• मंसिर १० २०८१, सोमबार

चलचित्र ‘काँडेतार’का निर्माता तथा अभिनेता बेलायतमा सम्मानित

मंसिर १० २०८१, सोमबार

लण्डन । नेपाली चलचित्र ‘काँडेतार’ का निर्माता सत्यकला राई तथा अभिनेता नवल खड्कालाई खस समाज बेलायतले ‘वलिराज सम्मान–२०८१’ द्वारा बेलायतमा सम्मानित गरेको छ । साउथ ईष्ट लण्डन रोयल बरो अफ ग्रीनविचका मेयर जित रानाभाटको प्रमुख आतिथ्यतामा भएको एक कार्यक्रममा उक्त सम्मान गरिएको हो ।

साउथ ईष्ट लण्डनको प्लम्स्टीटस्थित क्याप्रिकन रेस्टुराँमा अभिनेता खड्का र कलाकार राईलाई खस अन्तर्राष्ट्रिय समन्वय समाजका केन्द्रिय संयोजक टेकबहादुर थापा, खस समाज युकेका सल्लाकार राजेन्द्र खस र आदिवासी जनजाति महासंघ युकेका निवर्तमान अध्यक्ष कर्मा पहाडी शेर्पाले संयुक्त रुपमा खादा तथा सम्मानपत्र प्रदान गर्नु भएको थियो ।

नेपाली चलचित्र र कलाको मध्यमबाट नेपाली समाजलाई पुर्याएको योगदानको उच्चमूल्याङ्कन गर्दै उक्त सम्मान गरिएको खस समाजका अन्तराष्ट्रिय संयोजक थापाले बताउनु भयो । सो अवसरमा साउथ ईष्ट लण्डन रोयल बरो अफ ग्रीनविचका मेयर जित रानाभाटले चलचित्र ‘काँडेतार’ को मुक्तकण्ठले प्रशंसा गर्नु भयो ।

उक्त अवसरमा चलचित्र काँडेतारको विशेष शो गोरखा क्याप्रीकनको हलमा प्रदर्शन पनि गरिएको थियो । कार्यक्रमका संयोजक, नायक, निर्माता एवं निर्देशक मनिस श्रेष्ठले चलचित्र काँडेतार यथार्थपरक र राष्ट्रप्रेमले ओतप्रोत कथा वस्तुमा आधारित भएकाले चलचित्र उत्कृष्ट रहेको बताउनु भयो ।

चलचित्र ‘काँडेतार’युकेमा अल्डर्सट, आशफोर्ड, स्वीडन, बेजिङस्टोक, साउथह्यारो लगायतका एक दर्जन ठाउँहरुमा प्रदर्शन गरिएको चलचित्रका नायक नवल खड्काले जानकारी गराउनु भयो ।

आफ्नो देशलाई विदेशी भूमिमा चिनाउने उद्धेश्यले निर्माण भएको चलचित्र ‘काँडेतार’ प्रति बेलायतवासी नेपालीहरुले देखाएको प्रेम र सद्भावबाट आफू अत्यन्तै हर्षित भएको चलचित्र निर्मात्री सत्यकला राईले सम्मान कार्यक्रममा बताउनु भयो ।

चलचित्र हेर्ने दर्शकहरुलाई थप मनोरञ्जन प्रदान गर्न गायिका समेत रहेकी चलचित्र निर्मात्री सत्यकलाले आफ्ना चर्चित गीतहरु पनि उक्त अवसरमा प्रस्तुत गर्नुभएको थियो ।

नवल खडका, गौरव पहाडी, रेविका गुरुङ, प्रशान्त यादव, सुरबिना कार्की, मुरलीधर, सन्जय खतिवडा, रोमियन लिम्बु, प्रेम सुब्बा, पर्शुराम चौधरी, पुष्प श्रेष्ठ लगायतका कलाकारहरुको अभिनय रहेको चलचित्र काँडेतारलाई नेपाल सरकारको सेन्सर बोर्डले हालसम्म प्रदर्शनको लागि प्रमाणपत्र नदिएको फिल्मका नायक नवल खड्काले बताउनु भयो ।