• मंसिर १ २०८१, शनिबार

पुरानाे विश्व व्यवस्था ढल्दै गरेकाे, नयाँ विश्व व्यवस्था जन्मँदै गर्दाकाे पीडा

मंसिर १ २०८१, शनिबार

मार्क्सवादी अर्थात् द्वन्द्ववादी मान्यता अनुसार जीवन र जगतमा हुने सबै वस्तु, घटना र यसका प्रक्रियाहरूको उत्पत्ति, विकास र परिवर्तनको मूल कारण नै पदार्थको गति हो । संसारका सबै जैविक-अजैविक परिघटनाहरु अर्थात् सामाजिक र प्राकृतिक प्रक्रिया निरन्तर चलिरहन्छ । यसको मुख्य कारण पदार्थ भित्र विद्यमान अन्तरविरोध हो । अर्थात् एंगेल्सको भाषामा गति भनेकै अन्तरविरोध हो ।

त्यही अन्तरविरोका कारण सामाजिक रुपमा परिवर्तनको प्रक्रिया निरन्तर चल्ने गर्दछ । त्यस्तै यहाँ पदार्थ र गति बारे माओको शंष्लेषणको प्रसंग उप्काउनु पनि आवश्यक हुनेछ । माओ पनि माक्र्सवादी दार्शनिकहरु  मार्क्स, एंगेल्स र लेनिनको झै पदार्थमा हुने अन्तरविरोधको सर्वव्यापकता बारे चर्चा गर्दै भन्छन्, वस्तुमा ‘अन्तरविरोधको नियम’ सामान्य अर्थ हो, गति पदार्थका हरेक रूपमा निहीत हुन्छ । त्यो गति सदा विद्यमान अन्तरविरोधहरूको विकास र टकरावको परिणाम हुन्छ । अझ हरेक अन्तरविरोधका फरकफरक पक्षहरूबीच सङ्घर्ष हुन्छ । अन्तरविरोधहरू हुर्किने प्रक्रियामा एउटा वस्तु वा परिघटना आफ्नो उल्टो स्वरूपमा फेरिन्छ ।

जसको पछिल्लो ज्वलन्त उदाहरण बन्न पुगेका छन् जापानी मूलका ९० को दशकमा संसार भरी अझ विशेष गरि पश्चिमा बौद्धिक जगतमा सनसनी मच्चाएका अमेरिकी लेखक फ्रान्सिस फुकुयामा । फुकुयामाको नब्बेको दशकको विश्व चर्चित पुस्तक ‘इण्ड अफ द हिस्ट्री एण्ड द लास्ट म्यान’ जसले पश्चिमा जगतमा सामाजिक भाष्यका रुपमा स्थापित विचारको अन्त्यको तीन दशक नपुग्दै रुसी दार्शनिक अलेक्जेण्डर दुगिनले फुकुयामाकै शैलीमा अमेरिकाले नेतृत्व गरेको नवउदारवादको अन्त्य भएको घोषणा गरेका छन् ।

अहिले फुकोयामाको दाबीको पश्चिमा एक धुर्वीय विश्वको ठीक उल्टो यात्रा शुरु भइसकेको भन्ने पछिल्ला केही विश्व राजनीतिक परिघटना पुष्टिका आधार बन्न थालेका छन् । दुगिन अनुसार पहिलो चरणको जार शासन फासिवाद, लेनिन हुँदै स्टालीनसम्म साम्यवाद, ख्रुस्चेवपछिको अवस्था नवउदारवाद र पुटिनको आगमनपछिको विश्व फोर्थ पोलिटिक थ्यौरी हो ।

अझ स्पष्ट भाषामा भन्नु पर्दा विचारको अन्त्य अर्थात् माक्र्सवादी विचारधाराको नेतृत्व गरेको तत्कालीन सोभियत संघको विघटनपछि पूँजीवादको प्रतिष्पर्धी माक्र्सवाद वा द्धन्द्धात्मक भौतिकवादी विचारधाराको अन्त्य भयो भन्ने फुकुयामो दाबी थियो । बिशेष गरी त्यो तत्कालीन सोभियत संघको पतनपछि पूँजीवादी अमेरिकी नेतृत्वमा एक धुर्वीय अजेय विश्वको अनन्त उदय भयो भन्दै उत्सव मनाएका पश्चिमाहरु अहिले चीनको उदय र रुसको सुदृढिकरणले एक क्षण पनि चयनको श्वास फेर्न नसक्ने अवस्थामा पुगेका छन् ।

पृष्ठभूमि :
सन् १९४५ को हिरोसिमा र नागासाकीको अमेरिकी अमानवीय आणविक हमलापछि विधिवत् रुपमा दोस्रो विश्वको अन्त्य हुन पुग्यो । फलस्वरुप नाजीवादी जर्मनी र उन्नाईसौँ शताब्दीमा विश्वभरी साम्राज्य फैलाई कलंकको भारी बोकेको संयुक्त अधिराज्यको सैन्यशक्तिको स्थान अमेरिकाले ओगट्न पुग्यो । सामाजिक, राजनीतिक र आर्थिक रुपमा भने अमेरिकी उदयले विश्वलाई एक नयाँ खतरातर्फ धकेल्यो ।

सन् १९४८ देखि ५२ को कोरिया गृहयुद्ध, असीदेखि नब्बेको दशकको इरान-इराक युद्ध, अफगानिस्तान युद्ध, सेप्टेम्बर ११ को जुम्ल्याहा टावर हमला र त्यसको जगबाट उब्जिएको अफगानिस्तानमाथिको जर्ज डब्लु बुसको नरसंहार, कणर्ेल गद्दाफीको उदय र पतन, लिबियाको गृहयुद्ध, सिरिया युद्ध र अहिलेको युक्रेन युद्ध, इजरायल हमास युद्ध, इरान इजरायल तनाव अर्थात् मध्यपूर्वको युद्ध अमेरिकी एक धुर्वीय विश्वबाट सिर्जित परिघटनाहरु हुन् ।

विषय प्रवेश :
विश्व कम्युनिस्ट आन्दोलनको उदय र चरमोत्कर्षलाई मानव सभ्यताको एक ऐतिहासिक प्रक्रियाका रुपमा बुझ्ने हो भने, उन्नाइसौँ शताब्दीको औद्योगिक क्रान्ति र त्यसको गर्भमा हुर्किरहेको सर्वहारा, श्रमजीवी वर्गको भूमिका एक महत्वपूणर् स्थान रहिआएको छ । फ्रान्सेली गृहयुद्ध र त्यसपछि संसारभरी रक्तसंचार भएको कम्युनिस्ट आन्दोलनको भौतिक हतियार मजदुरबर्गमाथि भएको उत्पीडन र त्यसविरुद्धको संघर्ष गरिरहेका कम्युनिस्टहरुले सन् १९१७ मा लेनिको नेतृत्वमा रुसको राज्यसत्ता कब्जा गरे ।

त्यसलगत्तै चीनमा पनि चिनियाँ कम्युनिस्ट पार्टीले विद्रोह शुरु गर्यो । त्यसपश्चात विश्वभरी विद्यमान राज्य सत्ताविरुद्ध विद्रोह ज्वालामुखी झैं बिष्फोटन हुन पुग्यो । जसबाट पूँजीवादीहरु अत्तालिन पुगे । त्यही क्रममा हिटलरको उदयले विश्वलाई मानवीय इतिहासको एक क्रुर युद्धमा लपेट्यो । फलस्वरुप हिटलरको नाजीवादको स्थान सैन्य बलको आडमा अमेरिकाले लिन पुग्यो । त्यसपछि दोस्रो विश्वयुद्धमा संसार कब्जा गर्न हिंडेका जर्मन नाजीहरुलाई परास्त गरेर आफ्नो राजनीतिक हैसियत अब्बल बनाएको तत्कालीन सोभियत संघसँग वैचारिक तथा राजनीतिक टकराव शुरु भयो ।

अमेरिकी नेतृत्वमा रहेका हेरी एस ट्रुम्यान र बेलायती प्रधानमन्त्री उइल्सन चर्चिलले सोभियत संघ र कम्युनिस्टलाई टक्कर दिन उत्तर एटलान्टिक सन्धि संगठनको निर्माण गरे । जसको उद्धेश्य सैन्य गठबन्धन बनाई साम्यवादीहरु तथा विश्वभर रहेका क्रिष्चियन सभ्यताभन्दा फरक सभ्यतामाथि हमला गर्नु थियो । सन् १९५०-५३ को उत्तर र दक्षिण कोरियाको युद्धहुँदै अहिलेको युक्रेन तथा इजरायल हमास, लेबनान युद्धसम्म आइपुग्दा अमेरिकी एक धुर्वीय विश्व लगभग विघटनको अवस्था पुगिसकेको छ । यो लेखमा अमेरिकी महाशक्तिको क्षयीकरणका स्पष्ट तथ्य र संभावित विश्व शक्ति संतुलनका बारेमा चर्चा गरिने छ ।

दुई विश्व शक्तिहरुको रणनीतिक सम्झौता :
संसार भरी एउटा अकाट्य सामाजिक भाष्य छ, एउटै जंगलमा दुईवटा शेरको राज संभव हुँदैन । जसको ठोस अर्थ भनेको दुई समान हैसियतका शक्तिहरुको कहिल्यै पनि एकता हुन सक्दैन । अहिलेसम्मको मानव सभ्यतामा पनि समान हैसियतमा रहेका विश्व महाशक्तिहरुको एकता भएको प्रमाण सायदै भेटिएला ।

बरु त्यस्ता शक्तिहरुको बीचमा प्रतिस्पर्धा, वाक कटुता, द्धन्द्ध र तनाव मात्रै देखिन्छ । तर मानव सभ्यताको अकाट्य सामाजिक भाष्यको क्रमभंग गर्दै दुई विश्व शक्ति राष्टका प्रमुख चिनियाँ राष्ट्रपति सी जिनपिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको बीचमा रणनीतिक महत्वको सम्झौता भयो । जुन १४ बुँदे सम्झौताले विश्वमा भूगोल र रक्षाक्षेत्रमा अब्बल विश्व महाशक्ति रुस र आर्थिक तथा विज्ञान प्रविधिको पर्याय बन्न पुगेको अर्को एसियाली महाशक्ति चीनलाई नयाँ विश्व व्यवस्थाको निर्माण गर्ने आधारशिलाको जग बसाल्ने कडी बन्ने संकेत देखिएको छ ।

दुइपक्षीय सम्झौताका रणनीतिक तथा दूरगामी महत्वहरु :
योे लेखमा विश्व शक्ति रुस र चीनको बीचमा भएका १४ वटा बुँदाहरु भन्दा पनि सम्झौता भित्रका मुख्य गरी ४ वटा कुराहरु केलाउन आवश्यक हुनेछ । पहिलो सम्झौता दुई देशले नयाँ विश्व व्यवस्थाको निर्माणमा पहल लिने । जसको अर्थ अहिले संसार भरी चलेको अमेरिकी तथा पश्चिमा मूल्य र मान्यताहरुको विस्थापन हो । अर्थात् पूँजी, श्रम, संस्कार, आर्थिक, सामाजिक, राजनीतिक, भाषिक, शिक्षा, जीवनशैली, संकृति, सामाजिक मूल्य र मान्यताहरुको सुधार गर्ने पक्षमा दुई देश सहमत देखिएका छन् ।
दोस्रो सन् २०३० सम्म विश्व विकासको अवधारणा तयार पार्ने । चिनियाँ राष्ट्रपति सी जिनपिङ र रुसी राष्ट्रपति पुटिन वैकल्पिक विश्व विकासको अवधारणा विकास गर्न सहमत भएका छन् । जसका विषयमा संयुक्त राष्ट्र संघले पनि सन् २०२० देखि ३० सम्म विश्व विकासको अवधि किटान गरेको थियो । त्यसको विकल्पमा चीनले जीडिआई अर्थात् ग्लोबल डेपलभमेन्ट इन्डेक्सलाई अगाडी बढाएको छ । जसको सोझो अर्थ रुस पनि चीनको विकास अवधारणामा सहमत भएको छ । यसले जीडीआईलाई अन्तराष्ट्रियकरणको आधार बनाउन रुस सहमत भएको छ । रुस र चीनको वैकल्पिक विश्वराजनीतिक धारको संकेत गरेको छ ।

तेस्रो युवानको अन्र्तराष्ट्रियकरण रुस र चीनको दीर्घकालीन तथा रणनीतिक महत्वको सम्झौता भनेको आर्थिक अर्थात् डिडलराईजेसन हो भन्ने सपष्ट हुन पुगेको छ । विश्वभरी अन्र्तराष्ट्रिय व्यापारमा अमेरिकी डलरको विनिमय हुने गर्दछ । त्यही अन्र्तराष्ट्रिय विनिमयका कारण अमेरिकी डलर संसारको सबभन्दा बलियो र विश्वसनीय मुद्राको रुपमा स्थापित छ ।

अमेरिकी डलरको दबदबा तोड्का लागि अब रुस र चीनले अफ्रिका तथा ल्याटिन अमेरिकामा व्यापार गर्न चिनियाँ मुद्रा युवानको प्रयोग गर्ने सम्झौता गरेका छन् । अब ती ठाउँहरुमा अमेरिकी डलरको स्थान युवानले लिने संभावना प्रबल देखिन्छ । जसले चीनलाई अमेरिकाको समान आर्थिक हैसियत मात्र होइन, अमेरिका भन्दा बलियो आर्थिक महाशक्तिका रुपमा स्थापित गराउने निश्चित छ । चौथो, चीनलाई आणविक प्रणालीमा सहयोग । यसको अर्थ अझै पनि चीन आणविक प्रविधि तथा डिफेन्स प्रणालीमा अमेरिका र रुसभन्दा केही कदम पछाडी रहेको छर्लङ्ग पारेको छ । चीनको यही कमजोरीलाई पुरा गर्न रुसले अब चीनलाई आणविक प्रविधिमा सहयोग गर्ने सम्झौताको रणनीतिक लक्ष्य देखिन्छ ।

दुई महाशक्ति चीन र रुसको इतिहासको गम्भीर त्रुटि :
दोस्रो विश्व युद्धमा प्रत्यक्ष सहभागी नभएको तर संभावित नाजीवादी हिटलरको आक्रमणबाट बच्न बाध्य भएर मित्र राष्ट्र (लिग अफ नेसन) को सैन्य गठबन्धनमा सामेल हुन पुगेको अमेरिकाले विश्वयुद्धका घाउहरु समाप्त नहुँदै करिब चार वर्षपछि सोभियत संघलाई परास्त गर्न आफ्नो नेतृत्वमा नेटोको स्थापना गर्यो । सायद अमेरिका अर्थात् पूँजीवादीहरु कुन हदसम्म बेइमान हुन्छन् भन्ने कुरा स्टालिनले बुझ्ने अवसर पाए तर उनको मृत्यु पर्खेर बसेका निकिता ख्रुस्चेवले न त आफ्नो स्थायी दुष्मन अमेरिकाको षड्यन्त्रलाई बुझ्न सके न त चिनियाँ क्रान्तिका नायक माओलाई नै ।

फस्वरुप विश्वमा पर्याप्त संभावना बोकेर उभिएको विशाल भूगोल तथा जनसंख्या भएको छिमेकी चीन तथा हिरोसिमा र नागासाकीमा आणविक हमला गरेर संसारभर रहेका आफ्नो विचार तथा मूल्य मान्यताभन्दा पृथक रहेका राष्ट्रहरुको अस्तित्व समाप्त पार्न तानाबुना बुनिरहेको अमेरिकासँग एकै पटक दुष्मनी गर्न पुगे । जुन सिंगो सोभियत संघकालागि महंगो बन्न पुग्यो ।

सोभियत संघका नेता निकिता ख्रुस्चेव र चिनियाँ कम्युनिस्ट पार्टीका नेता माओत्सेतुंग :
उता अमेरिकी नीतिको निन्दा मात्रै होइन, निषेध नै गर्दै आएका माओत्सेतुङ्ग बुढेसकालले गाँजिदै थिए । सत्तामा उनको पकड दिनानु दिन कमजोर हुँदै थियो । त्यही बेलामा सन् १९७२ मा आफ्नो घोषित दुष्मन सोभित संघलाई तह लगाउन नयाँ तथा उदयीमान कम्युनिस्ट शक्ति चीनसँग हात मिलाउन अमेरिका चीन आइपुग्यो । अमेरिकी राष्ट्रपति रिचर्ड निक्सन र चिनियाँ नेता माओको शिखर सम्मेलन भयो ।

दुई देशका आफ्नै तत्कालिक बाध्यताहरु थिए । पहिलो, अमेरिकालाई शितयुद्धको समयमा दुई कम्युनिस्ट देशलाई एक ठाउँमा उभिनबाट रोक्नु थियो । दोस्रो, चीनका पनि आफ्नै बाध्यताहरु थिए । जसमध्ये विश्व महाशक्ति अमेरिकासँग दौत्य सम्बन्ध कायम गरी आफ्नो अन्तर्राष्ट्रिय मञ्चमा दह्रो उपस्थिति चाहन्थ्यो जुन अमेरिकी सहमति बिना संभव थिएन । अर्को आर्थिक संकटबाट गुज्रेको आफ्नो मुलुकलाई छिमेकी सोभियत संघको संभावित आक्रामणबाट जोगाउनु पनि थियो । सन् १९६७ तिर सोभियत संघका नेता निकिता खु्रस्चेवले चीनमाथि आणविक हमला गर्ने धम्की दिएका थिए । चीन कुनै न कुनै रुपमा विश्व महाशक्ति अमेरिकासँग सम्बन्ध सुधारेर आफुलाई रुसबाट सुरक्षित पार्न चाहन्थ्यो ।

तर चीनले मित्रताको हाम मिलाएको डेढ दशक नबित्दै अमेरिकाले चीनको पिठ्युमा छुरा घोप्यो । बेजिङको तेनमेन स्क्वायरमा अमेरिकाको उक्साहटमा चीन बिरुद्ध विद्रोहको आगो झोसियो । त्यसपछि भने चीन अमेरिकासँग नराम्ररी झस्कियो । चिनियाँ राष्ट्रपति यान साङ्कुन र अझ बढी उनका नेता तथा आधुनिक चीनका जनक देङ सियाओ पेङले अमेरिकी नियत राम्रोसँग बुझे तर निकै ढिला भइसकेको थियो । त्यो घटनाबाट चीनले अमेरिका प्रतिको धारणा बदल्यो । स्टालिनको भत्र्सना गर्दै आएका ख्रुस्चेवका चेला मिखाइल गोर्भाचोभले भने सत्ता उन्मादमै रमाइरहेका बेला आफ्नो सोभित संघ तासको महल झैं ढलेको पत्तै पाएनन् ।

अन्तत सोभितसंघको औपचारिक विघटन सन् १९९१ पछि अमेरिकी तत्कालीन राष्ट्रपतिले शितयुद्ध अन्त्य भएको घोषणा गरे । त्यसपछि शुरु भयो खाडी तथा मध्यपूर्वमाथिको अमेरिकी बर्बरता । अमेरिकी एक धुर्वीय विश्वको इराकहुँदै युक्रेन युद्धसम्म आइपुग्दा विघटनले थिलोथिलो भएको रुसले सन् २००१ यता आफ्नो सम्पूणर् शक्तिमा निकै सुदृढ गरिसकेको छ ।

अमेरिकी उक्साहटपूर्ण तेनमेन घटना दबाएको चीन आज आफूलाई विश्व शक्तिका रुपमा उभ्याउन सफल भएको छ । सन् २००१ को अमेरिका र आजको अमेरिकाको अवस्थामा निक्कै फेरबदल हुन पुगेको छ । तर विगत तीन दशक यता विश्वभर जबरजस्त रुपमा लादिएका अमेरिकी आर्थिक, सामाजिक, राजनीतिक, सैन्य र साँस्कृतिक प्रभुत्व भने यथावत छ । जसको क्रमभंग गर्न दुई देश रुस र चीन सहमत भएका छन् । पुटिन र सीले मात्रै नभइ विश्वको करिब ३७ प्रतिशत जीडीपी र करिब ४ं प्रतिशत जनसंख्या भएका देशहरूको समूह ब्रिक्स प्लसले पनि आफ्नै विनिमय प्रणाली बनाउने प्रयास जारी राखेको छ । त्यस्तै पुटिनले रुसको कजान सहरमा भएको ब्रिक्सको सम्मेलनमा ब्रिक्सको नोटको प्रस्ताव गरेका थिए ।
हिजो नाजीवादी हिटलरलाई परास्त गरेको महाशक्ति सोभियत संघलाई फुटाएर आफ्नो स्थानलाई श्रेष्ठ बनाई उच्च मनोबलका साथ अघि बढिरहेको तर आज इराक, सिरिया र अफगानिस्तानबाट पराजीत हुँदै भागेर रातारात घर फर्किएको घायल अमेरिका युक्रेन युद्धमा छद्म भेषमा मैदानमा उत्रिंदा पनि रुसले भागाभागको स्थितिमा पुर्याइसकेको छ भने अर्कोतर्फ युक्रेनमा हारेर अघोषित रुपमा भागिसक्न नपाउँदै प्यालेस्टाइनीमाथी इजरायललाई उक्साएर बम बर्षाइरहेको अमेरिकाको इरानको हाइपरसोनिक मिसाइलको क्षमता देखेर सातो गएको छ ।

हिजो नब्बेको दशक आसपासमा अमेरिका र जापान आर्थिक महाशक्तिका रुपमा स्थापित थिए । जसलाई प्रमाणित गर्ने एउटा तथ्य सन् १९९५ मा अमेरिकाको ७.४ ट्रिलियन जीडीपी थियो । जापानको दोस्रो ठूलो ५.५४ ट्रिलियन थियो जबकी चीनमा मात्रै ७३४ बिलयन डलर बराबरको जीडीपी थियो । सन् २०२७ को विश्व बैंकको प्रक्षेपणलाई हेर्ने हो भने अमेरिकाको २७ ट्रिलियन र चीनको १९ ट्रिलियन डलर जीडीपी हुने विश्व बैंकको प्रक्षेपण छ ।

त्यसरी अमेरिकी आर्थिक दबदबाको स्थान उदयीमान चीनले निकट भविष्यमा लिने पक्का छ । सूचना र प्रविधिमा चीनले अमेरिकालाई लगभग पछि पारिसकेको छ । जसको उदाहरण इन्टरनेटमा चीनले ६ जीलाई प्रयोगमा ल्याउन थालेको छ, जबकी अमेरिका लगायतका पश्चिमा देशहरु फाईभ जीमै अल्मलिइरहेका छन् ।

तुलनात्मक रुपमा अमेरिकाभन्दा कमजोर रहेको चीनलाई आणविक क्षेत्रको विकासका लागि रुसले सघाउने पछिल्लो २०२३ को सम्झौताले चीनलाई अझ दरिलो शक्तिका रुपमा उभ्याउने देखिन्छ । कुनै समय करिब ५७ प्रतिशत जीडीपीको हिस्सा ओगटेको नेटोलाइ अहिले रुस र चीनको नेतृत्वमा रहेको ब्रिक्सको कडा टक्कर दिइरहेको छ ।

हिजो शीतयुद्धको बेला आर्थिक रूपमा कमजोर रहेको चीनको आर्थिक, सूचना प्रविधि, सैन्य सुदृढिकरण, मध्यपूर्वमा छिमेकी इराकसँग युद्ध लडेर थिलोथिलो भएको इरान अहिले विश्वकै सटिक निसाना लगाउन सक्ने इजरायली हवाई प्रतिरक्षा प्रणाली आइरन डोमलाई चक्मा दिने सायद ३६ बी जस्तो हाइपरसोनिक मिसाइलको अविष्कार गर्न पुगेको छ । उता रुसलाई युक्रेन युद्धमा फसाइ आर्थिक रूपमा थिलोथिलो बनाइ नेटोलाई रुसी सीमासम्म विस्तार गरि रुसलाई तह लगाउने अमेरिकी सपनालाई रुसले चकनाचुर हुँदा अमेरिकी नेतृत्वको विश्व व्यवस्था निभ्न थालेको चर्चा चलिरहेको छ ।

निश्कर्ष :
माक्र्सवादीहरुले पदार्थको अस्तित्व निर्धारण बाह्य तत्वले होइन, आन्तरिक पहलुहरुमा निर्धारित हुने गर्दछ भनेझैं अमेरिकी गठबन्धन रुस चीनभन्दा निकै कमजोर भैसकेको छ । कुनै पनि राष्ट्रको आधारको बलियो प्रभाव पार्ने तत्व जनसंख्या पनि एक हो । जनसंख्या मात्रै होइन, त्यो जनसंख्याको राष्ट्रप्रेम, त्यो देशका नागरिकले अंगालेको आर्थिक, सामाजिक, सांस्कृतिक, राजनीतिक संस्कार, रितिरिवाज, धर्म र परिवार पनि सामाजिक चालक शक्ति हुन् ।

अमेरिकामा अहिले र सन् १९९५ का अन्तराष्ट्रिय तथ्यांक हेर्ने हो भने अमेरिकी हुनुको गौरव गर्ने अमेरिकीहरु जम्माजम्मी ३५ प्रतिशत रहेको र जबकी १९९५ तीर ६३ प्रतिशत रहेको अध्ययनको निष्कर्ष छ । अहिले करिब ४५ देखि ५० प्रतिशत अमेरिकीहरुले निकट भविष्यमै अमेरिका विभाजन हुने विश्वास गर्ने गरेको अन्तराष्ट्रिय प्रक्षेपणहरुले देखाएका छन् ।
त्यस्तै अमेरिकाको ओरालो ग्राफ बढ्नुमा परिवारिक विघटन पनि हो । जसको अर्थ अमेरिकीहरु परिवारभन्दा पनि नितान्त आफ्नो व्यक्तिगत जीवनमा मात्रै केन्द्रित हुने गरेका छन् ।

जसको मुख्य कारण असीको दशकपछि अमेरिकीहरुले सिकाएको उपभोक्तावादी शिक्षा हो । त्यस्तै अधिकांश अमेरिकीहरु आफ्नो धर्म, संस्कार, परिवार प्रतिको दायित्व बहनप्रति उदासिन बन्दै गएका छन् । जसको अर्थ अमेरिकी समाज आर्थिक, सामाजिक, साँस्कृतिक र अमेरिकी श्रेष्ठताप्रति विश्वस्त छैनन् ।

अधिकांश अमेरिकीहरु मात्रै होइन, उसको मुख्य सहयोगी युरोपियन मुलुकका नागरिक अहिले डिप्रेसनको सिकार बन्ने गरेका छन् । यसले अमेरिकाका जुन सामाजिक, आर्थिक र पारिवारिक आधारहरु भत्किंदै गएका छन् जसको अर्थ सामाजिक विघटन पनि हो । यो सामाजिक विघटनले अमेरिकी विश्व व्यवस्थाको अध्यारो सुरुङको संकेत गर्न थालेको छ ।

यसरी अमेरिका बाह्य र आन्तरिक संकटको भुंग्रोमा फस्न थालेको छ । आन्तरिक र बाह्य सबै बस्तुगत आधार हेर्ने हो भने अमेरिकी नेतृत्वको विश्व व्यवस्था संकटग्रस्त अवस्थामा पुग्न थालेको छ ।

युरोपीयन युनियनको स्वनिर्भर अभियान, नेटोभित्र रहेका कतिपय टर्की लगायतका राष्ट्रहरुको अमेरिकी नीतिको विरोध, भेनेजुएलामा अमेरिकी असफल कू, रुससँगको युक्रेन युद्धमा अमेरिकी नेतृत्वको नेटोको लज्जास्पद हारको अवस्था, अमेरिकी सहयोगमा जेनतेन अस्तित्व जोगाउन संघर्ष गरिरहेको इजरायलको संकटपूर्ण अवस्था, अमेरिकाको खाडीको हितैसी राष्ट्र साउदी अरबको चीनको मध्यस्थतामा इरानसँग गाँसेको मित्रता, अमेरिकाको विरोधका बाबजुद मुस्लिम लिगमा सिरियाको प्रवेश, अमेरिकाको विरोधका बीच फ्रान्सका राष्ट्रपति म्याक्रों तथा युरोपियन युनियनका अध्यक्षको चीन भ्रमण, उत्तर कोरिया र इरानजस्ता अमेरिकाका शत्रु देशहरुको चामत्कारिक आणविक विकास, अमेरिकाको बढ्दो सार्वजनिक कर्जा, विश्वभरि चलेको डिडलराइजेसन अभियान र वैचारिक रुपमा पश्चिमाहरुले लिएको नवउदारवादी विचारधारा र उनीहरुले अपनाएको आर्थिक नीतिबीचको अन्तरविरोधका साथै अलेक्जेण्डर दुगिनजस्ता दार्शनिकहरुले अगाडि बढाएको सहअस्तित्वसहितको फोर्थ पोलिटिकल थ्यौरीलगायतका तमाम कारणले अमेरिका नेतृत्वको पश्चिमी विश्वको प्रभुत्व निक्कै रक्षात्मक अवस्थामा पुगेको छ ।

विश्वका दुई महाशक्ति रुस र चीनको १४ बुँदे सम्झौता, ब्रिक्समा भारतको कसिलो सहभागिता, भारतसँग बढ्दो अमेरिकी दुरी, जापानको निरन्तर आर्थिक तथा जनसंख्याकीको क्षयीकरण र अझ विषेश गरि अमेरिकी एकल धु्रवको अन्त्य र नयाँ अन्तराष्ट्रिय मूल्य र मान्यतासहितको नयाँ विश्व व्यवस्था निर्माण गर्ने रुस तथा चीनले लिएको दृढ राजनीतिक अभ्यासले अमेरिकी एक धुर्वीय विश्वको ध्वंस अवश्यम्भावी छ भन्ने देखिएको छ । साथै इतिहासको अन्त्य भएको घोषणा गरेका पश्चिमाहरु ३ दशक पुरा नहुँदै इतिहासको पुनरावृत्ति देख्ने तरखरमा उभिएका छन् ।
(लेखक  : माओवादी केन्द्र सुदुरपश्चिम प्रदेश समिति सदस्य हुन् ।)