• मंसिर ११ २०८१, मंगलवार

नेपाल कबड्डी लिगको लोगो सार्वजनिक

मंसिर ७ २०८१, शुक्रबार

७ मंसिर, काठमाडौं । नेपाली कबड्डीको फ्रेन्चाइज लिग नेपाल कबड्डी लिग (एनकेएल) को आधिकारिक लोगो सार्वजनिक भएको छ । शुक्रबार गृहमन्त्री रमेश लेखकले उक्त लोगो सार्वजनिक गरेका हुन् । लिगका आयोजक एस्ट्रोनिक्स म्यानेजमेन्टका अध्यक्ष हमित बेगानीले नेपाल कबड्डी लिग खेल मात्र नभएर सारा युवाको सपना रहेको र नेपाली कबड्डीलाई अन्तर्राष्ट्रियस्तरमा पुर्याउने लक्ष्य रहेको बताए । ‘एनकेएल खेल मात्र नभएर सारा नेपालीको सपना हो ।

नेपाली कबड्डीलाई विश्वमञ्चमा र्पुयाउने प्रयास हो । युवाहरुलाई माथि उठाउन, विश्वसामु नेपालको प्रतिभा र्पुयाउन हो,’ उनले भने । एनकेएलको पहिलो संस्करणमा सहभागी हुने नेपालको ६ सहरको नाम समेत सार्वजनिक भएको छ । पहिलो संस्करणको लिगमा काठमाडौं, पोखरा, विराटनगर, जनकपुर, धनगढी, बुटवल शहरको टिमले सहभागिता जनाउनेछन् । अखिल नेपाल कबड्डी संघका महासचिव अरजिन्द झाले नेपाली कबड्डीका लागि आज खुशीको दिन भएको बताए ।

 

कुनै दिन कल्पना गरेको कुरामा काम गर्दै जाँदा त्यो सपना पूरा हुन लागेको बताए । पुरुष कबड्डी लिगका लागि अखिल नेपाल कबड्डी संघले एस्ट्रोनिक्स म्यानेजमेन्टसँग १० वर्षको सम्झौता गत वर्ष नै गरिसकेको छ । महिला कबड्डी लिगका लागि पनि एस्ट्रोनिक्ससँग सम्झौता गरेको संघका महासचिव झाले बताए । पछिल्लो समय नेपाली कबड्डीले उपलब्धी हात पारेको भन्दै १९औं एसियन गेम्समा कबड्डीले समूह खेलमा ऐतिहासिक पदक ल्याउन सफल भएको बताए ।