• मंसिर ३ २०८१, सोमबार

रुकुमपूर्वको कांग्रेस-एमाले गठबन्धनले द्वन्द्वकालिन घाउहरु उप्काउन सक्छ !

मंसिर ३ २०८१, सोमबार

रूकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिकाको उपाध्यक्ष र एउटा वडाध्यक्ष पदमा मंसिर १६ मा हुन गइरहेको उपचुनावमा सत्ता गठबन्धन एक ठाउँमा देखिएको छ । उपाध्यक्ष र वडाध्यक्षको पदमा नेपाली कांग्रेस र एमालेले तालमेल गरेका छन् ।

सत्ता साझेदार दुई ठूला दलले तालमेल गरेपछि माओवादी केन्द्रको बलियो आधार क्षेत्र मानिए पनि चुनावी टक्कर निकै पेचिलो हुने देखिएको छ । सत्तासिन दुई दलको सहमतिमा एउटा दलले उम्मेदवार खडा गर्ने र अर्को दलको चुनाव चिन्ह लिने सहमति भएको छ ।

यो सहमति अनुसार उपाध्यक्षमा एमालेले उम्मेदवारी दिएको छैन । बरु एमालेकी जिल्ला कमिटी उपसचिव केशकुमारी तुलाचनले कांग्रेसको निर्वाचन चिन्ह रूख लिएर मनोनयन दर्ता गराएकी छिन् । यसलाई आश्चर्यजनक र अर्थपूर्ण रूपमा हेरिएको छ ।

बेला बेलामा माओवादी पार्टीले पनि कहिले एमाले र कहिले काँग्रेसलाई भोट हालिरहेकाले आम जनतामा अन्यथा  मानिएको छैन । तर माओवादी समर्थक रूकुमेली जनताले भने आश्चर्यका रूपमा लिएको देखिन्छ । उता काँग्रेस र एमालेका कार्यकर्ताले भित्रभित्रै द्वन्द्वकालिन घटनाका घाउहरू पनि उप्क्याउन थालेको माओवादी पक्षको आरोप छ ।

निर्वाचन नितान्त शान्तिपूर्ण र वृहद् शान्ति सम्झौताका आधारमा निर्माण भएको संघीय संविधान अन्तर्गत हुँदैछ । तर अहिलेको सत्ता गठबन्धन वा कांग्रेस–एमाले गठबन्धन र माओवादी केन्द्रको प्रतिस्पर्धाले द्वन्द्वकालीन अवस्थाको झल्को स्मरण गराउने स्थानीय जनताको भनाइ छ । यसले कतै द्वन्द्वको घाउ नबल्झाओस् ।

देशमा अहिले शान्ति छ । तथापि सत्य निरूपण तथा मेलमिलाप आयोगका कुरा किनारा लगाउन बाँकी नै छ । रूकुमस्थित पुथाउत्तरगंगाको उपचुनावले यसमा आशंका सिर्जना हुने काम नगरोस् । किनकि यहाँ एक दर्जन मात्र भोटको तलमाथि वा हार जित हुने देखिँदा यसले झडप निम्त्याउन र सत्ता र शक्तिको दुरूपयोग हुन सक्ने संभावनालाई पनि इंगित गरिरहेको छ ।

किनकि २०७९ को स्थानीय तह निर्वाचनमा दिवंगत उपाध्यक्ष भूपेन्द्रा बुढाले ४ हजार ५९ मत ल्याएर निर्वाचित भएकी थिइन् । त्यति बेला कांग्रेसका कमलाकुमारी मल्लले २ हजार १० र एमालेका धर्म घर्ती बुढाले १ हजार ८ सय १२ मत प्राप्त गरेका थिए । पुथाउत्तरगंगामा मतदाता संख्या ११ हजार १ सय ८० छ ।

उपाध्यक्ष बुढाको असोजमा बाग्लुङमा भएको सवारी दुर्घटनामा परेर ज्यान गएपछि उपनिर्वाचन हुन लागेको हो । उक्त पालिकाको वडा नं. २ मा एमालेकै जिल्ला कमिटी सदस्य जीवन रोकाले उम्मेदवारी दर्ता गरेका छन् । उक्त वडाका माओवादीबाट निर्वाचित वडाध्यक्ष जसबहादुर श्रीपालीको मृत्यु भएपछि त्यस वडामा पनि उपचुनाव हुन लागेको हो ।

दुई दलीय व्यवस्था निर्माणको व्यवहारिक अभिव्यक्ति :

स्थानीय अन्तरविरोध जे जस्तो भए पनि देशमा दुईवटा मात्र संसदीय पार्टी भए भने संसदीय व्यवस्था बलियो हुने कुरा माओवादीसहित ठूला राजनीतिक दलहरूले गर्दै आएका थिए । यस्तो सोच वर्तमान राजनीतिक सन्दर्भमा कसको पोल्टामा छ र कसको पोल्टामा छैन भन्ने कुरा एउटा होला । तर दुई दलीय व्यवस्था निर्माणको संकेत व्यवहारमै देखा परिसकेको छ ।

इगोको प्रश्न :

माओवादीलाई सत्ताबाट बहिर्गमित बनाउने र संविधान संशोधन गर्ने तथा आगामी २०८४ को निर्वाचनमा माओवादी हराउने रणनीति सत्ता गठबन्धनले लिएको देखिन्छ । उता मरेर भए पनि अस्तित्व धान्ने रणनीति माओवादी केन्द्रले लिएको भान हुन्छ । यस्तो अवस्थामा उपचुनाव इगोको राजनीतिमा परिणत भई हारजितको मानसिकतामा पुग्ने संभावना नकार्न सकिंदैन । यसले नराम्रो परिणाम निम्त्यााउने तर्फ सबै सचेत हुनैपर्छ ।

२०८४ को आनिर्वाचनका लागि सन्देश :

नेपालका ठूला राजनीतिक दलहरूसँग राजनीतिक एजेण्डा छैनन् । विचार धुमिल भएको छ सबैको । सबैले विचारहीन र रङहीन राजनीति गरिरहेका छन् । ठूला दलमा राजनीति अहिले विचारको होइन, गणितीय बन्न गएको छ । त्यसैले कसले कसलााई जित्यो र कति भोट ल्यायो भन्ने देखाएर २०८४ मा हुन लागेको निर्वाचनलाई प्रभाव पार्न र संख्याको प्राविधि अस्त्र तयार पार्न दुवै खेमाका राजनीतिक शक्ति तयार छन् । यसले पनि रूकुम पूर्वमा हुन लागेको यो निर्वाचनले कतै ‘फाइट टु फिनिश’ को अवस्थातिर धकेल्दैन ? गहिरो आशंका जन्माएको छ ।

संसदीय खेल :

आखिर संसदीय खेलमा विचार किनाराकृत हुन्छ । प्राविधिक संख्याको कुरा प्रमुख बनाएर देखाइन्छ । जसले वास्तवमा जनताको जनमतको कदर पनि गर्दैन र जिम्मेवारी पनि बहन गर्न सक्दैन । यही संसदीय खेल अब बाँकी छ । यो खेल ‘ग्राण्ड फिनाले’ मा पुगिरहेको देखिन्छ ।

गुम्न नदिने र हुन नदिनेको खतरा :

रूकुम पूर्वको यो उपनिर्वाचन माओवादीका लागि कुनै पनि हालतमा गुम्न नदिने र सत्ता गठबन्धन कांग्रेस र एमालेका लागि माओवादीलाई कुनै पनि हालतमा हुन नदिने टकरावको धुरी बन्न गएको छ । यो यस पटकको उपचुनावी ज्वालामुखीको ‘हाइपो सेन्टर’ बन्न पुगेको छ । यसको ‘इपिसेन्टर’ माओवादीको नेतृत्वको सरकारको बहिर्गमन र काँग्रेस–एमाले गठबन्धन सरकारको निर्माणकै बेला बिष्फोटन भई खुलिसकेको छ ।

के चाहन्छ कांग्रेस :

२०७९ मा सम्पन्न रूकुम पूर्वको पुथाउत्तरगंगाको उपनिर्वाचन परिणाम हेर्दा नेपाली काँग्रेस माओवादीपछिको दोस्रो पार्टीका रूपमा देखा परेको छ । अहिले त्यहाँको उपनिर्वाचनमा काँग्रेसले आफ्नो दाबी गर्नुपर्ने हो । किनकि एमाले पार्टी त्यहाँको स्थानीय निर्वाचनमा तेस्रो पार्टीका रूपमा मात्र देखा परेको छ ।

तर उपनिर्वाचनमा दोस्रो स्थानमा रहेको पार्टी नेपाली काँग्रेसले तेस्रो स्थानमा रहेको एमालेलाई समर्थन गर्नुका पछाडि पनि काँग्रेसको रणनीतिक सोचले काम गरेको देखिन्छ । यो संसदीय खेल हो । गणितीय खेल हो । काँग्रेस हम्मेसी माओवादीसँग भिडन्त गर्न होशियार छ । तथापि राजनीतिक रूपमा सिध्याउन चाहिँ कम्मर कसेरै लागिपरिरहेको देखिन्छ ।

नयाँ आन्तरिक अन्तरविरोध सिर्जनाको संभावना :

रूकुम पूर्वको यो उपनिर्वाचनले माओवादी, काँग्रेस र एमाले तीनवटै राजनीतिक पार्टीभित्र आन्तरिरक अन्तरविरोधको सिर्जना गरिदिने छ । यो भूकम्पीय आन्तरविरोधको व्यवस्थापनमा ती पाार्टीलाई महगो लगानी गर्नुपर्ने देखिन्छ । याे अन्तरविरोधको पराकम्प पछिसम्म पनि ती पार्टीहरूमा देखा परिरहने छ । यस कम्पनको प्रभाव राष्ट्रिय राजनीतिमा व्यक्त हुने गरी देखा पर्नेछ ।