अमेरिकामा डोनाल्ड ट्रम्प आएपछि संसारमा अब के होला भन्ने सबैलाई परिरहेको छ । सबैका अनुमान आआफ्नै छन् । धेरै कुरा सोचिरहेका होलान् ट्रम्प ! तर त्यसमध्ये स्पेस वार उनको प्राथमिकतामा पर्ने देखिन्छ ।
ट्रम्पले के के गर्ने छन् भन्ने कुरा अनुमान लगाउन उनलाई दोस्रो विजयमा सघाउने को को छन् तिनका अनुहार र पेसा हेरे पुग्छ । ट्रम्प आफैमा पेसाले व्यवसायी हुन् । उनले आफ्नो अनुकूलका काममा सहयोग पुग्ने व्यवसायी तथा व्यापारीको सहयोग लिएका छन् उनले । ती व्यवसायीले पनि खुलेर सहयोग गरेका छन् ।
ती मध्ये अग्पंक्तिमा आउँछन्, एलन मस्क ! मस्कले त संसार चकित पार्ने गरी पैसा वा डलरको खोलो नै बगाए, यस पटकको राष्ट्रपतिको निर्वाचनमा । यसका पछाडि उनी र उनका मित्र तथा वर्तमान राष्ट्रपति ट्रम्पको उद्देश्यले मेल खाएको छ । एलन मस्क अन्तरीक्ष यात्री ओसार्ने दाउँमा छन् । अन्तरीक्ष पर्यटनबाट अभूतपूर्व लाभ लिने योजनामा छन् ।
ठीक यही कुरासँग मेल खाने भनेको निर्वाचित राष्ट्रपति ट्रम्पको स्पेस वार प्राथमिकतामा हुनु हो । उनको कार्यकालमा स्पेसमा केही गडबडी देखा पर्ने अनुमान लगाउन सकिन्छ । यसका लागि अमेरिकाले चीन लगायत भारतमा स्याटेलाइटबाट निगरानी राख्ने कार्यलाई प्राथमिकतामा राख्ने छ ।
हाल अमेरिकी खर्बपति एलन मस्कको स्पेस एक्स अन्तर्गतको स्टार लिङ्कले नेपालमा स्याटेलाइट इन्टरनेट सेवा प्रदान गर्ने सोच रहेको जानकारी गराइसकेकको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले त्यसको डेमो हेरिसकेको पनि समाचारमा आइसकेको छ । अहिले त उक्त सेवा वितरण गर्न पाउने वातावरण बनाइदिन सरकारसँग आग्रह गरिरहेको पनि छ । हाल नेपालका रहेको नीति नियमले स्टार लिङ्कलाई नेपालमा आउन समस्या पर्नसक्ने एलन मस्कको गहिरो अनुमान छ ।
स्पेसएक्स अन्तरगतको स्टारलिंक स्याटेलाइटमा आधारित इन्टरनेट दिने कम्पनी हो । यो कम्पनीले स्याटेलाइटमार्फत सस्तोमा विश्वभरि नै इन्टरनेट सेवा दिने लक्ष्य राखेको छ । सोही मुाविक काम पनि गरिरहेको छ । स्टारलिंकको प्रतिनिधिमण्डलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर आफ्नो सेवाबारे प्रस्तुतिकरण (प्रिजेन्टेसन) र डेमो दिइसकेको छ । नेपालस्थित अमेरिकी दूतावासका अधिकारीहरुले लामो समयदेखि स्टारलिंकलाई नेपाल भित्र्याउन पहल पनि रिरहेका थिए ।
यो पटक त स्टारलिंककी ग्लोबल लाइसेन्सिङ एन्ड मार्केटिङ डिरेक्टर रेबेका स्किल हन्टरसहितको टोली नेपाल आयो । यसले सिधै प्रधानमन्त्रीलाई भेट्यो । यसले कम्पनीको सेवा, प्राविधिक पक्ष, बजार रणनीति, नेपाल प्रवेशको योजना र साइबर तथा तथ्यांकीय सुरक्षाका पक्षहरुमा विधिखाले नीति योजना पनि सरकारसमक्ष खुलस्त गर्यो ।
नेपालले पनि खुलेर स्वागत गर्यो उक्त टिमलाई । स्टारलिंकको टोलीले प्रधानमन्त्रीसहित सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ तथा उच्च अधिकारीहरुलाई भेट्यो । उक्त स्टार लिंक कम्पनी नेपालमा र नेपालबाट व्यापार बिस्तारसहित आउन थालेको जानकारी पनि दियो ।
विज्ञान तथा प्रविधिको विकाससँगै विश्व अहिले सूचना प्रविधिको भूगोलमा पनि विभाजित हुन थालेको छ । स्टारलिंक नेपालको भूगोलमा आएर चीनको सूचना प्रविधिलाई मत्थर गर्ने सोचमा छ । त्यसैले पनि तामझामसहित ‘ट्रेडिङ’ कम्पनी नेपाल आउने इच्छा व्यक्त गरिरहेको छ ।
यसमा विशुद्ध अमेरिकी लगानी मात्र रहने पनि कम्पनीले जनाएको छ । ट्रम्पको विजयसँगै अमेरिकी प्रशासन ट्रम्पको ढर्रामा चल्न थालिसकेको छ । त्यसैले ‘इन्टरनेट सेवा प्रदायक कम्पनीका रूपमा दर्ता भएर आउनुभन्दा पनि स्टारलिंकको सेवाका लागि आवश्यक केही डिभाइस बिक्री गर्ने कम्पनीका रूपमा मात्रै स्टारलिंक आउन लागेको छ । यसका लागि स्टार लिंकलाई ट्रेडिङ बिजनेस लाइसेन्स अनुमति चाहिएको छ ।
स्टारलिंकले नेपाली प्रयोगकर्तालाई एक प्रकारको ट्रान्सरिसिभर डिभाइस (डिस एन्टेना) बेच्नेछ । उक्त डिभाइस डीटीएच टिभीकोजस्तै खुला ठाउँमा स्याटेलाइटको आर्बिटल स्टलसँग कनेक्ट गरी इन्टरनेट सेवा लिइने छ ।
तर हालसम्म नेपालमा नेपालको दूरसञ्चारसम्बद्ध कानुन अनुसार इन्टरनेट सेवा दिन इन्टरनेट सेवा प्रदायक कम्पनीकै रुपमा दर्ता हुनुपर्ने र तोकिएको शर्त पूरा गरेर लाइसेन्स लिई सेवा शुल्क बुझाउनुपर्ने व्यवस्था छ ।