५ मंसिर, काठमाडौं । काठमाडौं स्पोट्र्स डेभलपमेन्ट भेन्चरको स्वामित्वमा रहेको काठमान्डु गुर्खाज बागमती प्रदेशभित्रको दुईमध्ये एक टोली हो । गुर्खाजले बागमती प्रदेशभित्र काठमाडौं उपत्यकाको प्रतिनिधित्व गर्नेछ । जुनसुकै फ्रेन्चाइज खेल हुँदा पनि काठमाडौंको टिम घरेलु टिमको रुपमा रहने गर्छ र स्थानिय समर्थन पनि हुन्छ । त्यसले गर्दा काठमाडौंलाई राम्रो प्रदर्शन गर्ने दबाब पनि हुनेछ ।
काठमान्डु गुर्खाजको मार्की खेलाडीमा राष्ट्रिय टिमका मिडियम पेस बलर करण केसी छन् । करण बाहेक राष्ट्रिय टिमका ब्याटर भिम शार्की छन् । गुर्खाजमा स्टार खेलाडी देखिँदैन । तर वानडे शैलीमा खेल्ने ब्याटरहरु शंकर राना, सुमित महर्जन, राजु रिजाल जस्ता खेलाडी छन् । यसबाहेक राष्ट्रिय टिमबाट खेलिसकेका स्पीनर शाहब आलम र यू १९ टिमबाट खेलेका स्पीनर दिपेश कँडेल छन् ।
अक्सनका बेला काठमान्डु गुर्खाजलाई कमजोर टोली भनिएपनि विदेशी खेलाडी अनुबन्धपछि गुर्खाज टोली सन्तुलित देखिएको छ । यस्तै काठमाडौंले नेपाली खेलाडीलाई साथ दिन राम्रा विदेशी खेलाडी भित्र्याएको छ । गुर्खाजले एनपीएलका लागि ५ विदेशी खेलाडी अनुबन्ध गरेको छ । जसमा नामिबियाका कप्तान जेरार्ड इरासमस र नेदरल्याण्ड्सका युवा ओपनर माइकल लेभिट छन् ।
यस्तै इंग्लयाण्डका तीन खेलाडी स्टेफेन इस्कीनाजी, डान डौथवेट, नाथन सोटर छन् । काठमान्डु गुर्खाजको मुख्य प्रशिक्षकमा नेपालको पहिलो पुस्ताका अन्तर्राष्ट्रिय खेलाडी तथा राष्ट्रिय टिमका पूर्व सहायक प्रशिक्षक बसन्त शाही ठकुरी छन् । काठमान्डु गुर्खाजका अध्यक्ष उपेन्द्र देवकोटाले एनपीएलको ट्रफी आफ्नै टिमले जित्ने दावी गरेका छन् ।