपछि र ठूलो क्षति भएपछि नै इजरायल वार्ताको लागि तयार भएको हो ।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले यदि युद्धविराम कायम रह्यो भने इजरायलले लेबनानबाट गाजामा आफ्ना सैन्य इकाइहरूलाई परिवर्तन गर्न सक्नेछ र युद्धबाट थाकेकाहरूलाई राहत दिनेछ ।
खासमा इजरायली सेनाले स्थल लडाइँमा हिजबुल्लाहसित टिक्न नसकेपछि वार्ताको कार्ड फालेको हो । वार्ता असफल भयो भने अब यो २ महिनामा दुवै पक्षले युद्धको तयारी गर्नेछन् ।
सन् २००६ मा भएको लडाइँमा इजरायलले लेबनानसित लडाइँ हारेर घर फर्किएको थियो । इजरायलले गाजाबाट आफ्ना बन्दीहरुको रिहाइको लागि यो युद्धविरामलाई उपयोग गर्ने र फेरियुद्धमै फर्कनसक्ने विष्लेशकहरुको भनाई छ ।
डोनाल्ड ट्रम्पको नयाँ अमेरिकी प्रशासनले इजरायललाई थप समर्थन गर्ने ठानिएको छ । नेतान्याहुले यसअघिको हमाससँगको वार्तामा सम्पूर्ण इजरायली सेना फिर्ता गर्ने र विस्थापित बासिन्दालाई घर फर्कन दिने लगायतका विषय समावेश गरी हमासलाई युद्धविरामको सर्त त्याग्न बाध्य पार्नसक्ने देखिन्छ र त्यसकालागि समय लाग्नसक्छ र युद्ध थप जटिल द्वन्द्वमा परिणत हुनसक्छ ।