• मंसिर ५ २०८१, बुधबार

‘ट्रेल रेस’बाट विश्वमा नाम चम्काएकी सुनमाया

मंसिर ५ २०८१, बुधबार

५ मंसिर, काठमाडौं । अल्ट्रा ट्रेल रेसमा अन्तर्राष्ट्रिय स्तरमा सफलता पाइरहेका नेपाली धावकमध्ये एक हुन् सुनमाया बुढा । दुई महिनामा उनले चीनमा भएका दुई रेसमा भाग लिइन, दुवैमा उपाधि जितेकी उनले एउटामा कोर्स रेकर्ड राखिन् । सुनमायाले कात्तिकमा भएको एसियाकै प्रतिष्ठित र ठूलो साइगु ट्रेल रेसको १०५ किलोमिटर दूरी ९ घण्टा ३२ मिनेट ४७ सेकेण्डमा पूरा गर्दै उपाधि जितिन् ।

कात्तिककै पहिलो साता उनले अल्ट्रा ट्रेल निन्घाई बाई युटीएमबी रेस कीर्तिमानी समयसहित जितेकी थिइन् । साइगुमा पानी परेकाले आयोजकले दूरी घटाउँदा आफ्नो कोर्स रेकर्डको मान्यता नपाएको सुनमायाले बताइन् । निरन्तर प्रशिक्षण गरिरहेकाले उकालो ओरालो उनका लागि खासै नौलो होइन । ‘उकालो ओरालो थियो, ट्रेलहरुमा ट्रेनिङ गरिरहेको हुनाले रेस राम्रो भयो’, उनले भनिन् ।

तर साइगु रेसको अघि निरन्तर पानी परेकाले रेस हुने वा नहुने टुङ्गो थिएन । ‘नभए के गर्ने भन्ने लागेको थियो । तर अर्को दिनमा बेलुका रेस हुने निर्णय भयो अनि ढुक्क भयो’, सुनमायाले भनिन् । निन्घाईमा पनि उनले रेकर्ड राख्छु भन्ने सोचेकी थिइन् । ‘माउन्टेनहरु सानो–सानो थियो मेरो लागि । त्यसैले रेकर्ड राख्न सजिलो भयो’, सुनमायाले भनिन् । उनले गत वर्ष चैतमा चीनमै भएको गोल्डेन कोस्ट ट्रेल रेसको उपाधि पनि जितेकी थिइन् ।

पछिल्लो समय सुनमायाले चीनका रेसमा राम्रो प्रदर्शन गर्दै आएकी छन् । ‘अरु ठाउँ भन्दा अलि फरक छ चीनमा । अग्लो माउन्टेन थिएन, फ्ल्याट पनि थिएन, ५०–५० थियो । ट्रेनिङ भयो भने जता पनि राम्रो हुन्छ’, सुनमायाले चीनको रेसबारे भनिन् । यसअघि युरोपमा जाँदा उनको ट्रेनिङ राम्रो नभएकाले एउटा रेस बीचमै छाडेकी थिइन् । ‘युरोपमा विश्वकै उत्कृष्ट धावकहरु हुन्छन् । चीनमा एलिट धावकहरु नभएकाले अली सहज भएको थियो तर कम्पिटिसन चाहीँ थियो’, सुनमायाले भनिन् ।