• मंसिर १ २०८१, शनिबार

विदेशबाट आयात रोकिएपछि चितवनका किसानको महले पाउन थाल्यो बजार

कार्तिक ३० २०८१, शुक्रबार

चितवन । नेपालमा बाहिरबाट आउने महको आयात रोकिएसँगै चितवनका किसानले उत्पादन गरेको महले बजार पाउन थालेको छ । यसअघि आयात खुला हुँदा चितवनमा उत्पादित महले बजार नपाउँदा मह थन्किएर बसेको थियो ।

नेपाल मौरीपालक महासंघका पूर्वअध्यक्ष शिव शर्मा पौडेलका अनुसार अहिले एक हजार दुई सय मेट्रिक टन मह बिक्री हुन बाँकी छ । सोमध्ये तीन सय मेट्रिक टन मह चितवनमा छ । यसअघि आयात खुला हुँदा तीन हजार एक सय ४५ मेट्रिक टन मह भण्डारणमा थियो ।

बाहिरबाट आयत गर्न सरकारले रोक लगाएसँगै भण्डारण गरिएको मह बिक्री भएको हो । पूर्वअध्यक्ष शर्माले भने, ‘पुरानै मह भण्डारमा थन्किएको छ । आयात नखोल्दिने हो भने यो मह सकिन समय लाग्दैन ।’ आयात खोले पनि भन्सार दर ६० प्रतिशतले वृद्धि गर्न आवश्यक रहेको उनले बताए ।

नेपालमा अहिले एक लाख ६० हजार घार मेलीफेरा र एक लाख ७० हजार घार सेरेना मौरी रहेको पूर्वअध्यक्ष शर्माले जानकारी दिए । उनका अनुसार यी घारबाट वार्षिक चार हजार नौ सय मेट्रिकटन मह उत्पादन हुँदै आएको छ । यस वर्षको उत्पादन लिन सुरु हुन लागेको शर्माले बताए ।

महासंघका अध्यक्ष सुवासचन्द्र घिमिरेका अनुसार सरकारले गत वैशाखदेखि महको आयातमा रोक लगाएको छ । उनले भने, ‘अहिले विदेशी ठूला कम्पनीलेसमेत नेपालको मह खरिद गरेर बिक्रीवितरण गर्दै आएका छन् ।’

आफूहरूले सरकारलाई आयात नखोल्न आग्रह गरेको अध्यक्ष घिमिरेले बताए । नेपालमा महको खपत वार्षिक नौ हजार दुई सय मेट्रिकटन हुने गरेको जनाउँदै उनले भने, ‘नेपालको महले नेपालीलाई पुग्दैन तर विडम्बना किसानको घरमा मह थन्किएर बसेको छ ।’

भारतबाट आयात हुने सस्तो महसँग नेपालको उत्पादनले प्रतिस्पर्धा गर्न नसकेको महासंघका अध्यक्ष घिमिरेको भनाइ छ ।

आयात रोकिए चितवनमा उत्पादित महका लागि बजारको समस्या नहुने उनले बताए । विदेशबाट आयात रोकिएपछि चितवनका किसानको महले पाउन थाल्यो बजार